“पाउदुरे नृत्य” संरक्षणमा जुटेको तनहुँका मगर समुदाय

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको व्यास नगरपालिका-३ देउरालीनगर निवासी नन्दु थापा महिलाको भेषमा सजिएर नृत्य गर्दै हुनुहुन्छ । प्रायः महिलाले लगाउने पोसाक लगाएर उहाँ मगर समुदायको कार्यक्रममा नृत्य गर्दै गरेको अवस्थामा भेटिनुहुन्छ ।

मगर सुधार समितिमा आबद्ध नन्दु पाउदुरे नृत्यका लागि महिलाको भेषमा सजिनुभएको हो । पुरुष महिला बनेर नाच्ने पाउदुरे मगर समुदायको प्रख्यात नाच हो तर हिजोआज यो नाच लोप हुन थालेकाले संरक्षण गर्नुपर्ने आवश्यकता खड्किएको छ । “लोप हुन लागेको नाच संरक्षण गर्नुपर्छ भनेर आफूहरू लागिपरेका हौँ,” उहाँले भन्नुभयो, “पहिला गाउँघरमा पाउदुरे नाच नाचिन्थ्यो तर अहिले त्यस्तो छैन । यो नाच लोप हुँदै गएको महसुस भएको छ । युवा पुस्ताको यसमा आकर्षण नहुँदा वृद्ध भएका मगर समुदायका व्यक्तिहरूले यसलाई संरक्षण गर्नुपरेको छ ।”

यस नाचका लागि युवाको आकर्षण नभएको मगर सुधार समितिका उपाध्यक्ष इन्द्रबहादुर थापाले बताउनुभयो । उहाँले भन्नुभयो, “संस्कृति लोप हुन दिनहुन्न भनेर समितिमा आबद्ध व्यक्तिहरूको सहभागितामा हरेक कार्यक्रममा यो नाच देखाउँदै आएका छौँ । यसले संस्कृति संरक्षणमा सहयोग पुगेको विश्वास गरेका छौँ ।”

विभिन्न जातजातिले फरक तरिकाले नाच्ने यो नाचमा बिजबारे, मारुनी, मादलेलगायत पर्छ । यो नाच पुरुषले गुन्युचोली र गरगहना लगाएर महिलाजस्तै बनेर नाच्ने प्रचलन छ । छेउमा नाच्ने दुइ पुरुषलाई मारुनी र बीचमा नाच्नेलाई बिजबारे भन्ने गरिएको मगर समुदायका अगुवाले बताए ।

पाउदुरे नाच्दा बिजबारेकै भावलाई समातेर मारुनीले आफूलाई प्रस्तुत गर्नुपर्छ । गीत गाउने मुख्य व्यक्तिलाई गुरुबा भन्ने गरिन्छ । गुरुबाले गीत गाउने र लहरै बसेका तीन मादले लगायतले पनि गीतलाई हो मा हो मिलाउने प्रचलन रहेको अगुवा यामबहादुर आलेले बताउनुभयो । उहाँले भन्नुभयो, “आफ्नो संस्कृति संरक्षणका लागि आफैँ जागरुक हुने हो । मगर समुदाय त्यही अभियानमा सक्रिय छन्।”

अगुवा आलेका अनुसार पहिला पहिला सबै गीत मगर भाषामा गाउने गरिए पनि आजभोलि त्यस्तो प्रचलन हट्दै गएको छ । नेपाल मगर संघले आफूले गर्ने कार्यक्रमहरूमा संस्कृति संरक्षणलाई प्राथमिकतामा दिने गरेको छ । मगर संघ व्यास नगर समितिका सचिव अमरबहादुर थापाले मौलिकता उजागर गर्दै संस्कृति संरक्षणका लागि प्रयास गरिँदै आएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले हरेक कार्यक्रममा मगर समुदायको प्रचलनमा रहेका पाउदुरे, झयाउरे, कौरा नृत्यलाई प्राथमिकतामा दिन्छौँ । यसले कला संस्कृतिको संरक्षणमा टेवा मिल्छ ।”

मगर विद्यार्थी संघकी बिनिता आलेमगरले कौरा नृत्य संरक्षणका लागि आफूहरू लागेको बताउनुभयो। तनहुँको कौरा नृत्य देशभर प्रख्यात रहेकाले संघमा आबद्ध छात्राहरूले यसलाई संरक्षण गर्दै आएको उहाँको भनाइ थियो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker