बदलिएको र बलियो कांग्रेस बनाउने आकांक्षाको जित : नवनिर्वाचित महामन्त्री

नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री गगनकुमार थापाले पार्टीलाई विधिसङ्गत ढङ्गले सुदृढ बनाएर लैजाने बताउनुभएको छ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट महामन्त्रीमा विजय भएपछि पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुरा गर्दै आज उहाँले आफूले महाधिवेशनमा पाएको मतलाई न्याय गर्ने र जिम्मेवारीलाई इमान्दारीपूर्वक निर्वाह गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “महाधिवेशनमा मलाई महामन्त्री पदको जिम्मेवारी दिलाउने महाधिवेशन प्रतिनिधिलाई धन्यवाद दिन चाहन्छु । यो विश्वास र जिम्मेवारीलाई कुशलतापूर्वक बहन गर्नेछु ।” परिवर्तनका सम्वाहक युवाको भरोसाको पार्टी बनाउन आफू लागिपर्ने उल्लेख गर्दै उहाँले महामन्त्रीमा निर्वाचित गराउने महाधिवेशन प्रतिनिधिलाई एक दिन पनि गलत व्यक्तिलाई छानेछु भन्ने अवस्था आउन नदिने विश्वास दिलाउनुभयो ।

उहाँले आफूसँग निर्वाचित भएका पदाधिकारीसँग मिलेर पार्टी सभापतिलाई काम गर्न तागत पु¥याउने र पार्टीलाई व्यवस्थित बनाउने उल्लेख गर्नुभयो । मत धेरै पाउनु भनेको विश्वास पनि धेरै पाउनु हो भन्दै उहाँले परिपक्व ढङ्गबाट जिम्मेवारी निर्वाह गर्ने बताउनुभयो ।

नवनिर्वाचित अर्का महामन्त्री विश्वप्रकाश शर्माले परिवर्तनको यात्रामा दुई युवालाई महामन्त्रीमा विजयी गराई रूपान्तरणको आकांक्षालाई महाधिवेशनको मतले प्रकट गरेको बताउनुभयो । देशले दुई युवा महामन्त्रीले हल बाँधिएर काम गरुन् भन्ने अपेक्षा गरेकाले आफू सोहीअनुसार अगाडि बढ्ने उद्घोष गर्दै उहाँले निर्वाचनको प्रतिस्पर्धा सकिएकाले अब काममा प्रतिस्पर्धा गरेर देखाउने बताउनुभयो ।

निर्वाचनबाट निश्चित व्यक्तिको विजयभन्दा पनि बदलिएको कांग्रेस र बलियो कांग्रेस बनाउने आकांक्षाको जित भएको उहाँले उल्लेख गर्नुभयो । आफूलाई फरकफरक समूहबाट पनि आएका मतको कदर गर्ने विश्वास दिलाउँदै महामन्त्री शर्माले रूपान्तरित कांग्रेस बनाई आगामी निर्वाचनमा विजयी गराउने लक्ष्यका साथ अगाडि बढ्ने धारणा व्यक्त गर्नुभयो ।

महाधिवेशनअन्तर्गत दुई महामन्त्री पदका लागि भएको मतदानको आज सम्पन्न मतगणनामा महामन्त्री पदमा थापा र शर्मा विजयी हुनुभएको हो । थापाले तीन हजार २३ र शर्माले एक हजार ९८४ मत ल्याउनुभएको थियो । त्यसैगरी महामन्त्रीका अन्य उम्मेदवार डा प्रकाशशरण महतले एक हजार ५५६, प्रदीप पौडेलले एक हजार ३९३, डा मीनेन्द्र रिजालले ८०९ र डा राजाराम कार्कीले १०६ मत प्राप्त गर्नुभएको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । मतदानमा चार हजार ६८२ मत खसेकामा सबैभन्दा बढी मत थापाले ल्याउनुभएको हो भने शर्माले दोस्रो बढी मत प्राप्त गर्नुभएको छ । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker