गण्डकीमा क्षेत्रफलसंगै सुन्ताला उत्पादन बढ्यो

भञ्ज्याङ समाचारदाता/गण्डकी

गण्डकी प्रदेशका किसानले यस वर्ष ५४ हजार २२८ मेटि्रक टन सुन्तला फलाएका छन् । जुन गत वर्षको तुलनामा एक हजार ८९७ मेटि्रक टनले बढी हो । प्रदेशको कृषि विकास निर्देशनालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७९/८० मा ५२ हजार ३३१ मेटि्रक टन सुन्तला फलेको थियो । आव २०७८/०७९ माजम्मा ५० हजार ८५० मेटि्रक टन उत्पादन भएको थियो ।
सुन्तला खेतीको क्षेत्रफल विस्तारसँगै पछिल्लो तीन वर्षयता सुन्तलाको उत्पादन लगातार वृद्धि भएको निर्देशनालयका प्रमुख वासुदेव रेग्मीले बताउनुभयो । आव २०७८/७९ मा सात हजार ९४५ हेक्टरमा सुन्तला खेती गरिएकामा चालु आवमा सो क्षेत्रफल बढेर आठ हजार १७ हेक्टर पुगेको उहाँको भनाइ छ ।
“प्रदेशमा सुन्तला उत्पादन बढिरहेको छ, तीन वर्षअघि प्रतिहेक्टरमा ९.७८ मेटि्रक सुन्तला फलेको थियो भने यस वर्ष प्रतिहेक्टरमा १०.६५ मेटि्रक टन उत्पादन भएको छ”, प्रमुख रेग्मीले भन्नुभयो, “फल दिने नयाँ बोट थपिनु, बगैँचा व्यवस्थापन, रेखदेख, रोगकिरा नलाग्नु, अनुकूल मौसम जस्ता कारणले सुन्तलाको उत्पादन वृद्धि भएको हो ।”
निर्देशनालयका कृषि अर्थ विज्ञ शशी अधिकारीले चालु आवमा सबैभन्दा बढी स्याङ्जामा १९ हजार ९० मेटि्रक टन सुन्तला फलेको जानकारी दिनुभयो । उत्पादकत्वका दृष्टिले पनि सबैभन्दा बढी स्याङ्जामा प्रतिहेक्टर १४ दशमलव ४६ मेटि्रक टन सुन्तला फलेको उहाँको भनाइ छ । यस वर्ष सबैभन्दा कम लमजुङमा ४५० मेटि्रक सुन्तला उत्पादन छ । लमजुङमा जम्मा १३० हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुँदै आएको छ ।
गोरखामा चार हजार ९७२ दसमलव ५०, तनहुँमा ११ हजार ५१८, कास्कीमा पाँच हजार ४३५, पर्वतमा चार हजार १५, म्याग्दीमा ती हजार छ सय, बागलुङमा तीन हजार ९२० र नवलपुरमा एक हजार २२७ मेटि्रक टन सुन्तला उत्पादन भएको जनाइएको छ । गण्डकीका ११ जिल्लामध्ये हिमाली जिल्ला मुस्ताङ र मनाङमा भने सुन्तला खेती नहुने कृषि अर्थविज्ञ अधिकारीले जानकारी दिनुभयो ।
निर्देशनालयका प्रमुख रेग्मीले गण्डकी देशमै बढी सुन्तला उत्पादन गर्ने प्रदेशमा पर्ने बताउनुभयो । किसानले पाउने प्रतिकिलो रु ५५ औसत मूल्यका आधारमा यस वर्षगण्डकीमा रु दुइ अर्ब ९८ करोड, २५ लाख, ४० हजार बराबरको सुन्तला उत्पादन भएको प्रमुख रेग्मीले बताउनुभयो । सुरुसुरुमा केही कम मूल्य परे पनि पछिसम्म बोट र चिस्यान केन्द्रमा राखेर बेच्ने किसानले सुन्तलाको भाउ बढाउँदै लैजाने गरेको उहाँको भनाइ छ ।
“बजारमा आएपछि पाउने बिक्री मूल्यको त लेखाजोखा नै हुँदैन, व्यापारीले किलोलाई रु एक सयदेखि १५० सम्ममा बेच्छन्, फागुन, चैतमा मूल्य अझ बढ्छ, हामीले त सुन्तला फलाउने किसानले कति कमाए भनेर हेर्नुपर्छ”, प्रमुख रेग्मीले भन्नुभयो, “जिल्लाले पठाएको प्रतिवेदन र आँकडा विश्लेषण गर्दा गण्डकीमा वार्षिक करिब रु तीन अर्ब बराबरको सुन्तला उत्पादन हुने गरेको देखिन्छ ।”
गण्डकीमा सुन्तला विस्तार भएर आठ हजार १७ हेक्टरमा फैलिए पनि उत्पादन दिने बोटले ओगटेको क्षेत्रफल भने जम्मा पाँच हजार ९२ हेक्टर छ । सुन्तलाको उत्पादन बर्सेनि बढ्दै जाँदा किसानलाई भने बजारको चिन्ता थपिन सक्ने निर्देशनालयका प्रमुख रेग्मीले बताउनुभयो । सुन्तलामा आधारित उद्योग सञ्चालनमा राज्य र व्यावसायिक क्षेत्रले लगानी गर्नुपर्ने उहाँको भनाइ छ ।
प्रमुख रेग्मीले रोगकिराको प्रकोप, कलमी बिरुवाको अभाव, बगैंचा व्यवस्थापन, सुन्तला टिप्नेदेखि, सुरक्षित भण्डारण र ढुवानी, बजारको अभावआदि सुन्तला खेतीमा देखिने गरेका चुनौती हुन् । बोट सुकेर मर्ने रोग, औँशे किरालगायतले पनि सुन्तला खेतीमा बेलाबेलामा क्षति पुर्‍याउँदै आएको छ ।
“सुन्तला खेती प्रवर्द्धनमा किसानलाई सरकारले पनि अनुदान, सीप र प्रविधि दिएर सघाइरहेको छ”, प्रमुख रेग्मीले भन्नुभयो, “बगैँचाको रेखदेख, व्यवस्थापनमा किसान नै बढी चनाखो हुनुपर्छ, अनुदान पाए गर्ने नत्र वास्ता नगर्ने प्रवृत्ति पनि कतिपय किसानमा छ, त्यो गलत हो ।” सुन्तला खेती विस्तार र व्यवसायीकरणका लागि विभिन्न जिल्लामा सुन्तला ‘सुपर जोन’, ‘जोन’, ‘पकेट’ र ‘ब्लक’ कार्यक्रम सञ्चालित छन् । बागलुङ, पर्वत र म्याग्दीका केही स्थानीय तहलाई समेटेर ‘सुन्तला जोन’ कार्यक्रम सञ्चालन गरिएपछि पाँच सय हेक्टरभन्दा बढी क्षेत्रफमा सुन्तला खेती विस्तार भएको ‘सुन्तला जोन’ एकाइ कार्यालयले जनाएको छ ।
‘सुन्तला जोन’मा बढी सुन्तला उत्पादन हुने बागलुङको बिहुँ, सिगाना, पर्वतको बाँर्सखर्क, सालिजा, लेखफाँट, म्याग्दीको बास्कुनालगायतका गाउँ पर्छन् । स्याङ्जामा सुन्तला ‘सुपरजोन’ कार्यक्रम लागू भइरहेको छ । सुरुमा केही स्थानीय तहका सीमित वडामा मात्र सञ्चालन गरिएको उक्त कार्यक्रमलाई पछि जिल्लाभर विस्तार गरिएको हो ।
स्याङ्जाका करेनडाँडा, जैसीडाँडा, राङ्खोला, अर्जुनचौपारी लगायत गाउँ सुन्तला खेतीका लागि बढी चिनिन्छन् । तनहुँको म्याग्दे गाउँपालिका, गोरखाको सहिद लखन गाउँपालिकामा पनि सुन्तला खेती बढी हुन्छ । यहाँ उत्पादित सुन्तला पोखरालगायत प्रदेशभित्रैका सहरी क्षेत्रमा बढी खपत हुन्छ । व्यापारीले नारायणगढ, काठमाडौँलगायत ठाउँमा पनि बिक्रीका लागि पुर्‍याउँछन् ।
उत्पादन जति बढ्दा पनि बजारको अभाव नहुने र श्रमको उचित मूल्य पाउने सुनिश्चिता गर्न सके सुन्तला खेतीमा किसानको आकर्षण अझै बढ्ने निर्देशनालयका प्रमुख रेग्मीले बताउनुभयो । “नगदे बाली भएकाले सुन्तला खेतीबाट किसान सन्तुष्ट छन्, सुन्तला बेचेर वार्षिक दशौँ लाख कमाउने किसान पनि हामीकहाँ छन्”, उहाँले भन्नुभयो ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker