उखु र बोडी खेतीबाट कृषकलाई आत्मनिर्भरतातर्फ अगाडि बढाउँदै भानु नगरपालिका

भानु : तनहुँको भानु नगरपालिकाले किसानको समस्या बुझ्ने र समाधान खोज्ने उद्देश्यसहित घरदैलोमै पुग्ने कार्यक्रम सुरु गरेको छ । प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीको नेतृत्वमा सुरु भएको कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि र प्राविधिक टोलीले कृषकको खेतबारीमै पुगेर अवस्था अवलोकन गर्न थालेका छन् ।
यसै क्रममा वडा नं. ४ का कृषकको फर्ममा पुगेको टोलीले गाउँमै आत्मनिर्भर बन्न सक्ने सम्भावना प्रत्यक्ष देखेको बताएको छ । खेतमा पसिनामै रमाइरहेका किसानको अनुहारमा देखिएको आत्मविश्वास र मेहनतले टोलीलाई प्रभावित बनाएको टोलीले बताएको छ ।
टोलीलाई उखु कृषक सरस्वती न्यौपानेले भनिन्, “उखु खेती गर्दै छु, यही उखु पेलेर खुदो बनाउँछु । यसपालि मात्रै करिब पाँच लाख रुपैयाँको खुदो बिक्री भयो ।”
कृषक न्यौपानेले खेतमै लगाएको बोडी (फर्सीको टप्परी) स्थानीय हाटबजारमा पु¥याएर करिब २० हजार रुपैयाँ आम्दानी गरेको पनि सुनाए ।
कृषकको यो सशक्त उदाहरणले गाउँमै रोजगारी र आम्दानीको अवसर सिर्जना गर्न सकिने देखाएको भन्दै प्रमुख प्रशासकीय अधिकृत भण्डारीले भने, ‘हामी किसानको पीडा बुझ्न, समस्या समाधान गर्न र उनीहरूको क्षमता उजागर गर्न घरमै पुग्ने प्रयास गर्दैछौं । सही परामर्श, निरन्तर अनुगमन र स्थानीय समाधान उपलब्ध भए कृषक आत्मनिर्भर बन्न सक्छन् ।’
नगरपालिकाले कृषिलाई प्राथमिकता दिँदै व्यवसायिक उत्पादनतर्फ किसानलाई प्रोत्साहित गर्ने नीतिगत पहल अघि बढाएको नगरपालिकाका कृषि प्राविधिक तिलक कटेलले बताए । उनका अनुसार कृषकलाई आवश्यक प्राविधिक सहयोग, कृषि सामग्री र बजार व्यवस्थापनको समन्वय गर्दै लैजाने तयारी गरिएको छ ।
कृषकले देखाएको आम्दानीको उदाहरणले गाउँभित्रै ठूलो सम्भावना रहेको संकेत गरेको छ। कृषक न्यौपाने भन्छिन्, “हामीले गाउँमै यस्तो सफल किसान देख्दा अन्य कृषकलाई पनि थप आत्मविश्वास मिल्छ । अझै धेरै किसानलाई प्राविधिक सहयोग र सहज पहुँच उपलब्ध गराउन सके गाउँमै आत्मनिर्भर बन्न सकिन्छ ।”
यस्तै, भानु नगरपालिकाले किसानलाई आत्मनिर्भर बनाउन ‘घरदैलोमा पुग्ने’ अभियानलाई निरन्तरता दिने जनाएको छ । नगरपालिकाले कृषकको उत्पादनलाई बजारसम्म पु¥याउन आवश्यक पूर्वाधार निर्माण र समन्वय गर्ने योजनासमेत अघि सारेको छ । “यो केवल एक किसानको कथा होइन, यो त गाउँगाउँमा लुकेका सम्भावनाको प्रतिनिधि हो,” प्रमुख प्रशासकीय अधिकृत भण्डारीले भने, “नगरपालिकाको उद्देश्य त्यस्ता सम्भावना उजागर गर्ने, सहारा दिने र गाउँलाई आत्मनिर्भर बनाउने हो ।”
उखु र बोडी खेतीमार्फत लाखौं रुपैयाँ आम्दानी गरेका कृषकको उदाहरणले स्पष्ट गरेको छ– गाउँमा परिश्रम गर्ने हात र दृढ संकल्प हुने मन भए अवसर अपार छन् । भानु नगरपालिकाले थालेको यो पहल किसानको जीवनस्तर उकास्ने मात्र होइन, गाउँलाई आत्मनिर्भर बनाउन सहयोगी हुनेछ भन्ने अपेक्षा गरिएको छ ।










