भिमाद नगरपालिकामा स्वास्थ्य सेवा : चुनौतीका बीच सेवा विस्तार, बजेट सीमित

स्वास्थ्यलाई प्राथमिकता दिएपनि संरचनागत समस्या झेल्नुपरेको छ : नगरप्रमुख सुवेदी

दधिराज सुवेदी
नगरप्रमुख : भिमाद नगरपालिका
तनहुँको भिमाद नगरपालिकाका नगरप्रमुख दधिराज सुवेदी स्थानीय तहमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिने भनिए पनि व्यवहारमा अझै पर्याप्त प्राथमिकता दिन नसकिएको स्वीकार गरेका छन्। उनले भने, ‘हामीले भाषणमा शिक्षा–स्वास्थ्यलाई प्राथमिकता भन्छौँ, तर योजना बनाउँदा, बजेट छुट्याउँदा र कार्यान्वयनमा अझै त्यसअनुसार काम गर्न सकेका छैनौँ ।’
सरकारले हटाउन भनेको सामुदायिक स्वास्थ्य केन्द्रसमेत स्थानीय आवश्यकतालाई मध्यनजर गर्दै नगरपालिकाले कायम राखेको उनले बताउँदै नगरप्रमुख सुवेदीले भने, ‘जनताले पाइरहेको सेवा किन हटाउने ? भन्ने सोचेर आफ्नै स्रोतबाट खर्च गरेर पनि सेवा निरन्तरता दिएका छौँ ।’ उनका अनुसार दरबन्दी अभाव हुँदा निजी स्रोतबाट स्वास्थ्यकर्मी राखेर सेवा सञ्चालन गरिएको छ ।
यस्तै, भिमाद प्राथमिक स्वास्थ्य सेवा केन्द्रलाई नगर अस्पताल बनाउने लक्ष्य भए पनि भवन निर्माणमा ढिलाइले सेवा विस्तार प्रभावित भएको उनले बताए । नगरप्रमुख सुवेदीले भने, ‘ठेकेदारले काम नगर्दा भवन निर्माण रोकिएको छ, तर अब म्याद थप नगरी आवश्यक कारबाही गर्दै छिट्टै नगर अस्पताल सञ्चालनमा ल्याउने तयारीमा छौँ ।’
उनले नजिकै रहेको जी.पी. कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रलाई समेत सहयोग गर्दै डायलाइसिस सेवा विस्तारमा आर्थिक योगदान गरिएको बताउँदै भिमादमा रहेको प्राथमिक स्वस्थ्य केन्द्रले भिमादसंगै छिमेकि घिरिङ, ऋषिङ गाउँपालिकाका साथै स्याङजाका केही पालिकाका सर्वसाधारण समेत स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको जानकारी गराए ।
नगरपालिकाले मानसिक रोगी, अपाङ्गता भएका व्यक्ति तथा विपन्न परिवारका लागि स्वास्थ्य बिमा, निःशुल्क औषधि र शिविरमार्फत उपचार व्यवस्था गरेको जनाएको छ । ज्येष्ठ नागरिकका लागि निःशुल्क एम्बुलेन्स सेवा, सुत्केरी महिलाका लागि यातायात खर्च व्यवस्थापन लगायतका कार्यक्रम सञ्चालनमा छन् । नगरप्रमुख सुवेदीले भने, ‘गरिब भएकै कारण वा टाढा भएकै कारण स्वास्थ्य उपचार पाउनबाट बञ्चित हुन नपरोस भनि स्वास्थ्य शिविर तथा स्वास्थ्यकर्मी टोलटोलमा खटाएर उपचार तथा परीक्षण सेवा उपलब्ध गराउँदै आइको छ ।’
नगरप्रमुख सुवेदीका अनुसार भिमादमा सबैभन्दा ठूलो स्वास्थ्य समस्या नसर्ने रोग (मधुमेह, उच्च रक्तचाप आदि) बनेको छ । उनले भने, ‘सुविधा बढेसँगै खानपान र जीवनशैली बिग्रँदा नसर्ने रोग भुषको आगो जस्तै बढ्दै गएको छ ।’
यसका लागि नगरपालिकाले स्वास्थ्य शिविर, योग अभ्यास, फिजियोथेरापी तथा जनचेतना कार्यक्रम सञ्चालन गर्दै आएको छ । स्वस्थवद्र्धक खानपिनमा जोड दिनका लागि नगरपालिकाले स्थानीय उत्पादनको उपभोग प्रवद्र्धन, दूधमा मिसावट नियन्त्रण तथा पोषणसम्बन्धी तालिमलाई समेत जोड दिइएको छ ।
नगरपालिकाले विपद् व्यवस्थापन, महामारी नियन्त्रण, पोषण सुधार, स्वास्थ्य बिमा विस्तार, मानसिक स्वास्थ्य सेवा, आयुर्वेद तथा योग कार्यक्रमलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम अघि सारेको छ ।
भिमाद प्राथमिक स्वास्थ्य केन्द्रलाई नगर अस्पतालमा स्तरोन्नति गर्ने, ल्याब तथा एक्स–रे सेवा विस्तार गर्ने, सबै स्वास्थ्य संस्थामा डिजिटल प्रणाली लागू गर्ने योजना रहेको नगरपालिकाले जनाएको छ । ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण, नसर्ने रोग स्क्रिनिङ, मुख स्वास्थ्य कार्यक्रम तथा विद्यालयस्तरमा स्वास्थ्य शिक्षा अभियान सञ्चालन गरिने जनाइएको छ ।
नगरप्रमुख सुवेदीले संघ, प्रदेश र स्थानीय तहबीच समन्वय अभावका कारण काममा अवरोध हुने गरेको गुनासो गरे । उनले भने, ‘कहिले दरबन्दी घटाउने, कहिले कर्मचारी हटाउने परिपत्र आउँछ, यसले सेवा प्रभावित हुने गरेको छ ।’ उनले समानीकरण अनुदान बढाएर स्थानीय तहलाई शिक्षा र स्वास्थ्य क्षेत्रमा स्वतन्त्र रूपमा काम गर्न दिनुपर्नेमा जोड दिए ।
सुनिता धरेल : स्वास्थ्य शाखा प्रमुख
भिमाद नगरपालिकामा स्वास्थ्य सेवा विस्तारका प्रयास भइरहे पनि बजेट सीमितता, जनशक्ति व्यवस्थापन र भौगोलिक जटिलताले चुनौती कायम रहेको स्वास्थ्य शाखा प्रमुख सुनिता धरेलले बताइन। उनका अनुसार चालु आर्थिक वर्ष २०८१/०८२ मा नगरपालिकाले स्वास्थ्य क्षेत्रमा ९२ लाख ९५ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ, जुन कुल बजेटको ५.१३ प्रतिशत मात्रै हो ।
नगरपालिकामा हाल १ प्राथमिक स्वास्थ्य सेवा केन्द्र, ४ स्वास्थ्य चौकी, ४ आधारभूत स्वास्थ्य सेवा केन्द्र र ३ सामुदायिक स्वास्थ्य इकाइ गरी १२ वटा स्वास्थ्य संस्था सञ्चालनमा छन् । तीमध्ये ५ वटा संस्थाबाट २४ घण्टा सेवा उपलब्ध रहेको छ भने ५ स्थानमा प्रसूति सेवा सञ्चालनमा रहेको स्वास्थ्य शाखाले जनायो ।
यस्तै, भिमाद प्राथमिक स्वास्थ्य सेवा केन्द्रसहित ३ संस्थामा प्रयोगशाला सेवा उपलब्ध छ भने एक्स–रे सेवा भने एक स्थानमा मात्रै सीमित रहेको छ । नगरपालिकामा हालसम्म विशेषज्ञ चिकित्सकको अभाव रहेको छ । स्वास्थ्य शाखा प्रमुख धरेलका अनुसार स्वास्थ्य क्षेत्रमा दरबन्दीका ३४ जना अन्य पालिकाको नीति स्रोतबाट गरी ६४ जना कार्यरत रहेका छन् । दुर्गम क्षेत्रमा जनशक्ति टिकाउन कामकाज सरुवा, प्रोत्साहन तथा तालिम व्यवस्थापन जस्ता उपाय अपनाइएको स्वास्थ्य शाखाले जनायो ।
नगरपालिकमा संस्थागत सुत्केरी दर १५.०७ प्रतिशत रहेको छ, जुन अझै न्यून मानिन्छ । यद्यपि पूर्ण खोप कार्यक्रमअन्तर्गत २ वर्षमुनिका १२७ जना बालबालिकाले पूर्ण खोप प्राप्त गरेका छन् । कुपोषण नियन्त्रणका लागि वडा तहमा बहुक्षेत्रीय पोषण कार्यक्रम, जनचेतनामूलक अभियान र स्थानीय उत्पादन प्रवर्द्धनका कार्यक्रम सञ्चालन भइरहेको बताइएको छ ।
यस्तै, नगर क्षेत्रमा उच्च रक्तचाप, मधुमेह, ग्यास्ट्राइटिस, श्वासप्रश्वास संक्रमण, सीओपीडी, मांसपेशी दुखाइ लगायतका रोगहरू प्रमुख रूपमा देखिएका छन्। ती रोग नियन्त्रणका लागि स्क्रिनिङ, जनचेतना, परामर्श तथा स्वस्थ जीवनशैली प्रवद्र्धनका कार्यक्रम सञ्चालन गरिएका छन्। मानसिक स्वास्थ्य सेवा पनि उपलब्ध रहेको र मनोसामाजिक परामर्श, शिविर तथा निःशुल्क औषधि वितरणमार्फत सेवा प्रदान भइरहेका छन् ।
नगरपालिकामा एक वटा एम्बुलेन्स रहेको छ, जसलाई आवश्यकता अनुसार परिचालन गरिँदै आएको छ । गर्भवती तथा सुत्केरी महिलाका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा रहेको छ । जटिल बिरामीलाई जी.पी. कोइराला श्वासप्रश्वास उपचार केन्द्र, शुक्लागण्डकी तथा पोखरा लगायतका अस्पतालमा प्रेषण गरिन्छ ।
नगरपालिकाले पछिल्ला वर्षहरूमा आँखा शिविरमार्फत ५६६ जनालाई सेवा दिँदै ३६ जनाको निःशुल्क शल्यक्रिया गरेको छ । मानसिक स्वास्थ्य शिविरबाट ३६ जनाले उपचार पाएका छन्। निःशुल्क एम्बुलेन्स सेवाले घरमै सुत्केरी हुने दर घटाउन सहयोग पुगेको स्वास्थ्य शाखा प्रमुख धरेलले बताइन् । उनले भनिन्, ‘आफ्नै स्वास्थ्य ड्यासबोर्ड सञ्चालनमा ल्याई तथ्याङ्क व्यवस्थापनलाई व्यवस्थित बनाइएको छ भने पोषण कार्यक्रममा सुधार आएको छ ।’
स्वास्थ्य क्षेत्रमा वास्तविक जनसंख्या र तथ्याङ्कबीच अन्तर, बसाइँसराइ, दुर्गम भौगोलिक अवस्था, कर्मचारी सरुवा तथा समन्वय अभाव प्रमुख चुनौतीका रूपमा रहेका छन्। दुर्गम क्षेत्रका बिरामीले स्वास्थ्य संस्थासम्म पुग्न समय लाग्ने, प्रयोगशाला तथा विशेषज्ञ सेवाको अभाव भोग्नुपर्ने चुनौतीहरु रहेको जनाइएको छ ।
नगरपालिकाले सेवाग्राही सन्तुष्टि मौखिक अन्तर्वार्तामार्फत मापन गर्दै आएको र प्रतिक्रिया सन्तोषजनक रहेको जनाएको छ । स्वास्थ्य संस्थाहरूमा गुनासो पेटिका राखी व्यवस्थापन समितिमा छलफल गर्ने अभ्यास गरिएको छ । स्वास्थ्य सेवा सुधारका लागि दैनिकदेखि वार्षिक कार्ययोजना निर्माण, नियमित अनुगमन, बहुक्षेत्रीय समन्वय तथा समस्या समाधानमा जोड दिइने नगरपालिकाले जनाएको छ।
भिमाद नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई पोषण, सुरक्षित मातृत्व, खोप, प्रजनन् स्वास्थ्य, नसर्ने रोग तथा मानसिक स्वास्थ्यका क्षेत्रमा प्राथमिकता दिएको छ। संरचनागत समस्या, जनशक्ति अभाव र नीतिगत जटिलताले अपेक्षित उपलब्धि हासिल गर्न चुनौती थपिएको छ । यद्यपि सीमित स्रोतसाधनका बाबजुद सेवा विस्तारको प्रयास भइरहेको भए पनि गुणस्तर सुधार र पहुँच विस्तारका लागि संघ र प्रदेश सरकारसँग थप सहयोग र समन्वय आवश्यक देखिएको छ ।
(भञ्ज्याङ प्रकाशनको ४५औं वर्ष प्रवेशका अवसरमा २०८३ वैशाख १ गते प्रकाशित विशेषाङ्कमा प्रकाशन)
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker