पृथ्वीराजमार्गको पोखरा–मुग्लिन सडक विस्तार : पूर्वी खण्डको फागुन १ गतेसम्मका लागि म्याद थप

वि.सं. २०२६ मा रेखाङ्कन भएको पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडक खण्डलाई चार लेनमा विस्तार गर्ने कार्य भइरहेको छ । एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा साबिक दुई लेनमा रहेको सडकलाई चार लेनमा विस्तार गर्न लागिएको यस खण्डको कार्य अपेक्षित ढंगले हुन सकेको छैन ।
गण्डकी प्रदेशको लाइफलाइनका रुपमा रहेको यो सडक खण्ड विस्तारका लागि सम्झौतानुसार तोकिएको समयमा विस्तार कार्य सम्पन्न नभएपछि पूर्वी खण्ड (आँवुखैरेनी–जामुने)को पुनः दोश्रो पटक म्याद थपिएको छ । पश्चिम खण्ड (जामुने–पोखरा)को भने बल्ल एकतिहाई काम सकिएको छ। पश्चिम खण्डका लागि करिब एकवर्ष म्याद थप्ने तयारी भइरहेको छ ।
मुग्लिन–पोखरा सडक आयोजनाका अनुसार पूर्वी खण्डमा पर्ने राजमार्गको करिब ६८ प्रतिशत भौतिक प्रगति भएको छ । जस अनुसार धेरै भाग कालोपत्रे भईसकेको छ। पूर्वी खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार गत सेप्टेम्बर १६ मा पूर्वी खण्डको यसअघि थपिएको म्याद सकिएको थियो । त्यसपछि आगामि फेब्रुअरी १३ (फागुन १ गते)सम्मका लागि म्याद थपिएको उनले बताए ।
‘पहिलो पटकको म्याद सकिएपछि दोश्रो पटकका लागि थप भएको हो । आगामि फेब्रुअरी १३ सम्म काम सक्ने योजना सहित तिब्रता दिइएको छ’, इन्जिनियर पाण्डेले भने, ‘थपिएको अवधिमा काम सक्नेगरि बाँकी रहेको सबै खण्डमा जनशक्ति परिचालन भएको छ ।’
इन्जिनियर पाण्डेका अनुसार पूर्वीखण्डको विमलनगरको चुनपहरा, डुम्रे, दमौली, छिर्कने खण्डमा कालोपत्र गर्ने कार्य भइरहेको छ। यस्तै, दमौली बजार क्षेत्रमा फुटपथ बाहेक छ लेनको सडक विस्तार कार्य भइरहेको उनले जानकारी गराए ।
दुुईखण्ड (पूर्वीखण्ड आँबुखैरेनी–जामुने ४१ किलोमिटर र पश्चिमखण्ड जामुने–पोखरा ३९ किलोमिटर) मा बाँडेर यो सडक बिस्तार भईरहेको छ। पूर्वी खण्डको नियमित म्याद गत अप्रिल १४ मा सकिएको थियो । त्यसपछि समय थपिएको थियो । पहिलो खण्डमा १५५ दिन म्याद थपिएको थियो । ‘दमौली र डुम्रेको सहरी खण्डमा बाहेक अब सबैतिरको सडक कालोपत्रे भईसकेको छ। ढल, नालाको काम पनि करिब अन्तिम चरणमा छ’, उनले भने, ‘अहिलेको गति हेर्दा तेश्रो पटक म्याद थप्नुपर्ने देखिन्न ।’
उनका अनुसार दमौली र डुम्रेमा गरी जम्मा ७ किलोमिटर मात्र अहिले धुले सडकमा यात्रा गर्नुपर्छ । त्यसबाहेक अन्यत्र कतैपनि अहिले यात्रा अहसज छैन। डुम्रे नजिकैको चुनपहराको करिब ३ सय मिटरको काम भने बाँकी नै छ । त्यहाँ अहिले नै भत्काइएको छैन् । तर, सडक फराकिलो बनाउने काम अझै बाँकी रहेकोले तोकिएको अवधिमा चुनपहराको त्यही खण्ड बाहेक अन्यत्रको काम सकिनेमा आशावादी रहेको उनले बताए ।
‘चुनपहरामा कडा चट्टान रहेको र साँघुरो भएकोले त्यहाँ काम सकिएको छैन । नत्र डुम्रे र दमौलीको बजार खण्ड बाहेक अन्यत्रको काम सकिएको छ’, पाण्डेले भने, ‘अहिलेसम्म पूर्वी खण्डको भौतिक प्रगति ६८ प्रतिशत भएको छ । यो प्रगति ९० प्रतिशत पुग्दा पूर्वी खण्डको सबै काम सकिनेछ । बाँकी १० प्रतिशत सडक निर्माण थालेदेखिको अवधिको मर्मतसम्भार रहेकोले तोकिएको अवधिमा काम सकिनेमा आशावादी रहेका छौ ।’
निर्माण कम्पनिसँग भएको सम्झौता अनुसार सम्झौता भएको दिनदेखि तीनवर्षभित्र राजमार्ग बिस्तार भईसक्नुपर्ने हो । पूर्वीखण्डका लागि २०२१ अप्रिलमा र पश्चिमखण्डका लागि २०२१ अगष्टमा निर्माण सम्झौता भएको थियो ।
पश्चिमखण्ड (जामुने–पोखरा ३९ किलोमिटर) पनि अहिले बिस्तार भईरहेको छ । पश्चिम खण्डमा भने २०२४ डिसेम्बर ६ सम्म ठेकेदारको नियमित समय बाँकी छ । तर, ठेकेदार कम्पनिले २०२५ को डिसेम्बरसम्म म्याद थप्नका लागि प्रस्ताव गरिसकेको छ । पश्चिम खण्डका आयोजना प्रमुख राजेश पौडेलका अनुसार नियमित समय सकिन थालेकोले एकवर्ष म्यादका लागि प्रक्रिया अघि बढेको बताए ।
‘ठेकेदार कम्पनिले २०२५ डिसेम्बरसम्म काम सक्ने गरी वाचा गरेकोले पनि त्यही अनुसार प्रक्रिया अघि बढाइएको छ’, उनले भने, ‘तर, अहिले नै म्याद थपिएको होईन, प्रक्रिया भने सुरु भएको छ । म्याद नथपेसम्म काम सकिने अवस्था रहेन ।’ कार्यप्रगति, बाँकी रहेको कामको विश्लेषण, निर्माण अवरुद्ध भएको समय लगायतका आधारमा म्याद थपिने उनले बताए ।
उनका अनुसार पश्चिम खण्डको ३९ किलोमिटर मध्ये २२ किलोमिटर एकतर्फी खण्ड कालोपत्रे भईसकेको छ । कालोपत्रे भएको एकतर्फी खण्डमा पनि दोहोरो लेन हुने भएकोले गाडी चलाउन मिल्ने उनले सुनाए । ‘भौतिक प्रगति ३३ प्रतिशत मात्र भएको हो । अब भने कामले गति लिनेछ’, उनले भने, ‘मुआब्जाको विवाद, खानेपानीको पाइप र बिजुलीका पोल व्यवस्थापन बेलैमा नहुँदा काममा ढिलाइ भएको हो । अबको एकवर्षमा काम सकिने भनेकोले त्यही अनुसार अहिले गति दिइएको छ ।’
राजमार्ग बिस्तार थाल्नुअघि पोखरा–आँबुखैरेनी सडक पार गर्न बढीमा ३ घण्टा लाग्ने गरेको थियो । बीचमा त्यो यात्रा अवधि झण्डै दोब्बर लाग्ने गरेको थियो । तर पूर्वी खण्डको काम सकिनै थालेकोले केही सहज भएको उनले बताए । राजमार्गको पूर्वी खण्ड बिस्तारका लागि चाइना कम्यूनिकेसन कन्स्ट्रक्सन कम्पनिले ठेक्का पाएको छ ।
पश्चिम खण्ड बिस्तारको काम पनि चिनियाँ कम्पनि अनहुइ काइयुयान रोड एण्ड ब्रिज कम्पनिले जिम्मा लिएको छ । प्राविधिकका अनुसार पश्चिम खण्डको कास्की भागमा बढी समस्या छ, किनकी यो खण्डमा विद्युत पोल, खानेपानीको पाइप, ढल निकासको व्यवस्थापनमा समस्या छ ।
एशियाली विकास बैंक (एडीबी)को सहुलियत ब्याजको ऋण सहयोगमा पोखरा–आँबुखैरेनीसम्मको दुईलेन सडकलाई विस्तार गरी चारलेनको फराकिलो र स्तरीय बनाउन थालिएको हो । १३ अर्ब ६१ करोड रुपैयाँको लगानीमा राजमार्ग बिस्तार भईरहेको छ । आयोजनाका अनुसार पूर्वी खण्डमा पर्ने आँबुखैरेनी–जामुनेसम्मका लागि ६ अर्ब २१ करोड र पश्चिम खण्डमा पर्ने जामुनेदेखि पोखरासम्मको लागि ७ अर्ब ४० करोड रुपैयाँ खर्च हुनेछ । यो रकम सडक बिस्तारका लागि मात्र हो ।
त्यसबाहेक तनहुँको दमौलीस्थित मादीनदीमाथि पुल बनाउन १ अर्ब २० करोड र पोखरामा सेतीनदीमाथि पुल बनाउन थप १ अर्ब रुपैयाँ लाग्नेछ। सबैगरि १५ अर्ब रुपैयाँ भन्दा बढी रकम राजमार्ग बिस्तारमा खर्च हुँदैछ ।
प्राविधिकहरुका अनुसार यो राजमार्गको बजार क्षेत्रमा छ लेनको फराकिलो सडक हुनेछ । बजार खण्ड ४१ देखि ४५ मिटर फराकिलो हुनेछ भने अरु ठाउँ चार लेनको हुनेछ । त्यो खण्ड २१ देखि २२ मिटरसम्मको फराकिलो हुनेछ । दायाँबायाँ नाली र बीचमा तीनमिटरको फराकिलो डिभाइर पनि यसैमा बनाइने आयोजनाले बताएका छन । डिभाइडरलाई सौन्दर्यकरण पनि गरिनेछ ।
अहिले गण्डकी प्रदेशलाई राजधानी र तराई जोड्ने पृथ्वी राजमार्ग मुख्य हो । यो राजमार्ग लामो समयदेखि बिस्तार भएको थिएन ।










