व्यास बचत सहकारीद्वारा कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सञ्चालन
भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको दमौली स्थित व्यास बचत तथा ऋण सहकारी संस्थाले आठौ कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सञ्चालन गरेको छ । गण्डकी प्रदेशका विभिन्न १० वटा साकोसहरुको सहभागितामा शुक्रबार दमौलीमा कार्यशाला सञ्चालन गरिएको हो ।
नेफस्कुनको प्राविधिक सहयोग रहेको कार्यशालामा सहकारीका चुनौति र समस्याका बारेमा छलफल गरी सहकारी सञ्चालनका विषयमा प्रशिक्षण दिइएको छ । कार्यशालाले नियम अनुसार सहकारी सञ्चालनका लागि सहयोग पुग्ने व्यास बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष प्रदीपराज अधिकारीले बताए ।
उक्त कार्यशालाको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले उद्घाटन गर्दै सहकारी संस्थाले विश्वसनीयता कायम गर्न सक्नुपर्ने बताए । उनले केही सहकारीका कारण सहकारी क्षेत्र नै बदनाम हुने स्थिति आएकाले प्रतिष्ठामा आँच नआउने गरी काम गर्न सुझाव दिए।
प्रमख न्यौपानले परिवारको कुनै न कुनै सदस्य सहकारीमा आबद्ध रहेकाले बचतकर्ताको बचत सुरक्षित बनाउन, साना बचतकर्ताको संरक्षणमा ध्यान दिनुपर्नेमा जोड दिए । कार्यक्रममा सहकारीका पूर्व अध्यक्ष वंशीकुमार श्रेष्ठ, उपाध्यक्ष प्रेमप्रसाद पौडेलले सहकारी क्षेत्रका बारेमा धारणा राखेका थिए ।
कार्याशालामा रोयल साकोस तनहुँ, जयमनकामना साकोस कास्की, लेखनाथ साकोस कास्की, हाम्रो साकोस तनहुँ, गोल्डेन साकोस कास्की, गाउँ बेसी साकोस स्याङजा, कृषक जागरण साकोस लमजुङ, पश्चिम नेपाल साकोस म्याग्दी, प्राइम साकोस कास्की, व्यास साकोस तनहुँको सहभागिता रहेको थियो ।










