तनहुँमा वृक्षारोपण गरी विश्व वातावरण दिवस मनाइयो
भञ्ज्याङ समाचारदाता/दमौली
तनहुँका स्थानीय तह तथा विभिन्न संघसंस्थाहरुले वृक्षारोपण गरी विश्व वातावरण दिवस मनाएका छन् । डिभिजन वन कार्यालय, सव डिभिजन वन कार्यालय लगायत सामुदायिक वनको सहभागितामा आइतबार तनहुँमा वृक्षारोपण गरिएको हो ।
‘पृथ्वीको संरक्षण : दिगो प्रकृतिमैत्री जीवनयापन’ भन्ने नारा सहित विश्व वातावरण दिवसको अवसरमा विभिन्न प्रजातिका विरुवा रोपिएको सव डिभिजन वन कार्यालय व्यासका प्रमुख एवं सहायक वन अधिकृत नारायण कोइरालाले बताए ।

यस्तै, डिभिजन वन कार्यालय र अकला सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा उक्त वनमा चाप र तेजपातका विरुवा रोपिएको छ । कोइरालाका अनुसार २५ चाप र ३५ तेजपातका विरुवा रोपिएको छ । वृक्षारोपण गर्दै व्यास नगरपालिकाका उपप्रमुख इन्दिरा दरैले विरुवा रोप्नुका साथै संरक्षणमा पनि ध्यान दिनुपर्ने बताइन् । कार्यक्रममा सहायक वन अधिकृत काशीराज पण्डित, वडाध्यक्ष रमेशचन्द्र हड्खले लगायतले पनि वृक्षारोपण गर्दै वातावरण संरक्षणमा सबैको चासो र सहभागिताको खाँचो रहेको चर्चा गरेका थिए ।
यस्तै, भानु नगरपालिकाकी उपप्रमुख उमा गोतामेको अगुवाइमा नगरपालिकाको कार्यालय परिसरमा वृक्षारोपण गरिएको छ । प्रमुख प्रशासकीय अधिकृत चण्डिका पौडेल, नगर शिक्षा अधिकारी ध्रुवराज पौडेल, वडाध्यक्ष, कार्यपालिका सदस्य तथा कर्मचारीहरूको सहभागितामा कार्यालय परिसरमा कपुर, अशोका, तेजपत्ता, धुपी लगायतका विरूवा तथा सयपत्री, हंशराज, सिजनल कार्व, विल्डिङ् ढ, फनेशपाम, कुविजा लगायतका विविध प्रजातीका फूलहरू करेसावारीको क्यारी तथा गमलामा रोपिएको छ ।
वृक्षारोपण कार्यक्रममा बोल्दै उपप्रमुख गोतामेले बिरुवा रोप्नु मात्रै ठूलो कुरा नभई यसलाई मलजल र गोडमेल गरी हुर्काएर यसले दिने शितलता, हरियाली र सुन्दरतालाई जीवन्त बनाइराख्नु महत्वपूर्ण भएको बताइन् ।

यस्तै, विश्व वातावरण दिवसको अबसरमा जेसिआई भानु बन्दिपुरले भानु-२ फुस्रेटार स्थित सहिद स्मृति पार्कमा वृक्षारोपण गरेको छ । भानु नगरपालिकाका प्रमुख आनन्द राज त्रिपाठीले वृक्षारोपण गर्दै वातावरण संरक्षणमा सबैले चासो र सहकार्य गर्नुपर्ने अहिलेको आवश्यकाता रहेको चर्चा गर्दै रोपिएका विरुवाको संरक्षणमा पनि ध्यान दिन आग्रह गरे । क्लवका उपाध्यक्ष सविन कार्कीको संयोजकत्वमा आयोजित वृक्षारोपण कार्यक्रममा वडाध्यक्षहरु, क्लवका पदाधिकारी लगायतको सहभागितामा विभिन्न प्रजातिका ४५ वटा विरुवा रोपण गरिएको बताइएको छ ।
यसैगरी देवघाट गाउँपालिकास्थित तीन वटा सामुदायिक वनमा विभिन्न प्रजातिका दुइ सय विरुवा रोपिएको छ । कालिका सामुदायिक वन, चक्रवर्ती वन र सीता सामुदायिक वनमा विरुवा रोपिएको छ ।
ऋषिङ गाउँपालिकास्थित शिशरामण्डली सामुदायिक वनमा खयर, शिशौ, बडहरको विरुवा रोपिएको छ । खैरेनीटारस्थित श्री नम्बर ३ बाहिनी अड्डामा पनि सव डिभिजन वन कार्यालय शुक्लागण्डकीको सहयोगमा विरुवा रोपिएको छ । जेसीआई व्यास नगरले व्यास-१ स्थित निर्मल माविमा पिपल, कपुर सहितका २५ थान विरुवा रोपेको छ ।










