शास्त्रीय परम्परादेखि नोबेल पुरस्कारसम्म एनी कार्सन
महा प्रसाद हड्खले

असोज २२, २०८३ मा ७६ वर्षीया क्यानेडियन साहित्यकार एनी कार्सनलाई यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार प्रदान गरियो । उक्त समाचार जताततै हेर्न सुन्न र पढन पाइयो । धेरै बर्ष अगाडि उनको ब्युटि अफ द हजबेन्ड कृति पढेको थिए । त्यो पुस्तकको एउटा छाप मनमास्तिष्कमा रहिरकेको थियो । परम्परागत दायराभन्दा बाहिर निस्किएर कविता, कथा र दर्शनको एउटा अद्भुत सम्मिश्रण छ यस पुस्तकमा । त्यो पुस्तक २९ वटा ‘ट्याङ्गो’ नृत्यको लयमा बुनिएको छ। भत्किँदै गरेको वैवाहिक सम्बन्धको कथा छ त्यहाँ। यो जोन किट्सको दर्शन ‘सुन्दरता नै सत्य हो’ माथि गरिएको एउटा तिखो व्यङ्ग्य पनि हो। यस पुस्तकमा एउटा शास्त्रीय विद्वानको प्राज्ञिक गहिराइ र मानवीय पीडाको उत्कृष्ट सन्तुलन छ ।
यस पुस्तकले मानिस कसरी शारीरिक सुन्दरताको मोहमा परेर विषाक्त आकर्षण र मानसिक नियन्त्रणमा फस्छ भन्ने कुरालाई मनोवैज्ञानिक रूपमा प्रस्तुत गरेको छ। पाठकलाई जिल्ल पार्दै व्याकरण र विराम चिन्हका स्थापित नियमहरूलाई तोडेको छ। यसकोे साङ्गीतिक लय र स्पष्ट भाषाले पाठकलाई सुरुदेखि अन्त्यसम्म एकै सासमा बाँधिराख्छ । त्यो पुस्तक पढदा ताका मलाई यो पुस्तक विवाहित जोडिको सम्बन्धको उतारचढाव र भित्री मनोविज्ञान बुझ्न चाहने हरेक पुस्तक प्रेमीले छुटाउनै नहुने एक उत्कृष्ट रचना लागेको थियो । ब्युटि अफ द हजबेन्ड पढदा महसुस गरेको फरक स्वादले कार्सनको विशिष्टता रहेछ । त्यहि विशिष्टताले उनलाइ नोवेल पुरस्कार दिएको हुनुपर्छ । हुन त उनको समग्र साहसिक र मौलिक कृतिका लागि यो पुरस्कार प्रदान गरिएको हुनुपर्छ ।
हालैका दिनहरु अंग्रेजी साहित्यका समालोचकहरुले बोलेका छन उनका कृतिहरुमा शास्त्रीय परम्पराका चञ्चल र सिर्जनात्मक संवादहरु छन । कार्सनले लेखेका ति संवादहरुले समकालीन साहित्यका लागि नयाँ रूपहरू सिर्जना गरेका छन । मलाई लाग्छ यो नोवेल पुरस्कारले विश्व साहित्यमा उनको सृजना र शैलीमाथि एक महत्वपूर्ण छलफलको मौका दिएको छ । हामी उच्च शिक्षाका विद्यार्थीहरूका लागि भने लेखकहरूले लेखनका परम्परा सीमाहरूलाई कसरि चुनौती दिन सक्छन भन्ने जान्ने थप एक अवसर पनि दिएको छ ।
कार्सनको चिनारी
