फागुपूर्णिमाका दिन छिम्केश्वरीमा भक्तजनको भीड (फोटोफिचर सहित)
भञ्ज्याङ न्यूज

समुन्द्री सतहबाट करिब २ हजार १३४ मिटर उचाईमा रहेको छिम्केश्वरीमाईको दर्शनका लागि भक्तजनको भीड लागेको छ । विशेषगरी फागुपूर्णिमाका दिन भक्तजनहरु यो मन्दिरमा पूजाअर्चनाका लागि पुग्ने गर्दछन्। कोरोना भाइरस संक्रमणको जोखिम बढेको भन्दै तनहुँ प्रशासनले भीडभाड नगर्न सूचना जारी गरेपनि आइतबार यस मन्दिरमा भक्तजनको भीड लागेको थियो ।

तनहुँका अतिरिक्त गोरखा, लमजुङ, चितवन, नवलपरासी लगायतका जिल्लाका भक्तजन छिम्केश्वरीमाईको पूजाअर्चनाका लागि पुग्ने गर्दछन् । कोरोना संक्रमण त्रासका कारण अघिल्ला वर्षो तुलनामा कम भक्तजन आएको आँवुखैरेनी गाउँपालिकाका सूचना प्रविधि अधिकृत निरज श्रेष्ठले बताए ।

आँवुखैरेनी गाउँपालिकाको वडा नं. ५ मा रहेको छिम्केश्वरीमाईको मन्दिरमा पूजाअर्चना गरे मनले चिताएको पूरा हुने विश्वास सहित भक्तजनहरु आउने गर्दछन् । प्रशासनको निर्देशन तथा कोरोना भाइरस संक्रमण त्रासका बीच पनि बिहानैदेखि भक्तजनको भीड लागेको र मन्दिर दर्शनका लागि करिब एक घण्टा भन्दा बढी समय भक्तजनहरु लाइनमा परेको सूचना प्रविधि अधिकृत श्रेष्ठले जानकारी गराए ।

फागुपूर्णिमा पर्वका दिन छिम्केश्वरीमाई र बुढीमाईको दर्शन गर्न भक्तजन पुग्ने गर्दछन् । आँवुखैरेनी बजारबाट छिम्केश्वरीको फेदी लब्दीसम्म सवारी साधानमा पुग्ने सकिने भएपनि करिब आधाघण्टा पैदल यात्रा गर्नुपर्दछ । मन्दिरमा एकादशी र औंशी तिथि बाहेकका अन्य दिनमा पूजाअर्चन हुने र यस दिन मन्दिरमा बलि दिने परम्परा पनि रहेको छ ।

गोरखा मनकामनाकी दिदीका रुपमा पुजिदै आएकी छिम्केश्वरीमाई मन्दिरमा पूजाअर्चना गरेपछि मनले चिताएको पुग्ने जनविश्वास रहेको मन्दिरका पुजारी धनराज गुरुङ बताउँछन् ।

यस्तै, गोरखाको मनकामना मन्दिरमा गएपछि छिम्केश्वरीमाईको दर्शन गरेमात्र मनोकांक्षा पुरा हुने जनविश्वास रहि आएको पुजारी गुरुङ बताउँछन् ।

सात देवीमध्ये जेठी बूढीदेवीमाई र माइली छिम्केश्वरीमाई छिम्केश्वरीलेकमै अवस्थित छन् भने साइली गोरखा कालीमाई, काइली मनकामनामाई, अन्तरी इच्छाकामनामाई, जन्तरी अन्नपूर्णमाई र कान्छी अकलामाई रहेको बताइन्छ ।

तस्विर सौजन्य : निरोज श्रेष्ठ (आँवुखैरेनी गाउँपालिकाका सूचना प्रविधि अधिकृत)










