तनहुँको भानुभक्त प्राणी उद्यान विस्तार गरिँदै

तनहुँको व्यास नगरपालिका–१२ छिर्कनस्थित भानुभक्त प्राणी उद्यानभित्र १३ प्रजातिका स्तनधारी वन्यजन्तु भेटिएका छन् । प्राणी उद्यानले ओगटेको वन क्षेत्रभित्र १३ प्रजातिका स्तनधारी भेटिएका हुन् ।

प्राणी उद्यानले व्यास–११ र १२, भानु नगरपालिका–५ र ६ भित्रका १३ वन क्षेत्र ओगटेको छ । हालसम्म ती ठाउँमा चितुवा, रतुवा, स्याल, खरायो, वन बिरालो, रातो बाँदर, सालकलगायतका १३ प्रजातिका स्तनधारी वन्यजन्तु भेटिएको प्राणी उद्यानका संरक्षण अधिकृत भोजराज पन्थले जानकारी दिनुभयो ।

यसैगरी प्राणी उद्यानमा १८५ प्रजातिका पशुपक्षी भेटिएका छन् । यहाँ विश्वमा दुर्लभ मानिएको गोमायु महाचिल र सेतो गिद्ध, संवेदनशील सूचीमा रहेको हिमाली गिद्ध, चश्मे उलुक र घेघरी झाडीफिस्टोसहित नेपालमा मात्र पाइने चरा काँडे भ्याकुरलगायत विभिन्रैथाने, हिउँदे र ग्रीष्मकालीन आगन्तुक चरा रेकर्ड गरिएको छ । यस्तै यहाँ साल, कटुस, चिलाउनेलगायतका ४० प्रजातिका वनस्पति भेटिएका छन् ।

सो उद्यान कूल ४२५ हेक्टर क्षेत्रफलमा फैलिएको छ । उद्यानले १३ वन क्षेत्रलाई समावेश गरेको छ । प्राणी उद्यान क्षेत्रभित्र पर्ने आठ सामुदायिक वन र पाँच कबुलियती वन गरी १३ वन क्षेत्र समावेश गरिएको छ । प्राणी उद्यानले २९७.४७ हेक्टर संरक्षण इलाका र १२७.५३ उपयोग इलाका निर्धारण गरेको छ । संरक्षण इलाकाभित्र घना वन क्षेत्र, भिरालो र पहुँच नभएको क्षेत्र पर्दछ भने उपयोग इलाकाभित्र कम भिरालो, पानीका स्रोत पर्दछ ।

उद्यानले जग्गा अधिग्रहणको कामलाई अगाडि बढाएको छ । रैथाने र गैररैथाने वन्यजन्तुको संरक्षण गर्र्ने, वन्यजन्तु संरक्षणमार्फत आमोदप्रमोद प्रदान गर्ने, वन्यजन्तुको वैज्ञानिक अध्ययन, अनुसन्धान गर्ने उद्देश्यसहित स्थापना भएको प्राणी उद्यानले जग्गा अधिग्रहणको कामलाई अगाडि बढाएको हो ।

उद्यानले अधिग्रहण गर्ने जग्गा, घरटहरा, खेत, बारीको मुआब्जा निर्धारण गर्ने काम सकिएको संरक्षण अधिकृत पन्थले बताउनुभयो । उहाँका अनुसार यस कार्यका लागि कूल रु ४६ करोड ५२ लाख एक हजार ७३० बजेट आवश्यक पर्छ । जग्गाको मुआब्जा वितरणका लागि अर्थ मन्त्रालयमा फाइल पठाइएको र बजेट स्वीकृत भएर आएपछि मुआब्जा वितरणको काम सुरु हुने उहाँले जानकारी दिनुभयो ।

“प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको मुआब्जा निर्धारण समितिले जग्गाको मूल्याङ्कन गरेर बजेटका लागि फाइल अर्थ मन्त्रालय पुगेको छ, अर्थ मन्त्रालयबाट बजेट प्राप्त भएपछि मुआब्जाको काम अगाडि बढाउँछौँ”, उहाँले भन्नुभयो ।

प्राणी उद्यानभित्र परेका १२६ जग्गाधनीको ९६१ रोपनी जग्गा अधिग्रहण गरिनेछ । त्यसका लागि रु ४३ करोड ८७ लाख नौ हजार ४४३ मुआब्जा निर्धारण गरिएको छ । त्यस्तै उद्यानभित्र परेका घरटहराका लागि रु ५८ लाख सात हजार ५७९ र छुट भएका १६ जग्गाधनीको जग्गा अधिग्रहणका लागि रु दुई करोड छ लाख ८४ हजार ७०७ मुआब्जा निर्धारण गरिएको छ ।

उद्यानको सिमानामा तारबार लगाउने काम भने सम्पन्न भइसकेको छ । प्राणी उद्यानको विकासका लागि गुरुयोजना बनाइएको छ । गुरुयोजनाअनुसार यहाँ दुई इलाका, चार क्षेत्र र आठ शाखा कल्पना गरिएको छ । इलाकाअन्तर्गत संरक्षण इलाका र उपयोग इलाका रहनेछ । क्षेत्रअन्तर्गत प्रशासनिक, प्रदर्शनी, शान्ति र आध्यात्मिक, उद्धार र अनुसन्धान रहनेछ । शाखाअन्तर्गत ठूला शाकाहारी पक्षी, सर्वहारी, सरीसृप, साना स्तनधारी, मांसाहारी र भालु शाखाको कल्पना गरिएको छ । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker