प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तनहुँमा समानुपातिकतर्फको मतपत्र आइपुग्यो

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तनहुँमा समानुपातिकतर्फको मतपत्र आइपुगेको छ । निर्वाचन आयोगले नेपाली सेनाको सुरक्षा घेरामा तनहुँका लागि समानुपातिकतर्फको मतपत्र आइतबार जिल्ला ल्याईपुर्‍याइएको हो ।

जिल्लाका लागि पाँच लाख ५० हजार थान मतपत्र आइपुगेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिनुभयो । तनहुँ क्षेत्र नम्बर १ र प्रदेश १ र २ को मतपत्र मुख्य निर्वाचन अधिकृतको कार्यालय दमौलीमा र तनहुँ क्षेत्र नम्बर २ र प्रदेश १ र २ को मतपत्र निर्वाचन अधिकृतको कार्यालय दुलेगौडामा सुरक्षितरुपमा राखिएको छ ।

“नेपाली सेनाको सुरक्षाघेरामा आएको मतपत्र तनहुँ १ को दमौलीमा र क्षेत्र नं २ को मतपत्र शुक्लागण्डकी नगरपालिकास्थित निर्वाचन अधिकृतको कार्यालयमा रुजु गरेर राखिएको छ” उहाँले भन्नुभयो । क्षेध नं १ को प्रतिनिधिसभा र प्रदेशसभाका, लागि दुई लाख ७३ हजार र २ को लागि दुई लाख ७७ हजार थान मतपत्र आइपुगेको छ ।

क्षेत्र नं १ प्रतिनिधिसभाका लागि एक लाख ३६ हजार मतपत्र आएको छ । सोही प्रतिनिधिसभाको प्रदेश (क) का लागि ७४ हजार र प्रदेश (ख) का लागि ६३ हजार मतपत्र आएको छ ।

क्षेत्र नम्बर २ प्रतिनिधिसभाका लागि एक लाख ३८ हजार मतपत्र आइपुगेको छ । सोही प्रतिनिधिसभाको प्रदेश (क) का लागि ७४ हजार र प्रदेश (ख) का लागि ६५ हजार मतपत्र आइपुगेको छ ।

क्षेत्र नम्बर १ तर्फ एक लाख २३ हजार चार सय ९० मतदाता छन् । तीमध्ये प्रदेश १ तर्फ ६७ हजार एक सय ४४ र प्रदेश २ तर्फ ५६ हजार तीन सय ४६ मतदाता छन् ।

क्षेत्र नम्बर २ अन्तर्गत एक लाख २५ हजार पाँच मतदाता छन् । त्यसमध्ये प्रदेश १ तर्फ ६७ हजार ३२ र प्रदेश २ तर्फ ५७ हजार नौ सय ७३ मतदाता छन् ।

जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि ५७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । क्षेत्र १ को प्रतिनिधिसभा सदस्यका लागि १५, प्रदेश सभा (क) का लागि ११ र प्रदेशसभा (ख) का लागि सात जना प्रतिस्पर्धामा छन् ।

क्षेत्र नं२ को प्रतिनिधिसभा सदस्यका लागि दश, प्रदेश सभा (क) का लागि आठ र प्रदेश सभा (ख) का लागि छ उम्मेदवार प्रतिस्पर्धामा छन् । निर्वाचनका लागि जिल्लाका उम्मेदवार यतिबेला घरदैलोमा व्यस्त छन् । निर्वाचन आयोगले मतदानको १७ दिन अगाडिबाट मात्रै प्रचारप्रसार, आमसभा गर्न अनुमति दिएकाले उम्मेदवारहरु घरदैलोमा पुगेर मतदाता भेटिरहेका छन् ।

मतदाताको भेटघाटका क्रममा उम्मेदवारले आ–आफ्ना एजेण्डा मतदाता समक्ष राख्ने गरेका छन् । तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य उम्मेदवार नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पहिलो चरणको घरदैलो सक्नुभएको छ । उहाँले व्यास र भानु नगरपालिका सहित बन्दीपुर गाउँपालिकाका विभिन्न ठाउँमा मतदाता भेटघाट गरिसक्नुभएको छ ।

एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार एकबहादुर राना भानुका विभिन्न वडामा मतदाता भेटघाट गरिरहनुभएको छ । राप्रपाका उम्मेदवार विनोद घर्ती, हाम्रो राष्ट्रिय पार्टीका प्रवीण पौडेललगायत मतदाता भेटघाटमा व्यस्त हुनुहुन्छ ।

तनहुँ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार कांग्रेसका शङ्कर भण्डारी, एमालेका किरण गुरुङका साथै साना दलका उम्मेदवार पनि मतदाता भेटघाटमा व्यस्त हुनुहुन्छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker