तनहुँका सामुदायिक विद्यालयहरुमा पठनपाठन सञ्चालन हुन थाल्यो

तनहुँ : समुदायिक विद्यालयका शिक्षकहरुले आफ्नो पेशागत हकहितको माग गर्दै गरेको आन्दोलन जारी रहेपनि तनहुँका समुदायिक विद्यालयहरुले भने पठनपाठन कार्यलाई अगाडि बढाउन थालेका छन् ।
नयाँ वर्षसँगै सुरु हुने नयाँ शैक्षिक सत्रले विद्यार्थीको भर्ना गरी पठनपाठन अगाडि बढाउनुपर्ने यस वर्ष त्यो हुन सकेको छैन । शिक्षकहरु आन्दोलनमै रहेका कारण कतिपय विद्यालयहरुले विद्यार्थीहरुको अन्तिम परीक्षाको नतिजा समेत सार्वजनिक गरेको अवस्था छैन । यो शैक्षिक सत्र अन्योल र निराशाको छायामा परेका कारण हजारौँ विद्यार्थी विद्यालय कहिले खुल्छ भन्ने अनिश्चिततामा रहेका छन् ।
तनहुँका केही विद्यालयहरुले यो अन्योलतालाई हटाउँदै विद्यार्थीहरुको अन्तिम परीक्षाको नतिजा सार्वजनिक गर्दै पठनपाठन समेत सञ्चालन गर्न थालेका छन्। भानु नगरपालिकाका अधिकांश विद्यालयहरुमा पठनपाठन सुचारु भएको नगरपालिकाका शिक्षा अधिकृत ध्रुवराज पौडेलले बताए ।
‘भानुका लगभग सबै विद्यालयले विद्यार्थी वार्षिक परीक्षाको नतिजा सार्वजनिक गरी नयाँ भर्ना समेत सञ्चालन गरेर पठनपाठन कार्य अगाडि बढेको छ’, उनले भने, ‘भानुका विद्यालयका अधिकांश प्रधानाध्यापकहरु विद्यालयमा उपस्थित हुनुभएको छ र विद्यालयको आन्तरिक काममा खट्टिनु भई पठनपाठन कार्यलाई अगाडि बढाउँदै लग्नु भएको छ । शिक्षकहरु आन्दोलनमा जाने आउने काम भएको छ भने पठनपाठन कार्यलाई पनि अगाडि बढाउँदै लगिएको छ ।’
शिक्षकहरु आफ्नो पेसागत हकहितका लागि भन्दै यतिबेला देशभरका शिक्षकहरु काठमाडौं केन्द्रित भएर आन्दोलन गरिरहेका छन् । सरकार भने यति संवेदनशील विषयप्रति गम्भीर नदेखिएको शिक्षकहरुले बताउँदै आएका छन् ।
तनहुँका पालिकाहरुले विद्यालयको पठनपाठन नियमत गराउन अनुरोध गर्दै आएका छन्। व्यास, आँवुखैरेनी, भानु, बन्दीपुर लगायतका पालिकाहरुले सार्वजनिक सूचना जारी गरी नियमित रुपमा पठनपाठनलाई अगाडि बढाउन शिक्षकहरुलाई आग्रह गरेका छन् ।
यस्तै, आँबुखैरेनी गाउँपालिकाको रामशाह माध्यमिक विद्यालय, मित्रता माध्यमिक विद्यालयले सोमबार एक सूचना जारी गरी मंगलबारदेखि नियमित पठनपाठन सुरु हुने जनाएका छन् । लामो समयदेखि विद्यालय बन्द हुँदा पठनपाठन प्रभावित भएकाले विद्यालयले भोलिदेखि विद्यालय खोलेर नियमित पठनपाठन सुरु गर्न लागेको जनाएका छन् ।
कुनै न कुनै रुपमा तनहुँका अधिकांश ठूला विद्यालयहरु सञ्चालन भइसकेको, आँबुखैरेनी गाउँपालिकाको अनुरोध र अभिभावक तथा विद्यार्थीको मागलाई ध्यानमा राखेर पठनपाठन सुचारु गर्न लागिएको रामशाह माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रेमराज लामिछानेले जानकारी दिए ।
विद्यालयले नेपाल शिक्षक महासंघको आव्हानमा जारी आन्दोलनको स्वरुप फेर्न पनि आग्रह गरेको छ । लामिछानेले भने, ‘चैत २० गतेदेखि जारी आन्दोलन तथा चैत २५ गतेदेखिको आम हड्ताललाई नैतिक तथा भौतिक समर्थन गर्दै आजसम्म पनि विद्यालयको दह्रो उपस्थिति रहेको छ । तर अब विद्यालय खोलेर पठनपाठनलाई सुचारु गर्नुको विकल्प देखिएन ।’
यस्तै, व्यास नगरपालिकाका केही सामुदायिक विद्यालयले पनि सोमबारबाट पठनपाठन सञ्चालन गरेका छन् । दमौलीको सत्यवती माध्यमिक विद्यालय, बालमन्दिर माध्यमिक, जलदेवी माध्यमिक विद्यालयले सोमबारबाट कक्षा सञ्चालन गरेको नगर शिक्षा अधिकारी केदार आचार्यले जानकारी गराएका छन् ।
व्यास नगरपालिकाले आईतबारबाट विद्यालय सञ्चालन गर्न अनुरोध गरेको थियो । नगरपालिकाले विद्यालय सञ्चालन गर्न गरेको अनुरोधलाई पालना नगर्ने विद्यालयका प्रधानाध्यापकहरुलाई नियमअनुसार कारवाही हुने नगरपालिकाले जनाएको छ ।
यस्तै, आबुँखैरेनी गाउँपालिकाले पनि आइतबारबाट विद्यालयमा पठन पाठन सुरु गर्न आग्रह गरेको थियो । गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले विज्ञप्ति जारी गरी नियमित रुपमा विद्यालय सूचारु गर्न, गराउनु हुन सम्वन्धित सबै विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक तथा शिक्षकहरुमा अनुरोध गरेका थिए ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker