भानुको चन्द्रावती-पोखरीछाप सडक : ठेक्का अबधि सकियो तर, सडक कालोपत्रे भएन
नारायण खड्का/तनहुँ

तनहुँको भानु मार्ग अन्तर्गत चन्द्रावती-पोखरीछाप मोटरमार्ग विस्तार गरेको करिब ३० वर्ष बितेको छ । जिल्लाको पूर्वीउत्तर क्षेत्रका बासिन्दालाई सडक सञ्जालसंग जोड्ने लक्ष्यका साथ पृथ्वीराजमार्गको डुम्रेबाट भानु मार्ग विस्तार गरिएको थियो । यही मार्गको चन्द्रावतीबाट भानु नगरपालिकाको वडा नं. १२, १३ का ग्रामीण क्षेत्रमा कच्चि सडक पनि विस्तार गरिएका छन् ।
बिकासको पहिलो खुड्किलोको रुपमा सडकलाई लिइन्छ । ग्रामीण क्षेत्रलाई सडकसञ्जालले जोड्नका लागि खनिएका सडकको समयमै स्तरोन्नति हुन नसक्दा अहिले सर्वसाधारणले सहज रुपमा सुविधा उपभोग गर्न पाएका छैनन् । हिउँदको समयमा धुलो र वर्षायाममा हिलोको समस्या सामान्य जस्तै बनेको यो मार्ग अहिले सानो झरी पर्दा यातायातका साधान चल्न नसक्ने अवस्थामा पुगेको छ ।
चन्द्रावती-पोखरीछाप ठूलोढुंग खण्डको स्तरोन्नती तथा कालोपत्रे गर्ने काम अगाडि बढाइएपनि अहिले अलपत्र अवस्थामा छ । निर्माणपक्षले सडक कालोपत्रे, नाला निर्माण लगायतका पूर्वाधार तयार गर्न जिम्मा लिएको समय सकिएको करिब नौ महिना बितेपनि प्रगति सून्य प्रायः छ ।
२०७८ माघ १५ गतेभित्र उक्त सडक खण्डको १० किलोमिटर सडक कालोपत्रे, नाला निर्माण तथा ग्याबिङ्ग जाली भर्ने लगायतका कार्य निर्माण सम्पन्न गर्ने गरी २०७६ कात्तिक ४ गते शंकरमाली कन्ट्रक्सन काठमाडौंले ठेक्का सम्झौता गरेको पूर्वाधार विकास कार्यालय तनहुँले जनाएको छ ।
कार्यालयका इन्जिनियर धनमाया मिश्रका अनुसार निर्माण कम्पनीले उक्त सडक खण्ड निर्माणका लागि २३ करोड २ लाख ८० हजार रुपैयाँमा सम्झौता गरेको छ । गत आवसम्म भौतिक प्रगति १५ प्रतिशतको हाराहारिमा देखिएको छ । यस्तै, निर्माण पक्षले पहिलो चरणमा नियमानुसार पेश्की स्वरुप २ करोड ६८ लाख ६४ हजार १११ रुपैयाँ निकासा लिएको छ । सडक सिमाको कटिङ बाहेक अन्य संरचना निर्माणको करिब २५ लाख रुपैयाँ भुक्तानी दिन बाँकी रहेको कार्यालयले जनाएको छ ।
इन्जिनियर मिश्रले भनिन्, ‘सडक निर्माण कार्य सम्पन्न गर्ने समय अबधिभर भौतिक प्रगति १२ प्रतिशत देखिएको थियो भने ३० प्रतिशत वित्तीय प्रगति देखिन आएको थियो । निर्माण सक्नुपर्ने समयसम्म काम सम्पन्न नभएकाले गत असार ३० गतेसम्म म्याद थपिएको थियो । त्यो अवधिसम्म पनि निर्माण पक्षले कुनै काम गरेको पाइएको छैन ।’
प्रदेश सरकार अन्तरगत रहेको उक्त सडकका लागि आर्थिक वर्ष २०७८/०७९ मा ३ करोड ७० लाख रुपैयाँ बजेट विनियोजन भएपनि निर्माण पक्षको लापरवाहीका कारण हालसम्म सडक निर्माण कार्यले गतिलिन नसकेको र रकम पनि भुक्तानी नगरिएको पूर्वाधार विकास कार्यालय तनहुँले बताएको छ ।
यता सडक निर्माणको जिम्मा लिएको शंकरमाली कन्ट्रक्सनले भने आफुले कामको जिम्मा लिए लगत्तै कोभिड-१९ संक्रमण फैलिपछि मुलुक लकडाउनको अवस्थामा पुगेकाले आवश्यक मजदुर समेत पाउन नसक्दा काम अगाडि बढाउन नसकेको बताउने गरेको पूर्वाधार विकास कार्यालय तनहुँका प्रमुख दिनेश कुमार घिमिरे बताउँछन् ।
सार्वजनिक खरिद ऐनको १२औं संशोधन आएपछि एक वर्ष म्याद थपिएको बताउँदै प्रमुख घिमिरेले भने, ‘दशै अगाडि मन्त्रालयमै निर्माण व्यवसायीलाई बोलाएर बैठक बस्ता निर्माण पक्षले तिहार लगत्तै काम अगाडि बढाउने प्रतिवद्धता जनाएको छ भने २०८० असार मसान्तसम्म समय थप गरिएको छ ।’ उनका अनुसार कार्यालयले दशै अगावै काम अगाडि बढाउन ताकेता गर्दै पत्रचार गरेको र निर्माण पक्षले तिहारलगत्तै काम अगाडि बढाउने बताउँदै आएको छ ।
