नायक पल शाह तनहुँ प्रहरीको नियन्त्रणमा : पल विरुद्ध गैंडाकोटमा बलात्कारको अर्को उजुरी
भञ्ज्याङ समाचारदाता/दमौली
जबरजस्ती करणीको आरोप लागेका नायक पल शाह (पूर्णविक्रम शाह) तनहुँ प्रहरीले नियन्त्रणमा लिइएको छ । एक नाबालिक गायिकाका बाबुले शाह विरुद्ध जबरजस्ती करणीको आरोप लगाई जिल्ला प्रहरी कार्यालय तनहुँमा गत बुधबार किटानी जाहेरी दर्ता गराएका थिए । किटानी जाहेरी दर्तासंगै फरार रहेका शाह आइतबार दिउँसो करिब १२ बजे तनहुँ प्रहरीको सम्पर्कमा आएका थिए ।
सम्पर्कमा आएका शाहलाई प्रहरीले प्रक्राउ गरी ३:३० बजे जिल्ला अदालतमा हाजिर गराएको थियो । अदालतले थप अनुसन्धानका लागि सात दिनको म्याद थप गरेपछि उनलाई प्रहरी कार्यालयको हिरासतमा राखि आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाएको प्रहरी नायव उपरीक्षक युवराज खड्काले बताए ।
सामाजिक सञ्जालमा आफै प्रहरी सामु उपस्थित हुने सार्वजनिक गरी उनी पाँच दिनको दिन तनहुँ प्रहरीको सम्पर्कमा आएका थिए । यता प्रहरीले यो अवधिमा उनलाई खोजी कार्य गरेपनि नभेटिएको र फरार रहेको बताउँदै आएको थियो ।
१७ वर्षीया किशोरीले म्युजिक भिडियो छायांकनका क्रममा नायक शाहले बारम्बार जबरजस्ती करणी र यौन दुर्व्यवहार गरेको आरोप लगाएकी छन् । सामाजिक सञ्जाल फेसबुकमा शाहले आफ्नो स्वास्थ्य बिग्रिएको र घर व्यवहार मिलाउनु परेकाले केही ढिला भएको भन्दै आइतबार आफैं प्रहरी सामु उपस्थित हुने बताएका थिए ।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार पीडित नाबालिकको तर्फबाट उनका पिताले जाहेरी दर्ता गरेका थिए । जाहेरीमा शाहले म्युजिक भिडियो सुटिङका क्रममा ती नाबालिकमाथि पटक पटक करणीको प्रयास गरेको र अन्त्यमा विवाहको प्रलोभन देखाइ तनहुँमा करणी गरेको उल्लेख गरिएको छ । विगत अन्दाजी तीन महिना अगाडिदेखि एकोहोरो जस्तो बस्ने गर्दै आइरहेकीले नाबालक छोरीलाई के भएछ भनी परिवारले कर गर्दा करणीको कुरा खुलाएको जाहेरीमा उल्लेख छ ।
प्रहरीमा दर्ता गरिएको जाहेरीमा निज पूर्ण विक्रम शाह -पल शाह)ले देखावटी रुपमा माया प्रेम गरेको बहाना गरी भिडियो सुटिङ तथा अन्य भेटघाटको क्रमलाई बढाउँदै लगी धेरै नै रेखदेख, हेरचाह गरेजस्तो गर्दै आएका रहेछन् ।
निज पूर्ण विक्रम शाह र मेरी नाबालिका छोरीले संयुक्त रुपमा धेरै म्युजिक भिडियोमा सँगै मोडलको रूपमा काम गर्ने क्रममा पोखरा, चितवन, बागलुङ, तनहुँ समेतका स्थानमा सुटिङ सकेर राती होटलहरूमा बास बस्ने क्रममा पटक पटक जबरजस्ती करणी गर्न खोजेकोमा छोरीले असहमति जनाएका कारण सफल हन नसकेको उल्लेख गरिएको छ ।
यसै क्रममा गत बैशाख १४ गते साँझ १९:०० बजे पोखराबाट काठमाडौं फर्किने क्रममा जिल्ला तनहुँ शुक्लागण्डकी नगरपालिका-४ दुलेगौडा स्थित प्रतिवादीको चिनजानको व्यक्ति प्रदीप थापाको घरमा बसेका अवस्था नाबालिका छोरी दिन भरीको थकानले खाना खाएपछि उक्त घरको दोस्रो तलामा सुत्न गएकी र प्रतिवादी पूर्ण विक्रम शाह र कमल खत्री भन्ने व्यक्ति सोही घरको छुट्टै कोठामा राती अन्दाजी ११ बजेसम्म रक्सी खाएर बसेको र राती अं. १२ बजे तिर निज प्रतिवादीले छोरीको म्यासेन्जरमा म त्रि्रो कोठामा आउँछु भनेर म्यासेज गरेको र तुरुन्तै छोरीको कोठा ढक ढक गर्न आएका रहेछन् ।
