शुक्लागण्डकी महोत्सवको तयारी तीव्र, २ लाख पुरस्कार रासीको पालिकास्तरीय भलिबल प्रतियोगिता

दुलेगौंडा : तनहुँको शुक्लागण्डकी नगरपालिकामा चौथो शुक्लागण्डकी महोत्सवको तयारीलाई तीव्र पारिएको छ । शुक्लागण्डकी–५ बेलचौतारास्थित भानुभक्त बहुमुखी क्याम्पसको मैदानमा यही फागुन ९ देखि २० गतेसम्म महोत्सव आयोजना गरिएको छ ।
शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघले आयोजना गरेको उक्त महोत्सवलाई भव्य रुपमा सफल पार्न बिहीबार अन्तरक्रिया गरेको छ । अन्तरक्रियामा सहभागी संघसंस्थाका प्रतिनिधिले एजकुट भएर महोत्सवलाई सफल बनाउनुपर्नेमा जोड दिएका छन् । सहभागि वक्ताहरुले शुक्लागण्डकी महोत्सवलाई यो क्षेत्रको पहिचानका रुपमा स्थापित गराउनका लागि स्थानीय उपजको बजारीकरण, कला संस्कृतिको प्रवर्द्धन जस्ता क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका छन् ।
यस्तै, शुक्लागण्डकी नगरपालिकाका उपप्रमुख खुमबहादुर विकले प्रविधिको विकाससँगै बालबालिका एकलकाटे बनिरहेकाले महोत्सव उनीहरुलाई सिकाइको थलो बन्नुपर्ने बताएका छन् । उनले भने, ‘स्थानीय स्तरमा सञ्चालित मेला महोत्सवमा बालबालिकाले सिक्न लायक विषय समेट्नुपर्नेछ । शुक्लागण्डकीमा उत्पादित भएका वस्तु नयाँ पुस्तालाई कति देखाउन सक्छौं त्यो महोत्वपूर्ण हुन्छ ।’
कार्यक्रममा पूर्वअध्यक्ष विमलप्रसाद रिमालले महोत्सव सबै मिलेर सफल पार्नुपर्नेमा जोड दिए । उनले शुक्लागण्डकीबासीको महोत्सव भएकाले यसलाई व्यवस्थित ढंगले सभ्य र भव्य रुपमा सम्पन्न गर्न सबैको हातेमालोको खाँचो रहेको बताए ।
शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघका अध्यक्ष एवं महोत्सव मुल आयोजक समितिका संयोजक समुन्द्रराम श्रेष्ठले महोत्सवलाई पृथक बनाउने प्रयास भइरहेको बताए । महोत्सवका माध्यमबाट स्थानीय कला संस्कृतिको प्रवर्द्धन, कृषि उपजको बजारीकरणको थलोका रुपमा विकास गर्ने गरी अगाडि बढेको उनले जानकारी गराए ।
यस्तै, महोत्सवको मुख्य आकर्षणका रुपमा साँस्कृतिक झाँकी प्रदर्शनी, पर्यटन प्रबद्र्धन, नृत्य प्रतियोगिता, सांगीतिक कार्यक्रम, भलिबल प्रतियोगिता रहेका छन् । दैनिक उपभोग्य बस्तुको प्रदर्शनी एवं बिक्री, खानाका परिकार, ऐतिहासिक स्थलको पदयात्रा, राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुती, पुष्प प्रदर्शनी तथा विक्री, सुन्तला, मास, अदुवाको प्रदर्शनी तथा खरिद विक्री हुने महोत्सवका प्रवक्ता सुजन श्रेष्ठले बताए ।
पालिकास्तरीय भलिबल प्रतियोगिता
शुक्लागण्डकी महोत्सवमा भलिबल प्रतियोगिता गरिने भएको छ । चौंथो संस्करणको महोत्सवमा खेलाडी उत्पादन र खेलकुदको विकास लागि भलिबल प्रतियोगितालाई समेत समेटेको उद्योग वाणिज्य संघका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
पालिकास्तरीय भलिबलको उपाधि विजेताले २ लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले एक लाख, तृतीयले ५० हजार र चौंथोलाई २५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने भएको छ ।
यस्तै, भलिबलसँगै नृत्यु, रत्यौली र कौराहा प्रतियोगिता समेत सञ्चालन गरिने आयोजकले जनाएको छ ।