कुकुर यमराजको दुतमात्र होइन
के.बि. मसाल

तिहार पर्वको पाँच दिनलाई यमपञ्चक पनि भनिन्छ । यमपञ्चकमा क्रमैसँग काग, कुकुर, गाई, गोरुको पूजा गर्ने गरिन्छ र अन्तिम दिनमा दिदीबहिनीहरुले आफना दाजुभाईलाई टिका लगाइदिइ दीर्घायुको कामना गर्ने गरिन्छ । कुकुरलाई यमदुतकारुपमा प्रत्येक वर्ष तिहार पर्वमा पूजा गर्ने, सम्मान गर्ने, मिठो खान दिने र माला लगाई दिएर सांस्कृतिकरुपले पूजा गर्ने प्रचलन छ । यमपञ्चकको दोस्रो दिन यमराजको द्वारपालका रुपमा स्वर्ग र नर्कको ढोकामा कुकुर रहने गरेको भन्ने पौराणिक कथन रहेकाले यस दिन कुकुरलाई पूजा गर्ने प्रचलन छ । तन्त्र साधनामा कुकुरलाई भयरहित भैरवका रुपमा पूजा गर्ने गरिन्छ । कुकुर पूजा ग्रिस र इजिप्टमा हिजोआज पनि रहेको छ । यो बाहेक कुकुरलाई घरमा पालेर सुरक्षाका लागि पनि मानिसहरुले मानव सभ्यता सँगसँगै कुकुरलाई घरमा पाल्दै आएका छन ।
यमपञ्चकको दोश्रो दिन कुकुर तिहार। कुकुर मानव सभ्यता देखिनै मानवसंग अत्यन्त नजिक बफादार जीवमा रहेको छ। ऋगवेद अनुसार समरा अर्थात् कुकुरहरुकी आमाले स्वर्गका राजा इन्द्रलाई उनको हराएको वस्तु भेटाउन सहयोग गरेको उल्लेख छ। वैदिक सनातन हिन्दू परम्परा अनुसार कुकुरलाई अभिभावक, सुरक्षाकर्मी अनि यमराजको दूतकारुपमा मानिन्छ र मृत्यूपर्यन्त पनि मोक्षको द्वारमा कुकुरले नै पहरा दिएको कथन रहिआएको छ । महाभारतमा पनि सत्यवादि यूधिष्ठिरले आफ्नो भक्त कुकुर विना स्वर्गमा जान नमानेको कुरा उल्लेख छ । कुकुरलाई धर्मको अवधारणागत उदहारण र सत्मार्गको प्रतिनीधिका रुपमा लिइन्छ । तन्त्रसाधक निडर भगवान भैरवको वाहन पनि कुकुरनै हो भने चाणक्य नितीमा कुकुरलाई पातलो निन्द्रा भएको बफादार, चनाखो अनि थोरै खाएर पनि सन्तुष्ट हुने प्राणिका रुपमा उल्लेख गरिएको छ ।
सर्वप्रथम पृथ्वीको कक्ष बाहिर परिक्रमा गर्दै अन्तरिक्षमा सन् १९५७ मा लाईका नामक कुकर पुगेको हो । त्यसैगरि सन् १९२३ मा जापानको ओडाटेमा जन्मिएको हाछिको नामक कुकुर र उसको मालिकप्रतिको बफादारीताको दृष्टान्तस्वरुप बनाइएको चलचित्र “हाछिको” आजपनि विश्वभरि उत्तिकै लोकप्रिय छ र उक्त चलचित्र हेर्ने धेरैका आँखा रसाएका छन् । कुकुर तिहारमा यिनै कुकुरहरुको पूजा गरिने दिन हो । तिहार पर्व मानव मात्रको पर्व नभएर यो मानव र पशुपन्छीबीचको पारस्परिक सम्बन्ध मुखरित गर्ने महत्वपूर्ण चाडका रुपमा परिचित छ । तमसो मा ज्योतिर्गमयः को भाव उजागर गर्दै अन्धकारबाट उज्यालो जीवनमा पु¥याउने पर्व नै तिहार हो ।
तिहार सुरु भएको पहिलो दिन काग, दोस्रो दिन कुकुर, तेस्रो दिन गाई र लक्ष्मीपूजा, चौथो दिन गोवद्र्धन र म्हपूजा र पाँचौँ दिन भाइटीका लगाउने गरिन्छ। तिहारको दोस्रो दिन तथा चतुर्दशीको दिनलाई नरक चतुर्दशी भनिन्छ यस दिन हिन्दु महिलाहरुले नजिकैको कुवा, ततलाउ, धारा या पोखरीमा गएर नर्के नुहाउने र टपरीमा दीपप्रज्ज्वलन गर्दै पुजाआजा गर्ने प्रचलन छ। बिहानै महिला–पुरुष दुवैले सुस्वास्थ्य र दीर्घायुका लागि शरीरमा तेल लगाएर अपामार्गको पात, डाँठ, फूल, फल, गौमुत्र मिश्रित जलले स्नान गरी शरीर चोख्याउने प्रचलन पनि रहेको छ। यमपञ्चकको तेश्रो दिन आमावश्या औँसी को दिन दिपावली गरी धुमधामसाथका साथ धनधान्य र ऐश्वर्यकी देवी भगवती लक्ष्मी, कुवेर आदीको पूजा गरिन्छ । सोही दिन सवै भन्दा सोझो जनावरको प्रतिक गाईको पुजा आजा गर्ने गरिन्छ । हिन्दु परम्परामा गाईलाई गौमाता तथा लक्ष्मी भगवानको प्रतिकको रुपममा मान्ने र पुजा गर्ने प्रचलन छ । गाई तिहारको दिन वेलुकी लक्ष्मी पुजा गरेर महिला, युवती तथा बच्चाहरुले भैलो खेल्ने गर्दछन । तिहारको चौँथो दिन गोवद्र्धन तथा गोरुको पुजा गर्ने र गाउँघर तिर हलीको पनि पुजा आजा गर्ने प्रचलन छ । त्यसैले यस दिनलाई हलीतिहार अथवा गोरुतिहार भन्ने गरिन्छ। महालक्ष्मी, गणेशसहित ऐश्वर्यका देवताको पूजा गरी लक्ष्मीपूजा र झिलिमिली बत्तिको पर्वका रुपमा पनि दीपावली मनाइन्छ ।
विशेष गरी कुकुरहरु हाम्रो गाउँघरमा सुरक्षा र हेरचाहको लागि पालिने गरिन्छ। गोठहरुमा धेरै पशुपालन गर्ने कृषकहरुले गोठालोको रुपमा पनि कुकुर पाल्ने गर्छन। त्यस्तै कुकुरले प्राकृतिक प्रकोप आउनुपूर्वनै केही समयअगाडि नै थाहा पाउँछ र भुकेर यस्ता कुराहरुको पूर्वसूचना दिने गर्छन । जति सुकै दुःख कष्ट आइपरे पनि कुकुरले आफ्नो मालिकको साथ छोडदैन । त्यसैले मानिसले कुकुरलाई आफ्नो भरपर्दो साथीको रुपमा लिने गर्छन । कुकुरलाई आज्ञापालक र रक्षक मात्र मानिँदैन यसले विभिन्न अपराध गर्ने अपराधीहरु पत्ता लगाउने, अध्ययनरअनुसन्धानको कार्यमा पनि सघाउँछ। कुकुरको सुँघ्नसक्ने क्षमता असाधारण हुन्छ । त्यसैले सेना, प्रहरीहरुले अपराधी पत्ता लगाउन पनि तालिमप्राप्त कुकुरको सहायता लिने गर्छन । यमपञ्चकले पृथ्वीमा रहेका सबै जीव जनावरहरुलाई हामीले माया र संरक्षण गर्नुपर्छ भन्ने कुरा सिकाँउछ । त्यसै अनुसार मानवसभ्यताको सुरुवातदेखि नै मानवहरुलाई साथ दिँदै आएको कुकुरलाई विशेष महत्व दिएर पूजाआजा गरिन्छ ।
कुकुर पाल्ने परम्परा संस्कृतिकैरुपमा विकास भए पनि मानव सभ्यतासँगै कुकुर पाल्ने प्रयोजन भने केही बदलिँदै आएको छ । संसारलाई हेर्ने हो भने अहिले कुकुरलाई अन्तरिक्षमा पठाउने, जासुसी कार्यमा लगाउने, र तालिमप्राप्त कुकुरलाई खेलकुदमा समेत सहभागी गर्ने काम धेरै देशमा हुँदै आएको छ । कुकुरमा सुँघने शक्ति अत्यधिक हुन्छ । अल्ट्रासाउन्डसमेत पनि सुन्नसक्ने क्षमता कुकुरमा बढी हुनाले कुकुरबाट घरको सुरक्षा र अन्य काम लिन सकिएको हो । कुकुरको सुघने शक्तिमात्र होइन स्मरण शक्ति समेत तिक्ष्ण हुन्छ । एकपटक देखेको मानिस वा अन्य अन्य चिजलाई यसले सजिलै भुल्दैन । कुकुरको निन्द्रा पनि पातलो हुन्छ । यसकारणले पनि रातको समयमा घरपरिवारका सबै घटनाहरु पत्ता लगाई भुकेर मानिसलाई थाहा दिन्छ । कुकुर धेरै जातिका हुन्छन् । चारखुट्टे जनावर कुकुरको १८ देखि २२ वटासम्म नंग्राहरु हुन्छन् । कुकुरको प्रजाती अनुसार रंग र रौं पनि फरक हुन्छ । कुकुर तीन महिनामा ब्याउने र यसले ३ देखि ८ वटासम्म छाउरा एकै पटकमा जन्माउँछ ।
संसारमा आजभोली कुकुरकै सहयोगमा ठूला अपराधहरु पत्ता लगाउने गरिएको छ । नेपालमा प्रथमपटक २०३६ सालमा मलेसियाले उपहार स्वरुप चारवटा कुकुर सरकारलाई सुरक्षा एवं अपराध अनुसन्धान गर्नका लागि प्रदान गरेको थियो । हाल ती कुकुरहरुको संख्या ६० को हाराहारीमा पुगेको छ । ती कुकुरलाई केन्द्रीय प्रहरी तालिम स्कुल रानीबारी काठमाडौंमा प्रशिक्षण दिने काम भैरहन्छ । प्रहरीले ति तालिमप्राप्त कुकुरहरुलाई भिआईपीहरुको सुरक्षाको लागि प्रयोग मात्र नगरी लागु औषधि ओसार–पसारलगायत उद्दारका लागि, अपराध खोजी अनुसन्धान र हतियार तथा विष्फोटक पदार्थको अपराध अनुसन्धान गर्नमा प्रयोग गरि रहेका छन । कुकुर सुरक्षा र ब्यक्तिगत सोखकारुपमा पनि पाल्न थालिएको छ। नेपालमा अहिलेसम्म ४५ जातिका कुकुरहरु विदेशबाट पाल्न ल्याइएका छन्। यसरी विदेशबाट ल्याइएका ठूला जातका कुकुरमा एल्सेसियन, ग्रेटडेन, जर्मन सेफर्ड, डोरम्यान, ल्याब्राडर, बक्सर, डयाल्मेसियन, बुलडग प्रजातीका छन् । यसैगरी, घरमा पालिने साना जातका कुकुरहरुमा जापानी स्पिटस्, ल्हासा आम्लो जस्ता कुकुरका प्रजातीको माग बढिरहेको छ । यसरी कुकुर काठमाडौं, पोखरा, बिराटनगर जस्ता ठूला सहरमा पालिएको छ ।
अहिले नेपालमा कुकुर झिकाउने केनल क्लव ब्यवसायि रुपमा अगाडी बढेको । घरमा पालिने उन्नत जातका कुकुरहरु केनल क्लवबाटनै भारतलगायत तेस्रो देशबाट आयात गरिन्छ भने कतिपयले आफैं विदेशबाट आउँदा पनि ल्याउने गरेका छन् । संसारमा कुकुरका जातिअनुसार मानिसले पकेटमा राख्न सकिनेदेखि लिएर ठूला साइजमा समेत कुकुर पाइएको छ । अहिलेसम्म गिनिज बुकमा नाम लेख्न सफल भएको कुकुर अमेरिकामा छ । अमेरिकाको मिचिगनास्थित डेनिज डुर्गालले पालेको गे्रडडेन जियस नामको त्यो कुकुर ७ फिट र ४ इन्च अग्लो छ। ३ वर्ष उमेरको त्यो कुकुर विश्वकै हालसम्म अग्लो कुकुर मानिन्छ। यसको लम्बाई २.२ मिटर छ । क्ुकुरका सौखिनहरुले बजारमा विभिन्न जातका कुकुरहरु पाउन थालेपछि कुकुरको मूल्य पनि आकासिएको छ । चिनको सान्सी प्रान्तकी एक महिलाले तिब्बती प्रजातीको याङजेनदी नम्बर दुई नामको कुकुरलाई उनले ४ करोड ५१ लाखमा किनेर विश्वकै हालसम्मको महंगो कुकुरलाई मूल्य कायम राख्न सफल भएकी छिन ।
कुकुर पाल्ने मात्र होइन कुकुर पाल्नेहरुमा कुकुरप्रति माया पनि बढन थालेको छ । अमेरिकामा एक जोडिले आफूले पालेको कुकुरको मुत्युको पीडा सहन नसकी २ करोड रकम खर्च गरेर कुकुरको क्लोन गराएका छन् । क्लोन गराउनु भनेको नयाँ कुकुर जन्माएर सबै गुण एवं हाउभाउ मृत्यु भएको कुकुर बनाउनु हो। यस्तो चिकित्सा प्रविधिलाई क्लोन प्रविधि भनिन्छ। यसरी तयार पारिको कुकुरको नाम लालसेन इनकोर राखिएको छ। यो कुकुर संसारकै व्यवसायिक क्लोन प्रविधिको कुकुर मानिन्छ । नेपालको उत्तरी भूभाग, भारतको उत्तरी भूभाग, तिब्बत र मंगोलियामा पाईने कुकुरको जातिमा ठूलो टाउको र अजङको जीउ हुने यो रिसाहा र आक्रामक स्वभावको कुकुर हो। कुकुर अति इमानदार र बफादार स्वभावको हुने भएकाले भोटे कुकुर विश्वमै विशिष्ट ठहरिएको छ । युरोप र अमेरिकामा यो कुकुरको माग अत्यधिक रहेको छ । तर माग अनुसार पूर्ति भने हुन सकिरहेको छैन । नेपालबाहिर एउटै छाउरा–छाउरीको कम्तीमा पनि १ हजार २ सय अमेरिकी डलरमा किनबेच हुने यो कुकुरको विश्व बजारमा उच्चतम मूल्य १५ लाख अमेरिकी डलर सम्म रहेको छ ।
शौख र सुरक्षा दुबै उद्देश्यले पालिने कुकुरको व्यापार पनि अब सानो अंकमा सीमित रहेन । कुकुर र यसले खाने दानाका लागि विदेशी बजारमा निर्भर रहनुपरे पनि शौखका कारण बजार निकै बढेको छ । कुकुरलाई परिवारका सदस्य जस्तै ठानेर पाल्ने पश्चिमा संस्कृतिले हुनेखाने वर्गमा निकै खर्च बढन थालेको छ । एक वर्षको अवधिमा काठमाडौंमा मात्रै २५ करोड रुपैयाँ बराबरको कुकुर तथा कुकुरसँग सम्बन्धित सामानको व्यापार हुने गरेको छ । यो तथ्यांक हरेक वर्ष तिब्र गतिमा उकालो लाग्दै छ । राजधानीमा खुलेका केनल क्लव संख्याले पनि कुकुरको व्यापार बढाएको छ । अहिले काठमाडौंमा रहेका ४० भन्दा धेरै केनल क्लवमार्फत कुकुरको व्यापार हुँदै आएको छ । यी केनल क्लवमार्फत करिब ५० जातका स्वदेशी तथा विदेशी कुकुरको व्यापार हुने गरेको छ । अहिले एउटा केनल क्लवले मात्रै वार्षिक एकसयवटा भन्दा धेरै कुकुरको व्यापार गर्न थालेका छन। अहिले सम्म कुकुरको किनबेच राजधानी केन्द्रित छ । नेपालमा व्यापार हुने मध्ये सबैभन्दा महँगो कुकुर एक लाख ५० हजार रुपैयाँसम्मको रहेको छ। उनका अनुसार बुल डग जातको यो कुकुर नेपालमा व्यापार हुनेमध्येको अहिले सम्मकै महँगो हो ।
हामी प्रकृतिको पुजारी हौ । त्यसैले हामी हिन्दु धर्म प्रति आस्थागर्ने सबैले प्रकृति र जनावरलाई पुज्ने गर्दछौ । घर पालुवा कुकुर मात्र होइन धेरै कुराहरु मानिसहरुले भन्दा जनावरहरुले चाडै थाहाँ पाउछन। जनावरको यो थाहा हुने शैलिलाई बिज्ञानले भने मान्यता दिएको छैन तर पनि धेरै देशका मानिसहरुले जनावरको चाललाई भूकम्प आउने समयलाई मान्ने गरेको पाइन्छ । पशुपक्षीले भूकम्पको पूर्वसंकेत गर्छन भन्ने विश्वास शताब्दीऔं पुरानो हो । यद्यपि कस्तो महसुस गर्छन्न भन्नेचाहिँ अझै पत्ता लागेको छैन । विशेषज्ञहरुका अनुसार पशुपक्षीमा मानिसमा भन्दा धेरै गुणा बढी श्रवण क्षमता हुन्छ । उदाहरणका लागि गाउँ घरमा पाइने गोठे लाटोकोसेरोमा मानिसको भन्दा १० गुणा बढी श्रवण क्षमता हुन्छ। मानिसका कानले सुन्नै नसक्ने आवाज पनि तिनले चर्कोसँग सुन्न सक्दछन । त्यस्ता जनावर र चराले धेरै टाढाका सूक्ष्म आवाज पनि अग्रिम सुन्ने हुनाले पूर्वसंकेत पाउँछन् । भूकम्प पृथ्वीको सतहमा आइपुग्नुअघि जमिनमुनिका ढुङ्गा र चट्टानहरु टुक्रिएको र भासिएको आवाज तिनले सुन्ने हुनाले नै तिनलाई पूर्वानुमान गर्न सजिलो हुन्छ ।
हात्तीले अगिपछि भन्दा खुट्टा धेरै फट्टाएको हुन्छ। जमिन हल्लिनु ५ मिनेट अगाडि त सुँडको सहायताले जमिनमा टाँसिएर बस्न खोज्दछ। सामान्य अवस्थामा हात्ती कहिल्यै त्यसरी बस्दैनन् । त्यसरी नै बाघ, चितुवा, सिंहजस्ता ठूला जनावर आत्तिने गर्दछन। भूकम्प आउने समयमा जलचरले समेत फरक व्यवहार देखाउछन । सर्प र मुसा दुला बाहिर निस्किन्छन । खरायो, दुम्सीलगायत जनावरहरु दुला खन्ने गर्दछन । भूकम्प आउने समयमा चराहरुको व्यवहार पनि फरक हुन्छ। अचम्मको आवाज निकालेर कराउने, धसारिने समेत गर्दछन ।