छोरीले कोठा खोलिदिए पश्चात् निज प्रतिवादी छोरी सुतेको कोठामा आएर छोरीलाई ललाई फकाई माया प्रेम गरेको बहाना बनाइ तिमीले काठमाडौंको कोठा र्सनपर्यो म तिम्रो कोठामा दिन दिनै आउँछु, तिम्रो बारेमा नराम्रो कुरा सुने भने मैले राम्रो मान्दिनँ भनी उमेर पुगेपछि विवाह गर्छु धोका दिन्न भन्ने विश्वास दिलाई छोरीको असहमति हुँदाहुँदै पनि जबरजस्ती करणी गरेका रहेछन् । छोरीलाई माया गरेको देखाउनुको लागि वारदातको भोलिपल्ट ढोरवाराही मन्दिर समेत घुमाई, दलेगौंडाको सुटिङ सकेर काठमाडौं गएको रहेछन् जाहेरीमा उल्लेख गरिएको छ ।
मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १८ मा करणी सम्बन्धी कसुरको व्यवस्था दफा २१९ (२) छ । उक्त दफाले कसैले कुनै महिलालाई निजको मंजुरी नलिई करणी गरेमा वा मन्जुरी लिएर भएपनि अठार वर्ष भन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबरजस्ती करणी गरेको मानिनेछ भन्ने व्यवस्था छ ।
शाहको भिडियो सन्देश
यस्तै शाहले प्रहरीको सम्पर्कमा आउनु अघि सामाजिक सञ्जालमा भिडियो सन्देश सार्वजानिक गर्दै ‘म निर्दोष छु, अदालतको निर्णय मान्छु’ भनेका थिए । भिडियोमा उनले भनेका छन्, ‘मलाई पहिल्यैदेखि फसाउँदै यहाँसम्म ल्याइएको छ, त्यो कुरा पनि अदालतमा भन्नेछु । सम्मानित अदालतले गर्ने निर्णय स्वीकार्छु, मसंग भएको प्रमाण अदालत सामु दिनेछु।’
शाहले आफूले एकचोटी दर्शकसंग बसेर म यस्तो गीत गाउँछु २ हेर्ने इच्छा व्यक्त गरेका छन् । ‘म प्रहरी सामु गएपछि त्यो सम्भव होला नहोला, एकचोटी चाँही यो बीचमा दर्शकसंग बसेर फिल्म हेर्ने मन छ, त्यो सम्भव भए गर्दिनुहोला,’ उनले भनेका छन् । शाहले नेपाली फिल्म र आफूलाई माया गर्ने सबैप्रति आभार व्यक्त पनि गरेका छन् ।
नायक पल विरुद्ध गैंडाकोटमा अर्को उजुरी
नायक पल शाहविरुद्ध बलात्कारसम्बन्धी अर्को उजुरी परेको भएको छ । नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को इलाका प्रहरी कार्यालय गैँडाकोटमा गायक शाहविरुद्ध आइतबार बलात्कार सम्बन्धी उजुरी जाहेरी गरिएको हो ।
गैँडाकोट-५ स्थित गैँडाकोट रिसोर्टमा विसं २०७७ चैत ७ गते गीत सुटिङका क्रममा कलाकार पल शाहबाट बलात्कृत भएको भन्दै एक १७ वर्षीया गायिकाले उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए ।
पीडित किशोरीले आइतबार आफन्तसहित गएर इलाका प्रहरी कार्यालयमा उजुरी दिएकी गिरीले बताए । पीडित किशोरीको उजुरीपछि प्रहरीले घटनास्थलको अनुसन्धानको काम सकेर आइतबारै उनको स्वास्थ्य परीक्षण गर्ने तयारी गरेको गिरीको भनाइ छ ।
‘किशोरीको जाहेरीपछि हामीले घटनास्थलको काम सकाएर आजै उनको मेडिकलको काम गर्ने तयारी गरिरहेका छौं’, उनले भने, ‘भरतपुरमा लगेर उजुरीकर्ताको मेडिकल गर्र्छौ, त्यसपछि मात्रै उजुरी दर्ता गर्ने वा नगर्ने भन्ने एकिन हुन्छ ।’










