प्रशासनको अनुगमन : दुलेगौंडाका दुइ वटा स्वास्थ्य संस्था बन्द
राजकुमार आले/दुलेगौंडा
नियमविपरीत विरामी भर्ना गरी उपचार गरेको भन्दै तनहुँको शुक्लागण्डकी-४ दुलेगौंडाका दुइ वटा स्वास्थ्य संस्था बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालको नेतृत्वको टोलीले मंगलबार गरेको अनुगमनका क्रममा दुलेगौंडाका धर्मसेवा मेडिकल हल र फेमेली स्वास्थ्य क्लिनिकले डाक्टर बीना विरामी भर्ना गराइ सलाइन चढाइ रहेको भेटिएपछि बन्द गरिएको हो ।
नियम विपरित विरामी भर्ना गरी उपचार सेवा दिएको भेटिएपछि बन्द गरिएका दुबै मेडिकल संचालकलाई सात दिनभित्र स्पष्टिकरणसहित जिल्ला प्रशासन कार्यालय र नगर स्वास्थ्य शाखामा पेश गर्न निर्देशन दिइएको शुक्लागण्डकी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अजय श्रीवास्तवले बताए ।
दिउँसो अनुगमन टोलीले नियम विपरित अस्पताल चलाएको भन्दै बन्द गराएको धर्मसेवा मेडिकल हलले साँझ पुनः अस्पताल खुल्ला गरेको थियो । मेडिकलले अगाडीको मुख्य सटर लगाएपनि भित्रको सटर खोलेर बसेको भेटिएको थियो । अनुगमन टोलीले शुक्लागण्डकीका अन्य विभिन्न स्वास्थ्य संस्थाहरुको पनि अनुगमन गरेको थियो । अनुगमनका क्रममा इजाजतपत्र बिना औषधी पसल र ल्याबहरु संचालन गर्ने, मापदण्ड विपरीतका सेवाहरु थप्ने, प्रचारप्रसार गर्ने जस्ता कमिकमजोरीहरु पाइएको थियो। कमिकमजोरी भेटिएका स्वास्थ्य संस्थालाई तुरुन्त सुधार गर्न निर्देशन दिइएको स्वास्थ्य शाखा प्रमुख श्रीवास्तवले जानकारी दिए ।
त्यस्तै, सहायक प्रमुख जिल्ला अधिकारी बरालले कोरोना परीक्षणका लागि स्वाब संकलन र पिसिआर परीक्षणमा सरकारले तोकेको भन्दा बढी शुल्क असुल्ने गरेको गुनासो आएपछि जिल्लाका स्वास्थ्य संस्थाको अनुगमन थालिएको बताएका छन् । यो विषम् परिस्थितिमा जनतालाई सर्वसुलभ सेवा प्रवाह गरी सहयोग गर्नुपर्ने समयमा नियम विपरित नाजायज फाइदा लिनेहरुलाई कानुन अनुसार कारबाही गरिने उनले बताएका छन् । उनले भने, ‘नियम विपरित कार्य गरी फाइदा लिन खोज्नेहरु जोसुकै होस् हामी कारबाही गर्न तत्पर छौँ, कारबाही गछौँ । कसैले नाजायज काम गरेका छन् भने जिल्ला प्रशासन कार्यालय, स्वास्थ्य शाखा, प्रहरीमा सुचना दिनुहुनु होला ।’
नीजि स्वास्थ्य संस्थाहरुले पिसिआर परीक्षणका लागि नियमविपरीत स्वाब संकलन गर्ने र शुल्क बढि लिने गरेको गुनासो आएपछि प्रशासनले जिल्लामा अनुगमनलाई तीब्र पारेको छ । अनुगमनमा जिल्ला अस्पताल दमौलीका डा. सुनिल पौडेल, इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक ज्ञानप्रसाद खड्का, नागरिक समाजका अध्यक्ष खेमराज खनाल, नगर उद्योग वाणिज्य संघका प्रतिनिधि लगायतका सहभागिता थियो ।










