तनहुँमा डेंगी संक्रमितको संख्या १ हजार नाघ्यो, आँवुखैरेनी डेंगी संक्रमणको हटस्पट बन्यो

दमौली । तनहुँमो डेंगी संक्रमितिको संख्या एक हजार नाघेको छ । स्वास्थ्य कार्यालय तनहुँले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार डेंगी संक्रमितको संख्या १ हजार ८२ पुगेको छ ।
स्वास्थ्य कार्यालयका अनुसार जिल्लाको आँवुखैरेनी गाउँपालिकमा सबै भन्दा बढी संक्रमित भेटिएका छन् । कार्यालयका अनुसार जिल्लाका छ पालिकामा डेंगी संक्रमित भेटिएका छन् ।
स्वास्थ्य कार्यालयले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार आँबुखैरेनी गाउँपालिकामा ८१३ जनामा संक्रमण पुष्टि भएको छ । जिल्लाका छ वटा पालिकामा संक्रमित हुनेको संख्या १ हजार ८२ पुगेको छ । एडिस जातको लामखुट्टेको टोकाइबाट डेंगी सर्ने भएकाले कार्यालयले लामखुट्टेको टोकाईबाट सुरक्षित हुन आग्रह गरेको छ ।
स्वास्थ्य कार्यालय तनहुँका सूचना अधिकृत सुदिप कँडेलका अनुसार आँबुखैरेनीपछि शुक्लागण्डकी नगरपालिकामा १२० जनामा संक्रमण पुष्टि भएको छ । सदरमुकाम दमौली रहेको ब्यास नगरपालिकामा ८७ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै बन्दीपुर गाउँपालिकामा ५१, म्याग्दे गाउँपालिकमा ७ र भीमाद नगरपालिकामा ४ जनामा संक्रमण पुष्टि भएको कुवँरले जानकारी गराइन् ।
कँडेल भने, ‘सबैभन्दा बढी आँबुखैरेनीमा संक्रमण फैलिएको छ । संक्रमितको संख्या दिनहूँ थपिएका छन् ।’ अघिल्लो वर्ष सदरमुकाम दमौलीलाई डेंगी संक्रमणले अत्याएको थियो । उनले भने, ‘नियन्त्रणका लागि स्थानीयतहमा प्रयास भएका छन् । जनचेतना जगाउनेदेखि संक्रमितको उपचारमा सहजीकरण गर्नेसम्मका काम भएका छन ।’ तनहुँमा गत असार १ गतेपछि संक्रमित देखिन थालेका हुने ।
आँबुखैरेनी गाउँपालिकामा संक्रमितको संख्या दैनिक बढ्दै गएपछि बिरामीको निःशुल्क उपचार थालेको छ । १५ शैय्याको आँबुखैरेनी अस्पतालमा बिरामीको भीडभाड बढेर बेड नपुगेपछि अस्पतालभित्रको खालि ठाउँमा पनि बिरामी राखेर उपचार गरिएको छ ।
अस्पतालभित्र भए जतिको खालि ठाउँमा बेड राखेर बिरामीको उपचार गरिरहेको अस्पतालले जनाएको छ । अहिले पनि करिब ५० जनाको अस्पतालमा उपचार भईरहेको छ । बरन्डामा राखेर समेत उपचार गर्न पर्ने अवस्था आएको र बिरामीको चाप थेग्न हम्मेहम्मे भएको अस्पतालले जनाएको छ ।
संक्रमणलाई कम गर्न गाउँमा सरसफाइदेखि विभिन्न सचेतनामुलक कार्यक्रमलाई गाउँपालिकाले अगाडि बढाएको छ । पानी जम्ने खाडल पुर्न र झाडि सफा गर्न थालिएको छ । अहिले आँवुखैरेनी डेंगी संक्रमणको हटस्पट बनेको छ आँवुखैरेनी अस्पतालले जनाएको छ ।
चिकित्सकका अनुसार एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा डेंगी सर्छ । यो लामखुट्टेले दिनको समयमा मात्र टोक्छ । यो लामखुट्टे फैलिनका लागि २० देखि ३० डिग्री सेन्टिग्रेड तापक्रम उपयुक्त मानिन्छ । फूलबारी, गमला, एसी, फ्रिज, छत, कौसीको पानी जम्ने ठाउँमा यस्तो लामखुट्टेले फुल पार्ने र त्यो फुल एकवर्षसम्म पनि रहन सक्ने भएकोले सधैंभरी जोखिम रहने स्वास्थ्यकर्मीको भनाई छ ।
डेंगी फैलाउने यो लामखुट्टेले सफा पानी जमेको ठाउँमा मात्र फुल पार्ने गर्छ । खासगरि वर्षाको पानी जम्ने भाडाकुँडा, टिनका बट्टा, पुराना टायर, खालि ड्रम, फूलदानी, गमला, पानी ट्यांकी लगायतका भाडामा फुल पार्छ । त्यसैले वर्षातको पानी जम्ने सिजनमा यो रोग फैलिने गरेको चिकित्सकले बताएका छन् ।
चिकित्सकका अनुसार डेंगी संक्रमण भएपनि उच्च ज्वरो आउने, जिउ, जोर्नी र हाड दुख्ने गर्छ । त्यस्तै आँखाको गेडी वरिपरि दुख्ने, वाकवाकि लाग्ने, वान्ता हुने, खान मन नलाग्ने, छालामा रगत जमेको धब्बा देखिने, नाक, गिजा, तथा शरीरका अन्य अंगबाट रगत बग्ने सम्भावना रहेको चिकित्सकले बताएका छन् ।