आँबुखैरेनी गाउँपालिकाको सेवा टोलटोलमै
भञ्ज्याङ समाचारदाता/आँवु

तनहुँको आँबुखैरेनी गाउँपालिकाले आफ्नो सेवा टोलटोलमै पुगेर दिने अभियान सुरु गरेको छ । अभियान अन्तर्गत आइतबार वडा नं. ३ मनकामना चोकमा आयोजित शिविरमा व्यवसाय दर्ता, नवीकरण र कर संकलन सुरु गरेको हो ।
गाउँपालिकाले सर्वसाधारणको सहजताका लागि टोलमै पुगेर दर्ता, नवीकरण र कर संकलन सेवा प्रवाह गरेको छ । उक्त शिविरमा १७ जनाले व्यवसाय दर्ता गराएको राजश्व शाखा प्रमुख निरोज श्रेष्ठले बताए ।
शिविरमा २२ जनाले व्यवसाय नवीकरण गरेका छन् भने ५४ जनाले भूमिकर तथा मालपोत कर तिरेका छन् । शिविरको पहिलो दिन एक लाख ५५ हजार रुपैयाँ राजश्व संकलन भएको उनले बताए ।
गाउँपालिकालाई सहज रुपमा सेवा प्रवाह गर्ने उद्देश्यसहित टोलमै पुगेर यो अभियान सुरु गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए । सबै वडामा यो अभियान सञ्चालन गरिने बताउँदै उनले सोमबार आँबुखैरेनी गाउँपालिका-३ कै डाँडाटोलमा शिविर सञ्चालन गरिने जानकारी गराए ।
शिविरका क्रममा व्यवसाय दर्ता नवीकरणमा २० प्रतिशत छुट दिइएको छ । त्यस्तै हालसम्मको जरीवाना रकम पनि छुट गरिने गाउँपालिकाले जनाएको छ ।
व्यवसाय दर्ता गर्दा महिला, दलित र अपाङ्गताको हकमा ५० प्रतिशत छुट सुविधा दिइनेछ । शिविरमा आवश्यक पर्ने निवेदन, नवीकरण निवेदन, बहाल सम्झौता, मुचुल्का र फोटोकपी सुविधा पनि गाउँपालिकाले उपलब्ध गराएको छ ।