विभिन्न माग राख्दै सडकमा उत्रिए तनहुँका दुग्ध उत्पादक कृषक

भञ्ज्याङ समाचारदात/दमौली

तनहुँका दुग्ध उत्पादक कृषकहरु सडकमा उत्रिएका छन् । आफ्ना माग सम्बोधन नभएको भन्दै आन्दोलित भएका कृषकहरु विहीबार सडकमा उत्रिएर राजमार्ग अवरुद्ध समेत गरेका छन् ।

तनहुँ जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको अगुवाइमा जिल्लाका दुध उत्पादक कृषकहरूले पृथ्वीराजमार्ग करिब दुइ घण्टा अवरुद्ध गरेका थिए । कृषकहरुले दमौलीस्थित भोर्लेटार चोकमा बिहान ११ देखि १ बजेसम्म राजमार्ग अवरुद्ध गरेका थिए ।

कृषकहरु मिल्क होलिडे बन्द गर्नुपर्ने, आयातित दुध तथा दुग्धजन्य पदार्थलाई पूर्णरुपमा बन्द गराइ स्टक रहेको दुग्धजन्य पदार्थ नेपाल सरकारको कूटनैतिक पहलद्वारा अन्तर्राष्ट्रिय बजारमा बिक्री वितरणको प्रबन्ध गर्नुपर्ने, दुग्ध उत्पादक कृषकलाई पेशामा जोगाइराख्न कृषि कर्जा अनुदान कार्यक्रम विगतका वर्षमा झैं यथाशीघ्र उपलब्ध गराउनुपर्ने लगायतका माग राखी आन्दोलनमा उत्रिएका छन् ।

यस्तै, लागत मूल्य घटाउने कार्यक्रममा प्रतिलिटर अनुदान कम्तिमा ५ रुपैयाँ लागु गर्नुपर्ने, पशु आहार पशु औषधीसम्बन्धी पशुपालनसँग सम्बन्धित वस्तुको मूल्य राज्यले अविलम्ब नियन्त्रण गर्नुपर्ने, वीमा कार्यक्रमलाई प्राथमिकतामा राखी वीमाको रकम उपलब्ध गराउन सहज बनाउनुपर्ने, निर्यातित दुग्धजन्य पदार्थहरुमा अनुदानको व्यवस्था अविलम्ब गर्नुपर्ने र दुध तथा दुग्धजन्य पदार्थ निर्यातको लागि खोरेतलगायतका रोगको उन्मूलन गर्नुपर्ने माग कृषकका रहेका छन् ।

कृषकको माग पूरा गर्न फागुन १४ गते जिल्ला प्रशासन कार्यालयमा धर्नासहित ज्ञापनपत्र बुझाइएको भएपनि सरकारले सुनुवाइ नगरेकोले आन्दोलन गर्नुपरेको दुग्ध उत्पादक संघका केन्द्रीय अध्यक्ष अम्मरबहादुर कुँवरले बताए ।

तनहुँका कृषकले मात्रै पाँच करोड रुपैयाँ भुक्तानी लिन बाँकी रहेको र देशैभरका कृषकहरुले आठ अर्ब रुपैयाँ भुक्तानी लिन बाँकी रहेकोले दुग्ध उत्पादक सहकारी संघसँग आबद्ध ६४ जिल्लाका कृषकहरु आन्दोलनमा उत्रनुपर्ने बाध्यता आएको अध्यक्ष कुँवरले बताए ।

किसानको उत्पादनको बजारीकरण राज्यले गर्नुपर्ने भए पनि वास्ता नगरेकाले आन्दोलनमा उत्रिएको व्यास नगरपालिका-१० का निवर्तमान वडाध्यक्ष तुलसीराम सापकोटाले बताए ।

तनहुँ सहकारी संघका अध्यक्ष प्रदीपराज अधिकारीले कृषकको समस्या समाधान गर्नुपर्छ भनेर ऐक्यबद्धताका लागि आन्दोलनमा सहभागि भएको बताए । उनले भने, ‘दुधमा आत्मनिर्भर हुने अवस्था आइरहेको बेला त्यसलाई व्यवस्थापन गर्न सरकारको ध्यान पुगेको छैन, दलालको चङ्गुलमा फसेर कृषक मर्कामा परेकाले आन्दोलन गर्नुपरेको छ ।’

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker