तनहुँ प्रहरीको सक्रियता : लागुऔषध नियन्त्रणदेखि ट्राफिक व्यवस्थापनसम्म विशेष अभियान

दमौली : शान्ति सुरक्षा कायम राख्न, अपराध नियन्त्रण गर्न तथा नागरिकमैत्री सेवा प्रवाहलाई प्रभावकारी बनाउन जिल्ला प्रहरी कार्यालय तनहुँले विविध अभियान सञ्चालन गरेको छ । लागुऔषध नियन्त्रण, फरार प्रतिवादी पक्राउ, ट्राफिक व्यवस्थापन र समुदाय–प्रहरी साझेदारी कार्यक्रमलाई यस अवधिमा विशेष प्राथमिकता दिइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पौष महिनामा चोरी, ठगी, जुवातास, घरेलु हिंसा तथा सार्वजनिक शान्ति भङ्गका घटनामा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिइ अनुसन्धान अघि बढाइएको छ । अदालतबाट फैसला भइसकेका तर फरार रहेका प्रतिवादीहरूलाई पक्राउ गर्न विशेष खोजी अभियान सञ्चालन गरिएको थियो, जसबाट केही फरार व्यक्ति पक्राउ परेका प्रहरी उपरिक्षक टेकबहादुर कार्कीले बताए ।

उनका अनुसार तनहुँमा पछिल्लो समय बढ्दो लागुऔषध प्रयोग र कारोबारलाई मध्यनजर गर्दै प्रहरीले लागुऔषध नियन्त्रण विशेष अभियान सञ्चालन गरेको छ। अभियानका क्रममा शंकास्पद गतिविधिमा संलग्न व्यक्तिहरूमाथि निगरानी बढाइँदा लागुऔषधसहित केही व्यक्ति पक्राउ परेका छन्। विद्यालय तथा युवालाई लक्षित गरी लागुऔषधको दुष्प्रभावबारे सचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गरिएको प्रहरी उपरीक्षक कार्कीले बताए ।

यस्तै, दमौली बजार, डुम्रे–बन्दीपुर सडक खण्ड तथा राजमार्ग क्षेत्रमा ट्राफिक चेकजाँच कडा बनाइएको छ। सवारी नियम उल्लंघन गर्ने चालकलाई कारबाही गर्दै हेलमेट, सिटबेल्ट प्रयोग र तीव्र गतिबारे सचेत गराइएको छ। यसले सवारी दुर्घटना न्यूनीकरणमा सहयोग पुगेको प्रहरीको भनाइ छ ।

समुदाय–प्रहरी साझेदारीमा जोड

प्रहरीले टोल विकास संस्था, विद्यालय, महिला समूह तथा स्थानीय संघसंस्थासँग समन्वय गर्दै समुदाय–प्रहरी साझेदारी कार्यक्रम सञ्चालन गरेको छ। महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा जोखिममा रहेका समुदायको सुरक्षा र अधिकार संरक्षणका विषयमा अन्तरक्रिया तथा सचेतना कार्यक्रम गरिएका छन्।

नागरिकता सिफारिस, चरित्र प्रमाणपत्र, उजुरी दर्ता तथा गुनासो व्यवस्थापनलाई छिटो, सरल र पारदर्शी बनाउनेतर्फ प्रहरी कार्यालयले ध्यान दिएको छ। सूचना प्रविधिको प्रयोग बढाउँदै नागरिकमैत्री सेवा प्रवाहलाई प्राथमिकता दिइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

प्रहरीले आगामी दिनमा पनि सूचनामा आधारित अपराध नियन्त्रण, लागुऔषधमुक्त समाज निर्माण र नागरिकको भरोसा जित्ने सेवा प्रवाहलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker