आगजनीबाट ध्वस्त बनेको तनहुँ अदालतले मंसिर १ गतेदेखि पेसी तोक्ने तयारी

दमौली : जेनजी पुस्तको प्रदर्शनका क्रममा गत भदौ २४ मा प्रदर्शनकारीको आगजनीबाट ध्वस्त बनेको तनहुँ जिल्ला अदालतले आगामि मंसिर १ देखि पेसी तोक्ने तयारी गरेको छ ।

अदालतले आगजनीको तीन दिनपछि भदौ २९ बाट आंशिक सेवा सुचारु गरेको थियो । आगजनीबाट सम्पूर्ण मिसिल, अभिलेख, कम्प्युटर, फर्निचर र अन्य कार्यालय सामग्री पूर्णरूपमा जलेर नष्ट भएपछि अदालतले अत्यावश्यक सेवा मात्रै सञ्चालनमा ल्याएको थियो ।

अदालतले हस्तलिखित सूचना जारी गर्दै मिलापत्र, नाता कायम, अभियोग, पक्राउ पुर्जी अनुमति तथा म्याद थपसम्बन्धी मुद्दा, बन्दीप्रत्यक्षीकरण र विवाह दर्तालगायतका कार्य संचालनमा ल्याएको थियो । ‘हाल आंशिक सेवा दिइरहेका छौं । बस्ने कुर्सी छैन, टेबल छैन, कम्प्युटर र प्रिन्टर छैन, यस्तो अवस्थामा सहज सेवा प्रवाह सम्भव भएको छैन’, अदालतका स्रेस्तेदार नन्दप्रसाद आचार्यले भने ।

विभिन्न संघसंस्था तथा व्यक्तिबाट प्राप्त केही थान कम्प्यूटर, प्रिन्टर, टेबुल, कुर्चीलगायतका सामग्रीको जोहो गरी अदालतले सेवा प्रवाह बढाउँदै आएको छ । ‘आगलागीका कारण अदालतका सबै मिसिल र अभिलेख जलेर खरानी भएका छन्’, स्रेस्तेदार आचार्यले भने, ‘एक हजार २६ बढी चालु मुद्दा र १ हजार ६११ थान अभिलेख पूर्णरूपमा नष्ट भएका छन् । अदालतको हार्डडिस्क चोरी भएको छ । तीन इजलास कक्षमध्ये दुई वटा जलेर प्रयोगयोग्य छैनन्। एउटा इजलासबाट काम सञ्चालन गर्ने तयारी भइरहेको छ ।’

आगलागीबाट २०६४ मंसिर २९ गतेदेखि २०६९ असार १७ गतेसम्मका फैसला भएका मिसिल जलेर पूर्णरुपमा नष्ट भएको अदालतले जनाएको छ । यस्तै, अदालतमा दर्ता भई फैसला नभएका सबै मुद्दा जलेका छन् । हाल अदालतले चालु अवस्थामा रहेका मुद्दाका मिसिल पुनःसंरचना गर्ने प्रयास गरिरहेको स्रेस्तेदार आचार्यले जनाए । उनले भने, ‘यसका लागि जिल्ला प्रहरी, मुद्दाका पक्षहरू र सरोकारवाला निकायसँग समन्वय गरी कागजात प्रमाणीकरण गरेर मात्र कार्य अघि बढाउने तयारी गरिएको छ ।’ ती मुद्दाका पक्षहरुलाई आफ्नो मुद्दाको प्रतिलिपि ल्याउन सूचना जारी गरिएको उनले बताए ।

उनका अनुसार हालसम्म करिब ७० प्रतिशत कागजात संकलनको काम भइसकेको छ । सर्वोच्च अदालतले जारी गरेको नयाँ निर्देशिकाअनुसार केही समय थप्नुपर्ने हुनसक्ने र मंसिर १ गतेबाट पेसी सञ्चालन गर्ने अदालतले तयारी गरेको छ । यस्तै, आगलागीपछि भौतिक संरचना पूर्णरूपमा क्षतिग्रस्त बन्दा सेवा प्रवाहमा सहजता आउन नसकेको अदालतले जनाएको छ ।

जलेको कार्यालयको प्राविधिकहरुले अध्ययन गरी सकेको र कार्यालय पुनः प्रयोग गर्न मिल्ने वा नमिल्ने भन्ने विषय प्राविधिकको रिपोर्ट आएपछि मात्र जानकारी हुने अदालतले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker