कांग्रेसमा समानुपातिकमा निर्वाचित व्यक्ति पुनःसमानुपातिकमै उम्मेदवार बन्न नपाउने

नेपाली कांग्रेसमा २०७४ सालको निर्वाचनमा प्रतिनिधिसभा र प्रदेशसभा समानुपातिक निर्वाचन प्रणालीतर्फबाट निर्वाचित व्यक्ति पुनः समानुपातिकको उम्मेदवार हुन नपाउने भएका छन् ।

कांग्रेसको विधानको धारा ३३ (२) मा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा पार्टीकोतर्फबाट समानुपातिक आधारमा यस अगाडि निर्वाचित भएको व्यक्ति समानुपातिक आधारमा पुनःप्रतिनिधिसभा र प्रदेशसभाको सदस्य पदमा पार्टीकोतर्फबाट उम्मेदवार हुन नपाउने व्यवस्था छ ।

त्यस्ता व्यक्ति प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फ उम्मेदवार हुनसक्ने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा आज बसेको कांग्रेस केन्द्रीय संसदीय समितिको बैठकले कांग्रेसकोतर्फबाट प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७९ को समानुपातिकतर्फका उम्मेदवारको चयनका लागि आधार र मापदण्ड तय गरेको छ ।

यसैगरी बैठकले गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा कुनै पनि पदमा उम्मेदवार भएको व्यक्ति प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फको उम्मेदवार बन्न नपाउने निर्णय गरेको छ । उम्मदेवार चयन गर्दा पार्टीको विभिन्न तहबाट विधानबमोजिम उम्मेदवारका लागि भएको सिफारिस, व्यक्तिको योग्यता, नैतिकता, कार्यक्षमता, लोकतान्त्रिक आन्दोलनमा पु¥याएको योगदान, पार्टीको विभिन्न तह र क्षेत्रमा गरेको योगदानका साथै पार्टीलाई लोकप्रिय मत थप गर्नसक्ने आधारलाई समेत विशेष ध्यान दिइने बैठकको निर्णय छ ।

कांग्रेसको विधानको धारा ३३ (३) मा उल्लेखित आधारलाई ध्यान दिँदै प्रतिनिधिसभा निर्वाचन क्षेत्र र प्रदेशसभा निर्वाचन क्षेत्र दुवैमा समानुपातिकतर्फको उम्मेदवारको निर्णय गर्दा सम्बन्धित प्रत्येक निर्वाचन क्षेत्रबाट न्यूनतम् एक जना उम्मेदवार दिने बैठकले निर्णय गरेको छ । उम्मेदवार छनोट गर्दा संविधानको धारा ८४ र धारा १७६ तथा सङ्घीय कानूनले निर्दिष्ट गरेको जातीय, लैङ्गिक समावेशिताका साथ भौगोलिक तथा प्रादेशिक सन्तुलन, उमेर समूहको सन्तुलनकोसमेत ख्याल गरिने मुख्यसचिव पौडेलले बताउनुभयो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker