तनहुँको आँवुखैरेनी गाउँपालिकाले सञ्चालन गरेको घुम्ती दर्ता शिविरमा ८६ व्यक्तिगत घटना दर्ता

तनहुँको आँबुखैरेनी गाउँपालिका–६ ज्यामिरे निवासी तिर्सरा गुरुङको छोरी जन्मिएको एक महिना पुग्यो । उहाँले घर नजिकै सञ्चालित दर्ता शिविरबाट छोरीको जन्मदर्ता गराउनुभयो । पैँतीस दिनभित्र वडा कार्यालयमा पुगेर निःशुल्क घटना दर्ता गराउन सकिन्छ । छोरीको जन्मदर्ताका लागि गुरुङलाई वडा कार्यालयसम्म पुग्न परेन । आँबुखैरेनीले वडाका विभिन्न ठाउँमा सञ्चालन गरेको दर्ता शिविरले गुरुङलाई सहज भयो ।

गाउँपालिकाभित्र स्थायी बसोबास गर्ने नागरिकको व्यक्तिगत घटना दर्ता, सामाजिक सुरक्षा भत्ता लिने विवरण दर्ता तथा गुनासो दर्ता सुनुवाइ गर्ने उद्देश्यले गाउँपालिकाले प्रत्येक वडाका विभिन्न ठाउँमा आइतबारदेखि शिविर सञ्चालन गरेको छ । घटना दर्ताका लागि वडा कार्यालयसम्म पुग्नुपर्ने स्थानीयवासीलाई शिविरले राहत मिलेको छ ।

गाउँपालिकाका छवटै वडामा एकैसाथ शिविर शुरु भएको छ । आँबुखैरेनी वडा नं १ को समस्तीपुर र याञ्चोक, वडा नं २ को सहकारी टोल र तिलबारी, वडा नं ३ को ज्यामस्वारा र पानीघट्टा, वडा नं ४ को बेनीटार र भाँगे, वडा नं ५ लाब्दी र सानोभञ्ज्याङ र वडा नं ६ को हिलेखर्क र प्युघरफाँटमा शिविर सम्पन्न भएको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले जानकारी दिनुभयो ।

गाउँपालिकाका सूचना प्रविधि अधिकृत निरोज श्रेष्ठका अनुसार शिविरमा मङ्गलबारसम्म ८६ व्यक्तिगत घटना दर्ता भएका छन् । त्यस्तै २० गुनासो र एक सामाजिक सुरक्षा भत्ताका लागि नाम दर्ता भएको छ । दर्ता शिविरमा सहभागी भई विवरण बुझाई घरदैलो सेवाको लाभ लिन गाउँपालिकाले आग्रह गरेको छ ।

शिविरका क्रममा पायक पर्ने स्थानमा गई व्यक्तिगत घटना (जन्म, मृत्यु, विवाह, सम्बन्धविच्छेद तथा बसाइसराइँ) को विवरण लिने तथा सामाजिक सुरक्षा भत्ता लिन योग्य भई छुटेका लाभग्राहीको विवरण सङ्कलन गरिन्छ ।

व्यक्तिगत घटना दर्ताको प्रमाणपत्र बालबालिकालाई विद्यालयमा भर्ना गर्न, नागरिकता बनाउन, नाबालक राष्ट्रिय परिचयपत्र बनाउन, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न साथै राज्यबाट पाउने सेवा, सुविधा र हक स्थापना गर्न आवश्यक पर्छ । शिविर असार २५ गतेसम्म सञ्चालन हुनेछ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker