दमौलीमा आजबाट क्लवस्तरीय टी–२० क्रिकेट प्रतियोगिता

दमौली : तनहुँ जिल्ला क्रिकेट संघको आयोजनामा आजदेखि क्लव स्तरीय क्रिकेट प्रतियोगिता सञ्चालन गर्ने भएको छ । व्यास नगरपालिका–५ पाटन खेलमैदानमा प्रतियोगिता गर्न लागिएको हो । क्रिकेट खेलप्रति आकर्षण बढ्दै गएको अवस्थामा संघले पहिलो पटक तनहुँ सहित बाहिरी जिल्लाका क्लवको सहभागितामा प्रतियोगिता गर्न लागेको संघका अध्यक्ष मदन तिमिल्सिनाले बताए ।
नौ क्लवको सहभागिता रहने प्रतियोगितामा प्रथम हुनेलाई रु ७५ हजार र द्वितीय हुनेलाई ३० हजार नगद पुरस्कार प्रदान गरिने छ । असार ९ गतेसम्म प्रतियोगिता सञ्चालन गरिने छ ।
उक्त प्रतियोगितामा इस्टर्न क्रिकेट एकेडेमी, बैरेनी क्रिकेट क्लव, दमौली क्रिकेट क्लव, प्रगतिशिल क्रिकेट क्लव, महालक्ष्मी क्रिकेट एकेडेमी, हिमालय स्पोट्र्स एकेडेमी, आरसिबी क्रिकेट एकेडेमी, पेलिसन्स क्रिकेट क्लव, दमौली रिभल्स क्लवको सहभागिता रहने अध्यक्ष तिमिल्सिनाले जानकारी गराए ।
सहभागी टिमलाई तीन समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहको शीर्ष स्थान हासिल गर्ने टिम र बाँकी टिमहरु मध्ये उत्कृष्ट रन रेट हासिल गर्ने एक टिम, गरी कुल ४ टिम सेमिफाइनल चरणमा प्रवेश गर्नेछन् ।
प्रतियोगितामा प्लेयर अफ द सिरिज, सर्वोत्कृष्ट ब्याट्सम्यान, सर्वोत्कृष्ट बलर, उदीयमान खेलाडी र हरेक खेलमा “प्लेयर अफ द म्याच” पुरस्कार प्रदान गरिनेछ । तनहुँ जिल्लामा खेलकुदको माध्यमबाट युवा प्रतिभालाई उजागर गर्ने र क्रिकेटको विकास तथा विस्तार गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको क्रिकेट संघका केन्द्रीय सदस्य सुदीप शर्माले बताए ।










