कांग्रेस तनहुँका नेताहरुको सामुहिक राजिनामा : “व्यासको नेतृत्व परिवर्तन गर्न आवश्यक”
भञ्ज्याङ न्यूज

नेपाली कांग्रेस तनहुँका ७ जना नेता तथा कार्यकर्ताले सामुहिक राजिनामा दिएका छन् । स्थानीय निर्वाचनको टिकट वितरणमा मनोमानी गरेको भन्दै जिल्लाका पूर्व सचिव विश्व बास्तोला सहित ७ जनाले नेता कार्यकर्ताहरुले मंगलबार तनहुँका सभापतिलाई राजिनामापत्र बुझाएका छन् ।
पार्टीको संगठन विभाग प्रमुख समेत रहेका बास्तोलाले साधारण सदस्य समेत नरहने गरी राजिनामा दिनुपूर्व दमौलीमा पत्रकार सम्मेलन गरी व्यासमा अब नेतृत्व परिवर्तन आवश्यक रहेको बताए । विगत पाँच वर्षको अवधिमा व्यासमा एउटा गर्व गर्न लायक काम नगरेका व्यक्तिलाई पुनः पार्टीले टिकट दिएकोप्रति आपत्ति जनाउँदै बास्तोलाले भने, ‘उहाँ बाहेक अरु क्षमतावान् साथीहरु आएको भए ठिक थियो, तर फेल भएका व्यक्तिलाई पुनः टिकट दिइयो ।’

कांग्रेस छाडेपनि आफू अरु पार्टीमा नजाने बताउँदै बास्तोलाले भने, ‘लामो समयदेखि कांग्रेसमा आबद्ध मलाई कांग्रेसबाट न्याय मिलेन, अरु पार्टीमा जान्न ।’ आफू पार्टी जीवनबाट स्वतन्त्र बस्ने र समाज सुधारको पक्षमा सदैव लागिरहने प्रतिबद्धता जनाएका छन् । उनले यतिबेला नेपाली कांग्रेस तनहुँका कार्यकर्ता चरम गुटबन्दीको शिकार भएको बताएका छन् ।
कार्यक्रममा कांग्रेस शुक्लागण्डकीका नेता महेश्वर भट्टर्राईले पार्टीमा योगदान गरेका भन्दा नेतालाई योगदान गरेकालाई टिकट दिने प्रचलन बढेको बताउँदै आफूले शुक्लागण्डकीको मेयरमा स्वतन्त्र उम्मेदवारी हालेको बताए । लोभी, पापीलाई मात्रै नेतृत्वले अवसर दिएको भन्दै उनले अब स्वतन्त्र जीवन निर्वाह गर्ने समेत बताएका छन् ।

नेपाली कांग्रेस व्यास नगर समितिका पूर्व सचिव चुडामणि दाहालले कामको मूल्यांकन नभएको र आसेपासे मात्रै पार्टीमा हावी भएको आरोप लगाएका छन्। उनले पार्टीले टिकट नदिएपछि व्यास-१ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । जनतामाझ लोकप्रिय भन्दा पनि नेताको चाकडी गर्नेलाई पार्टीले प्राथमिकता दिएको उनको आरोप छ ।
कांग्रेस शुक्लागण्डकी नगर समितिका सचिव दीपेन्द्र पौडेलले जनमत भएका व्यक्तिलाई पार्टीले अगाडी बढाउन नसकेको भन्दै आफूले राजिनामा दिएको उल्लेख गरे । शुक्लागण्डकी नगरपालिका-८ का ऋषिराम महत, व्यास-३ का बाबुराम बगाले, व्यास-२ का दीर्घबहादुर थापा लगायतले पार्टी नेतृत्व गलत बाटोमा हिँडेको आरोप लगाएका छन् ।









