तनहुँको आँबुखैरेनी-पालुङटार बीच राजश्व र रोजगारी सिर्जना गर्ने विषयमा सहकार्य
भञ्ज्याङ समाचारदाता/आँवुखैरेनी

तनहुँको आँबुखैरेनी गाउँपालिका र गोरखाको पालुङटार नगरपालिकाले आन्तरिक राजश्व वृद्धि र रोजगारी सिर्जनाका लागि सहकार्य गर्ने भएका छन् । आँबुखैरेनीमा मंगलबार सम्पन्न अन्तरपालिका बैठकले दुबै पालिकाको राजश्व वृद्धि र रोजगारी सिर्जना गर्नका लागि सहकार्य गर्ने निर्णय गरेको हो ।
दुइ पालिकाको सीमाक्षेत्रमा पर्ने मर्स्याङ्दी जलविद्युत आयोजनाबाट निर्मित कृत्रिम तालमा मत्स्यपालन तथा जलपर्यटन पूर्वाधार निर्माण गर्ने निर्णय गरेको आँबुखैरेनीका अध्यक्ष शुक्र चुमानले बताए । उनले भने, ‘यसबाट आन्तरिक राजस्व वृद्धि तथा स्थानीय श्रोतको परिचालन गरी रोजगारी सिर्जना हुनेछ ।’ उनका अनुसार पालिकाको विकास निर्माण र र्सार्वजनिक सेवाका विषयमा निरन्तर संवाद, छलफल, समन्वय र सहकार्य गर्ने निर्णय भएको छ ।
बैठकमा पालुङटार नगरपालिकाका प्रमुख विवस चिन्तन, उपप्रमुख बन्दना पाण्डे, आँबुखैरेनीका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्मा, पालुङटारका प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारी लगायत सहभागी थिए ।










