तनहुँमा अब विकासले काचुली फेर्नेछ : नेता पौडेल
भञ्ज्याङ न्यूज

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँमा अब विकासले काचुली फेर्ने बताएका छन् । दमौलीमा आयोजित फुटबल प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै उनले विभिन्न अवरोध र जटिलताका कारण जिल्लाको विकासले गति लिन नसकेको हुँदा अबका दिनमा विकासले काचुली फेर्ने दाबी गरे ।
व्यास युवा क्लबद्वारा आयोजित तेस्रो व्यास कपको समापनमा नेता पौडेलले जिल्लामा राष्ट्रियस्तरको परियोजन तयार भइरहेकाले अब तनहुँको विकासले काचुली फेर्ने बताए । ‘जिल्लाको धेरै ठाउँमा खेलकुद मैदान बनिसकेको र अब फुटबल, भलिवल, किर्केट लगायतको मैदान निर्माण गर्न गइरहेका छौ’, उनले भने, ‘अब मेरै पहलमा एक वर्षभित्र दमौलीमा सुविधासम्पन्न रङ्गशाला निर्माण हुन्छ ।’
‘विकास भनेको बाटो, स्कुल, पानी मात्र होइन’, उनले भने, ‘विकास भनेको खेलकुद संस्कृति हाम्रो चौतर्फी परिवर्तन हुनु पर्दछ । जिल्लाका सबै ठाउँमा सडक पुर्याएको र अब सबै ठाउँमा कालोपत्रे हुन्छ ।’
उक्त कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने, प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल लगायतले खेल क्षेत्रको महत्व र विकासका विषयमा आ-आफ्ना विचार व्यक्त गरेका थिए ।










