हुलाक कार्यालय तनहुँद्वारा २६ लाख राजश्व संकलन
भञ्ज्याङ समाचारदाता/दमौली

जिल्ला हुलाक कार्यालय तनहुँले २६ लाख राजश्व संकलन गरेको छ । कार्यालयले आर्थिक वर्ष २०७८/०७९ मा २६ लाख २१ हजार २ सय ४५ राजश्व संकलन गरेको हो । कार्यालयले भन्सार महसुल-आयात शिर्षकमा ७३ हजार ९२५, हुलाक सेवा शुल्कबाट २१ लाख २ हजार ५६८, अन्य क्षेत्रको आयबाट ३४ हजार ५ सय, धरौटी सदरस्याहाबाट ४४ हजार ४२३ र अन्य बाडफाड हुने राजश्व संकल शिर्षकबाट ३ लाख ६५ हजार ८२ रुपैयाँ राजश्य संकलन गरिएको प्रमुख मित्रलाल भट्टराइले जानकारी गराए ।
जिल्लाबाट प्रकाशित हुन पत्रिकाका सम्पादक/ प्रकाशकहरुसंग बुधबार अन्तरक्रिया गरी कार्यालयले गत आर्थिक वर्षमा सम्पादन गरेका कार्यक्रम सार्वजनिक गरेको थियो ।
१४ वटा इलाका हुलाक कार्यालय र ३७ वटा अतिरिक्त हुलाक कार्यालयबाट सेवा प्रवाह गर्दै आएको जानकारी गराउँदै प्रमुख भट्टराइले कार्यालयबाट हुलाक वस्तुहरु रजिष्ट्रि, द्रुत, सादा चिठीपत्र, पुलिन्दा दर्ता चलान र डेलिभरी गर्ने, द्रुत डाँक (इ.एम.एस.) तथा पार्सल वितरण गर्ने, राहदानी ढुवानी, जिल्लामा सञ्चालित केवल टिभिको इजाजत नविकरण तथा रोयल्टी बुझ्ने, एफ एम रेडियोको इजाजत नविकरण र रोयल्टी बुझ्ने लगायतका कार्य सम्पादन गरिएको जानकारी गराए ।
यस्तै, कार्यालयले सेवाग्राहीको माग अनुसारका टिकट बिक्री तथा व्यवस्थापन, पत्रपत्रिका दर्ता तथा नविकरण, लोककल्याणकारी विज्ञापन प्रकाशन प्रसारण गरे नगरेको यकिन गरी भुक्तानी दिने, राष्ट्रिय सतर्कता केन्द्र तथासूचना आयोगको परिपत्र अनुसारको ढाँचामा जिल्लाभरका सार्वजनिक निकायको सूचना अधिकारीको विवरण संकलन गर्ने, अद्यावधिक गर्ने, प्रकाशन गर्ने लगायतका कार्य सम्पादन गर्ने गरेको प्रमुख भट्टराइले जानकारी गराए ।










