हलगोरु पाल्ने आँवुखैरेनी–१ का ४६ किसानलाई अनुदान रकम प्रदान

आँवुखैरेनी : तनहुँको आँबुखैरेनी गाउँपालिकाले हलगोरु पाल्ने किसानलाई प्रोत्साहन गर्न अनुदान वितरण गरेको छ । गाउँपालिकाको आर्थिक वर्षको नीति तथा कार्यक्रमअनुसार पहिलो चरणमा वडा नं. १ का ४६ जना हलगोरुपालक किसानलाई जनही सात हजार रुपैयाँका दरले अनुदान वितरण गरिएको वडा अध्यक्ष प्रेमबहादुर गुरुङले जानकारी गराए ।
वडा नं. १ को कार्यालयमा बुधबार आयोजित कार्यक्रममा हलगोरु पालनपोषण गर्ने किसानलाई कुल तीन लाख २२ हजार रुपैयाँ अनुदान उपलब्ध गराइएको उनले जनाए । ग्रामीण कृषि प्रणालीमा हलगोरुको महत्व कायम राख्न र परम्परागत कृषि संस्कृतिको संरक्षण गर्न कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ ।
कृषिमा यान्त्रिकीकरण बढ्दै जाँदा हलगोरु पाल्ने चलन घट्दै गएको अवस्थामा किसानलाई आर्थिक प्रोत्साहन दिएर यसको संरक्षणमा सहयोग पुर्याउने उद्देश्य राखिएको छ । हलगोरु खेतीपातीका लागि उपयोगी हुनुका साथै ग्रामीण जीवनशैली र कृषि परम्परासँग पनि जोडिएको अध्यक्ष गुरुङ बताउँछन् ।
अनुदान कार्यक्रमले हलगोरु पाल्ने किसानलाई प्रोत्साहन गर्नुका साथै परम्परागत कृषि प्रणालीको निरन्तरतामा सहयोग पुग्ने अपेक्षा गरिएको छ । गाउँपालिकाले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई प्रभावकारी बनाउँदै किसानको आवश्यकता र स्थानीय कृषि संस्कृतिको संरक्षणलाई प्राथमिकता दिनुपर्ने देखिन्छ ।










