तनहुँमा १४५ जना निको भएसंगै ३८ जना कोरोना संक्रमित थपिए
भञ्ज्याङ न्यूज

तनहुँमा शुक्रबार १४५ जना कोरोना भाइरस संक्रमित निको भएका छन् । वैशाख महिना यता संक्रमित मध्ये हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ८१६ जना पुगेको स्वास्थ्य कार्यालय तनहुँले र्सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कमा उल्लेख गरिएको छ ।
यस्तै, जिल्लामा शुक्रबार ३८ जनामा संक्रमण पुष्टि भएको छ । समुदायस्तरमै संक्रमण फैलिएपछि स्वास्थ्य कार्यालय तनहुँले गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालय र स्थानीय पालिकाहरुको समन्वयमा एन्टिजेन र पीसीआरबाट कोरोना परीक्षणको दायारालाई बढाउँदै लगेको छ ।
स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार तनहुँमा वैशाख महिना यता ३ हजार ५३२ जनाको पीसीआर र ८८२ जनाको एन्टिजेन प्रविधिबाट गरिएको कोरोना परीक्षणमा २ हजार ७७ जनामा संक्रमण पुष्टि भएको छ ।
संक्रमित मध्ये शुक्रबारसम्म ६ जनाको एचडियूमा, २ जनाको आइसियूमा र ७६ जना संस्थागत आइसोलेशनमा उपचाररत छन् भने १ हजार १२० जना होम आइसोलेशनमा बसेको कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
यस्तै, तनहुँमा वैशाख महिना यता कोरोना संक्रमणका कारण ५९ जनाको मृत्यु भएको छ । मृतक मध्ये ७ जनाको जिल्लामै र अन्यको जिल्ला बाहिरका अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताइएको छ ।