आयमूलक कार्यक्रमलाई जोड दिँदै बन्दीपुर
भञ्ज्याङ समाचारदाता/बन्दिपुर

बन्दीपुर गाउँपालिकाले आफ्ना क्षेत्रभित्रका बासिन्दालाई लक्षित गरी आर्थिक आयआर्जनमूलक कार्यक्रमलाई जोड दिँदै आएको छ । गाउँगाउँका महिलाहरूलाई सीपमूलक तालिम प्रदान गरेर आत्मनिर्भर बनाउने उद्देश्यले गाउँपालिकाले सीपमूलक तालिमलाई प्राथामिकता दिएको हो ।
गाउँपालिकाले महिलाहरूका लागि सिलाइकटाइ गर्न मेशिन, सालको पातको टपरी र चप्पल उद्योग सञ्चालनका लागि केही दिनअघि तालिम प्रदान गरिसकेको छ । बन्दीपुर-६ को धरमपानीमा चप्पल उद्योग सञ्चालनमा ल्याउने तयारीका साथ तालिम प्रदान गरिसकेको गाउँपालिकाले जनाएको छ । उक्त वडास्थित धरामपानी महिला उद्यमी समूहलाई तालिम प्रदान गरी चप्पल उत्पादन गर्न लागेको गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले बताउनुभयो ।
गण्डकी प्रदेश सरकारको गरिबी निवारण उद्यमी विकास कार्यक्रमअर्न्तर्गत रु दुइ लाख १३ हजार पाँच सयमा मेशिन खरिद गरी स्थानीय १२ जनालाई तालिम प्रदान गरिसकिएको जनाइएको छ ।
तालिमबाट सिकेका सीप तथा जनशक्तिलाई परिचानल गरी चप्पल उत्पादन गरी बिक्री वितरण गर्ने लक्ष्य राखिएको छ । तालिमपश्चात् सालको पातको टपरी र चप्पल उत्पादन गरेर पालिकास्तरमै खपत गर्ने लक्ष्य रहेको गाउँपालिकाका अध्यक्ष थापाले जानकारी दिनुभयो ।
बन्दीपुर-५ स्थित याम्पा महिला उद्यमी समूहलाई चारवटा सिलाइकटाइ मेशिन प्रदान गरेर आयआर्जनतर्फ सक्रिय बनाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामदत्त भट्टले जानकारी दिनुभयो ।
गाउँपालिका कार्यालयले बन्दीपुर बजार क्षेत्रमा पेपर प्लेट विस्थापित गरी सालको पातको टपरी प्रयोगमा ल्याउने गरी काम अघि बढाइएको छ । टपरी बनाउनका लागि स्थानीय बाह्र जनालाई तालिम प्रदान गरिसकेको जनाइएको छ ।










