व्यास नगरपालिकाको कार्यपालिकाले पूर्णता पायो

तनहुँको व्यास नगरपालिकाको कार्यपालिकाले पूर्णता पाएको छ । कार्यपालिका सदस्य पदमा सोमबार आठ जना निर्विरोध निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । व्यासको कार्यापालिका सदस्यमा नेपाली काँग्रेसबाट महिला तर्फ ज्ञानुमाया सुनार, नरीमाया राना, निला घिमिरे, कमलादेवी घर्ती र किस्ना दुरा गुरुङ निर्वाचित भएका छन् ।
यस्तै, दलित र अल्पसंख्यक तर्फ नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीका रनसिं नेपाली सार्की र नेपाली काँग्रेसको तर्फबाट चन्द्र माया परियार र चेतबहादुर दरै निर्विरोध निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत हरिश्चन्द्र ढुङ्गनाले जानकारी दिएका छन् । व्यास नगर कार्यपालिकाको उक्त पदमा उम्मेद्वार हुन मनोनयनपत्र दाखिला भए बमोजिम स्थानीय निर्वाचन ऐन, २०७३ को दफा २५ बमोजिम निर्बिरोध निर्वाचित भएको उनले बताए ।
यसअघि व्यासका १४ वटै वडाका वडाध्यक्ष, प्रमुख, उपप्रमुख र सदस्य सचिवमा प्रमुख प्रशासकीय अधिकृत गरी पच्चीस सदस्यीय पालिका बोर्ड गठन भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले जेठ २५ गते १० बजेदेखि ५ बजेसम्म मतदान गर्ने कार्यतालिका र्सार्वजनिक गरेको थियो ।










