मन्त्री ज्वालाद्वारा मुग्लिन-पोखरा र नारायणघाट-बुटवल सडक खण्डको निर्माण प्रगती विवरण जानकारी
भञ्ज्याङ समाचारदाता/काठमाडौं

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले मुग्लिन-पोखरा र नारायणघाट-बुटवल सडक खण्डको निर्माणको प्रगतीबारे जानकारी दिएका छन् । निर्माण कार्य ढिलाइ भएको भन्दै चर्को विरोध भएपछि पत्रकार सम्मेलन गरेर मन्त्री ज्वालाले पछिल्लो नौ महिनामा भएको कामको जानकारी दिएका हुन् ।
मुग्लिन-पोखरा सडकको ८० किलोमिटर सडक निर्माण गर्नु पर्नेमा २० किलोमितर कालोपत्रे सहित ४४ प्रतिशत काम सम्पन्न भएको छ । भने, पछिल्लो ९ महिनामा मात्रै १४ प्रतिशत काम सम्पन्न भएको निर्देशनालयले बताएको छ ।
९ महिनामा कल्भर्ट ८४ वटा, पुल ९ वटा, सववेस २३.५ किलोमिटर, बेस २४ किलोमिटर, कालोपत्रे २० किलोमिटर र अस्फाल्ट ४ किलोमिटर निर्माण भएको जानकारी गराएका छन् ।
मुग्लिन-पोखरा सडकको पश्चिम खण्डमा ठेक्का तोड्ने चेतावनी पछि निर्माण कम्पनीको मुख्य कार्यालयको प्रतिनिधिले सन् २०२५ भित्र काम सक्ने तालिका पेस गरको छ । सो आयोजनाको लागत १३ अर्ब ६१ करोड हो ।
मन्त्री ज्वालाले आफू मन्त्री भएर आएपछि विभिन्न समस्या सामाधान गर्दै मुग्लिन-पोखरा, नारायणघाट-बुटवल र कञ्चनपुर-कमला सडक निर्माणको कामले गति लिएको बताए । तर, मिडियामा भने काम नै नभएको जसरी प्रचार भइरहेको आरोप लगाए ।
निर्देशनालयका अनुसार नारायणघाट-बुटवल सडकमा ५२ महिनामा कल्भर्ट २१९ वटा, पुल २९ वटा, सक्वेस ३८.६३ किलोमिटर, बेस २३.४८ किलोमिटर, कालोपत्रे ५.२९ किलोमिटर र अस्फाल्ट २०० मिटर मात्रै भएकामा चैतपछिको ९ महिनामा कल्भर्ट ७६ वटा, पुल ७ वटा, सबवेस २२.५३ किलोमिटर, बेस २६.८२ किलोमिटर, कालोपत्रे ३४.२७ किलोमिटर र अस्फाल्ट ९.१ किलोमिटर निर्माण भइसकेको बताएको छ ।
हालसम्म नारायणघाट-बुटवल सडकमा ४३ प्रतिशत काम भएको छ । सुरुमा गरेको ठेक्का सम्झौता अनुसार आयोजनाको काम १७ महिनाअघि नै सकिनुपर्ने हो । सो आयोजनाको लागत १७ अर्ब रहेको छ । निर्माण व्यवसायीले आगामी १५ महिनामा काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ । कोरोनाको कारण काम ठिलो भएको निर्देशनालयले बताएको छ ।
त्यस्तै, एडीबीको ऋणमा बनिरहेको निर्माण भइरहेको ८६.८३ किलोमिटरको कञ्चनपुर-कमला सडकको काम पछिल्लो ९ महिनामा १२ प्रतिशत काम भएको छ । सो आयोजनाको हालसम्म ४१.४७ प्रतिशत काम भएको छ । आयोजनाको लागत १५ अर्ब ६५ करोड रहेको छ ।
एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा निर्माण भइरहेको सडक आयोजनाको काम कति भयो भनेर भएको पत्रकार सम्मेलनमा यातायता मन्त्री, सचिव केशबकुमार शर्मा, सडक विभागका महानिर्देशक सुशिलबाबु ढकाल र एडीबी आयोजना निर्देशनालयका प्रमुख चुडाराज ढकालको उपस्थित थियो । एडीबीको ऋण सहयोगमा मुग्लिन-पोखरा, नारायणघाट-बुटवल र कञ्चनपुर-कमला सडक निर्माण भइरहेको छ ।










