दुबोको माला बनाउने सीपले महिलाहरुलाई दियो खुशी
भञ्ज्याङ न्यूज

दुबोको माला बनाउने सीप सिकेपछि महिलाहरु खुशी भएका छन् । सीप सिकेका महिलाहरु सीपले मनोवल र हिम्मत बढेको बताएका छन् । म्याग्दे गाउँपालिका-७ हर्कपुरकी अनिता बिक दुबो तथा विभिन्न प्रकारका माला बनाउने सीप सिकेसंगै निकै उत्साहित र खुशी भएकी छन् । तालिम लिएपछि आफुमा सिकेको सबै सीपलाई व्यवहारमा उतार्न सक्ने आत्मविश्वास पलाएको बताइन् ।
‘अब यहि उद्यमलाई निरन्तरता दिएर आर्थिक उपार्जनमा लाग्ने सोच बनाएको छु’, अनिताले भनिन्, ‘म मात्र होईन तालिम लिएका हामी सबै महिला दिदीबहिनीहरु अब सिकेको सीपलाई व्यवहारमा उतारेर आम्दानी लिने योजना बनाउन थालेका छौं ।’
अनितासंगै स्थानीय विमला पण्डित, विष्णु श्रेष्ठ, गंगा श्रेष्ठ, रोशनी वंशी ठकुरी, सन्ध्या रेग्मी, सिर्जना वाग्ले, विचमाया परियारले पनि वरमाला पोते बनाउने, क्रिस्टलको मोतीको चुरा बनाउने, फूलमालाको पोते बनाउने, क्रिस्टलको टप बनाउने, फाईवरको माला बनाउने, रानीहार बनाउने लगायतका सीप सिकेपछि अहिले निकै उत्सासहित भएका छन् ।
उनिहरु मात्र होईन हर्कपुरका सुस्मिता परियार, सानुमाया थापा, शिवकुमारी राना, राममाया परियार, देवी परियार, निर्मला राना, फूलमाया परियार, मिनु परियारले पनि व्यवहारिक सिकाईले आफुहरुलाई हौसला र मनोवल बढेको बताए ।
‘सिप सिकौं, व्यवसाय गरौ, उद्यम बनौ’ भन्ने मुल नाराका साथ म्याग्दे गाउँपालिकाले सञ्चालन गरेको गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम -मेड्पा)मा सहभागि भइ सिकेको सीपलाई व्यवहारमा उतार्न महिलाहरु लागि परेका छन् ।
म्याग्दे-७ को हर्कपुरमा सिप सिकेर आत्मनिर्भर बनाउन स्थानीय १६ जना महिलालाई तालिम दिईएको छ । तालिममा घरेलु तथा साना उद्योगलाई कसरी निरन्तरता दिन सकिन्छ भन्ने अभिमुखीकरण कार्यक्रम पछि व्यवहारिक सिप सिकाईएको मेडपाका फोकल पर्सन प्रदीप न्यौपानले बताए ।
८ दिनसम्म व्यवहारिक सिप सिकाई कार्यक्रममा सहभागीहरुलाई वरमाला पोते, क्रिस्टलको मोतीको चुरा, फुलमाला को पोते, क्रिस्टलको टप, फाईवरको माला, रानीहार, दुबोको माला बनाउन सिकाइएको न्यौपानले बताए ।
आफुलाई आवश्यक परेको र प्रयोग गर्दै आएको सबै समानहरु आफैलेनै बनाउन सक्ने भएपछि गंगा श्रेष्ठले पनि अब सिपलाई निरन्तरता दिने बताईन । ‘दुबोको माला, फाईवरको माला आफैले बनाउन सक्ने भएका छौ’, उनले भनिन्, ‘स्थानीय स्तरमा हुने विभिन्न कार्यक्रममा बाहिरबाट माला ल्याउन पर्दैन । सीपले हामीलाई आत्मनिर्भर बनाउने तर्फअग्रसर बनाएको छ ।’
सानो लगानीले पनि आम्दानी गर्न सकिन्छ भन्ने आशा पलाएको सहभागी विचमाया परियारले बताईन । ‘क्रिस्टलको माला आफैले किनेर लगाउँदै आएको थिए’, उनले भनिन्, ‘अब आवश्यक सामाग्री ल्याएर आफै बनाएर लगाउने तथा बिक्री वितरण समेत गर्न सक्ने भएको छु।’










