भानु नगरपालिकाद्वारा स्वास्थ्य संस्थालाई गर्भवती परीक्षण गर्ने उपकरण हस्तान्तरण
भञ्ज्याङ समाचारदाता/भानु

तनहुँको भानु नगरपालिकाले स्वास्थ्य संस्थालाई गर्भवती परीक्षण गर्ने उपकरण हस्तान्तरण गरेको छ । नगरपालिकाले विभिन्न वडामा रहेका १६ स्वास्थ्य संस्थालाई उक्त उपकरण हस्तान्तरण गरेको हो ।
स्वास्थ्य संस्थामा गर्भवतीको सहज रूपमा परीक्षणका लागि उक्त उपकरण हस्तान्तरण गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराइले जानकारी दिए । उनका अनुसार करिब रु चार लाख मूल्य बराबरका सामग्री हस्तान्तरण गरिएको छ । उनले भने, ‘यो उपकरणले गर्भवतीको सहज रुपमा गर्भ जाँचका लागि सहयोग पुर्याउँछ ।’
स्वास्थ्य संस्थामा गर्भ परीक्षण गर्ने महिलाको संख्या कम रहेकाले त्यसतर्फ आकर्षण बढाउन उपकरणले सहयोग पुग्ने विश्वास लिइएको छ । प्रमुख भट्टराइले भने, ‘अहिलेको अवस्थामा पनि महिला गर्भ परीक्षणका लागि स्वास्थ्य संस्थामा आउने संख्या कम छ, स्वास्थ्य संस्थामै आएर गर्भ परीक्षण गराउनुपर्छ भनेर सचेतना जगाउने काम पनि गरेका छौ ।’
शिशु मृत्युदर कम गराउँदै आमाको स्वास्थ्य जोखिम न्यूनीकरणका लागि स्वास्थ्य संस्थामै प्रसूति गराउनुपर्ने भानु नगरपालिकाका उपप्रमुख उमा गोतामेले बताइन् । उनले भनिन्, ‘घरमा सुत्केरी गराउँदा जोखिम हुन्छ तर अझै पनि घरमा सुत्केरी गराउने संख्या घटेको छैन, यसतर्फ महिलालाई सचेतना जगाउन नगरपालिकाको तर्फबाट काम भइरहेको छ ।’
गर्भवती भएपछि चार पटक स्वास्थ्य संस्थामा परीक्षण गराउँदा सरकारका तर्फबाट रु दुइ हजार आठ सय प्रोत्साहनवापत दिने गरिएको छ । नगरपालिकाले गर्भवतीका लागि निःशुल्क भिडियो एक्सरे सेवा उपलब्ध गराउँदै आएको छ । भानु नगरपालिका-१ सालबिस्नेस्थित स्वास्थ्य संस्थामा अल्ट्रासाउण्ड सेवा सुरुआत भइसकेको छ ।










