पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ तनहुको अध्यक्षमा न्यौपाने

दमौली : नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा तनहुँको ११औँ वार्षिक साधारणसभा तथा छैटौँ अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ ।
अधिवेशनले पुस्तक व्यवसायी एवं संस्थाका प्रथम उपाध्यक्ष रामकृष्ण न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो । समितिको प्रथम उपाध्यक्षमा हरिबहादुर कार्की, द्वितीय उपाध्यक्षमा पवित्रा खनाल, सचिवमा कमल, कोषाध्यक्षमा सुरज बुढाथोकी र सह–सचिवमा अजय श्रेष्ठ चयन भएका छन् भने सदस्यहरूमा शरद गैह्रे, सावित्रा रानाभाट, सृजना अधिकारी, पम्फा वाग्ले र गायत्री पुडासैनी चयन भएको बताइएको छ ।
संस्थाका अध्यक्ष रापचन्द्र सापकोटाको सभापतित्वमा आयोजित कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री हरिबहादुर चुमानले पुस्तक तथा स्टेशनरी व्यवसायलाई ज्ञान, शिक्षा र समाज निर्माणसँग जोडिएको महत्वपूर्ण क्षेत्रको रूपमा उल्लेख गर्दै यसको संरक्षण र प्रवर्द्धनमा राज्यको सक्रिय भूमिका आवश्यक रहेको बताए ।
कार्यक्रममा संस्थाका गण्डकी प्रदेश अध्यक्ष कृष्णप्रसाद पोखेल, केन्द्रीय कोषाध्यक्ष ताराराम श्रेष्ठ, गण्डकी प्रदेशका संस्थापक अध्यक्ष दुर्गाकुमार श्रेष्ठ लगायतले शुभकामना व्यक्त गर्दै पुस्तकमैत्री नीति निर्माण र व्यवसायीको व्यावसायिक सुरक्षामा जोड दिएका थिए ।
अधिवेशनका अवसरमा तनहुँका अग्रज पुस्तक व्यवसायीहरू पूर्णकुमार श्रेष्ठ, दामोदर मिश्र र सूर्यकुमार श्रेष्ठलाई सम्मानपत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।