* सडकको ट्रयाक खनेको ३० वर्षम्म पनि स्तरोन्नती हुन सकेन * सडक कालोपत्रे गर्ने जिम्मा लिएको निर्माण कम्पनीको गम्भिर लापरवाही, सक्नुपर्ने समयसम्म १० प्रतिशत पनि प्रगति भएन् * नगरपालिका तथा राजनीतिक दलका नेताले पनि बाटोको स्तरोन्नतीका विषयमा चासो नदेखाउँदा सडक दयनीय अवस्थामा
उक्त सडक खण्ड कालोपत्रे लगायतका कार्य गर्न शंकरमालीले आफ्नो प्रतिनिधि मार्फत काम गराउँदै आएको छ । ठेक्का सम्झौता लगत्तै काम अगाडि बढाउने प्रयास गरेपनि निर्माण पक्षले विभिन्न समस्या झेल्नुपरेको बताएको छ । स्थानीयले पनि काममा सहजिकरण नगरिदिएको, कामदारलाई बस्ने ठाउँ नदिने तथा बसेका कामदारलाई पनि भगाइदिने जस्ता काम भएको गुनासो निर्माण पक्षले गर्दै आएको छ ।
२०४९ सालमा चन्द्रावतीबाट पोखरीछापसम्म सडक विस्तार गरी यातायातका साधन सञ्चालन हुँदै आएको छ । सडक सञ्चालनमा आइएपछि हालसम्म यो सडकको स्तरोन्नती नहुँदा स्थानीयले सास्ति झेल्दै आएको यसै मार्गमा यात्रु बहाक बस सञ्चालन गर्ने यातायात व्यवसायी जलाल खान बताउँछन् ।
‘बिगत १८ वर्षदेखि डुम्रेबाट पोखरीछापसम्म यात्रु बहाक बस सञ्चालन गर्दै आएको छु, पहिला दैनिक दुइ वटा यात्रु बहाक बस सञ्चालन हुँदै आएको थियो भने बिगत केही महिनादेखि दैनिक एउटा मात्र बस सञ्चालन गर्ने गरेका छौ’, उनले भने, ‘पहिला त यो बाटोमा सवारी चलाउन सहज थियो तर अहिले सडकको स्तारोन्नती हुन नसक्दा निकै सास्ति झेल्नुपरेको छ । चन्द्रवातीबाट पोखरीछाप पुग्न पनि नसकिने गरी अहिले सडक बिग्रिएको छ ।’
‘वषर्ायाममा हिलो र हिउँदमा धुलोको नियती त हामीले झेल्दै आएका छौं’, यातायात व्यवसायी खानले भने, ‘अहिलेत सामान्य झरी पर्दासमेत यो बाटोमा गाईवस्तु समेत हिड्न नमिल्ने गरी भत्किन पुगेको छ । अब यो बाटो कहिले र कस्ले बनाउँछ ? यसै भन्न सकिने अवस्था छैन ।’
यस्तै, सडक यो अवस्थामा पुग्नु राजनीतिक दलका नेताहरुको पनि कम्जोरी भएको स्थानीय उपभोक्ताहरु बताउँछन् । चुनावका समयमै तत्कालै सडकको स्तरोन्नती गर्र्छौ भन्दै भोट माग्छन तर बाटो किन समयमै बनेन् ? ठेकेदारले किन लापरवाही गरेको छ ? भन्ने विषयमा कुनै पनि नेताहरुले चासो नदिएको र नगरपालिकाले पनि सडकको कामको अनुगमन नगरेको उपभोक्ताको आरोप छ ।

भानु मार्ग हुँदै गण्डकी प्रदेशकै नमुना समुदायीक होमस्टेका रुपमा विकास भएको टुटेपानी सामुदायिक होमस्टे जाने गरिन्छ । सडकको स्तरोन्नती नहुँदा यस होमस्टेमा सहजै पाहुना पुग्न नसक्ने अवस्था भएकाले हामस्टे सञ्चालकहरुले छिटो सडक निर्माण गरिदिन हारगुहार गर्दै आएपनि अहिलेसम्म कुनै सुनवाई हुन सकेको छैन ।
यसै मार्ग हुँदा जिल्लाकै दोश्रो अग्लो पहाड मिर्लुङकोट, शहीदको गाउँका रुपमा परिचित पुलिमराङ लगायतका ऐतिहासिक, धार्मिक, प्राकृतिक, साँस्कृतिक सम्पदाहरुको अध्ययन अवलोकन गर्न जाने बाटोको अवस्था नाजुक बन्दै गएको छ ।
निर्माण पक्षले उक्त सडक खण्डमा केही ठाउँमा सडक सिमालाई चौडा बनाउने, ग्याबिङग जाली भर्ने तथा केही मात्रमा नाला निर्माणको काम भएपनि अन्य काम हुन सकेको छैन । यस्तै, शंकरमालीले तनहुँको शुक्लागण्डकी नगरपालिकाको दुलेगौंडार्-हर्कपुर मोटर मार्गको पनि सोही मितिमा ठेक्का सम्झौता गरेपनि काम सम्पन्न गरेको छैन ।
दुलेगौंडा-हर्कपुर मोटर मार्गमा जम्मा ४० प्रतिशतको हाराहारीमा कामको प्रगति भएको र तत्काल काम अगाडि बढाउने प्रतिवद्धता सहित अगामि असार मसान्तसम्म समय थप गरिएको कार्यालयले जनाएको छ ।