सन १९५० मा टोरन्टोमा जन्मेकी कार्सन ३० वर्षभन्दा बढी समयदेखि उत्तरी अमेरिकाका विभिन्न विश्वविद्यालयहरूमा शास्त्रीय साहित्य पढाउँदै आएकीछन । प्रिन्स्टन, म्याक्गिल र मिसिगन जस्ता विश्वविद्यालय उनको कार्यस्थल रहीसकेकाछन । प्राचीन ग्रीक र ल्याटिन भाषामा उनको गहिरो ज्ञान उनका सृजनामा प्रतिबिम्बित रहेका छन। तर उनी विद्वत्तापूर्ण नियमहरूमा सीमित छैनन । बरु उनी आफ्नो साहित्यिक प्रयोगको आधार आफनो शास्त्रीय ज्ञानलाइ बनाएकिछन ।
विधाको सीमा भत्काउने कार्सन
कार्सनको सबैभन्दा विशिष्ट योगदान भनेको एउटा साहित्यिक विधामा मात्र सिमित रहन अस्वीकारर्नु हो । उनका कृतिहरूमा पाठकका अपेक्ष विपरित कविता, गद्य, निबन्ध, समालोचना र अनुवादका तव्वलाई मिसाइएको हुन्छन । उनको प्रसिद्ध कृति अटोबायोग्राफी अफ रेड (१९९८) पूरै पद्यमा लेखिएको छ तपनि यो एक पूर्ण आख्यान हो । यसले सामान्यतः दुष्ट मानिने प्राचीन ग्रीक मिथक गेरियनलाई एक संवेदनशील, हृदयविदारक किशोरको रूपमा पुनर्कल्पना गर्दछ । उनको नायक गेरियन चाहना र शोकको अनुभव गर्दछ । शास्त्रीय राक्षसलाई आवाज दिएर कार्सनले पाठकहरूको सहानुभूति पाउन को योग्य छ र हामी प्राचीन कथाहरू कसरी बुझ्छौँ भन्ने सोच्न बाध्य पार्छिन ।
त्यसै गरी, द ब्युटी अफ द हजबेन्ड (२००१) मा २९ खण्ड वा ट्याङ्गो छन । यसमा आख्यान र गीतिमय कविता मिसाइएको छ । यसले छल र चाहनाले भरिएको समस्याग्रस्त ३० वर्ष लामो बैवाहिक सम्वन्धको अन्वेषण गर्दछ । यस पुस्तकका लागि कार्सनले टि.एस. इलिएट पुरस्कार जितेकी थिइन । यो सम्मान पाउने पहिलो महिला पनि उनिनै थिइन ।
द गार्डियनमा कार्सनको रेड डक कृतिको समीक्षा गर्दै सारा क्राउनले लेखेकीछन ‘३,००० वर्षभन्दा पहिले पहिलो पटक भनिएको कथासँग यति सहज, मौलिक र आकर्षक रूपमा जोडिनु आश्चर्यजनक छ । उहाँको महत्वाकांक्षा एक ठाउँमा छ; तर यो पूर्ण रूपमा सफल हुनु वास्तवमै एउटा बेग्लै र अद्भूत कुरा हो ।’
व्यक्तिगत अनुभुती र शास्त्रीयताको समन्वय
कार्सनको सबैभन्दा प्रयोगधर्मी कृति नक्स -२०१०) हो । समालोचकहरुले यो कृति व्यक्तिगत शोकलाई शास्त्रीय विद्वत्तासँग मिसाउने प्रयोगवादको उदाहरण हो भनेका छन । यो पाठकले कल्पना गर्न नसक्ने फोटो, पत्र र टुक्राहरू सहित एकर्डियन–मोडमा पट्याइएको बक्सको रूपमा प्रकाशित छ । यो कृति संस्मरण, शब्दकोश र कला वस्तुको एक भाग हो। यो पुस्तकले उनको हराएका दाइ माइकलसँगको सम्बन्धलाई दस्तावेजीकरण गरेको छ । माइकल उनको जीवनबाट २२ वर्षको अनुपस्थितिपछि मृत पाइएका थिए । यो कृतिको बायाँ पृष्ठहरूमा कार्सनले एक प्राचीन रोमन शोकगीत केटुलस १०१ का शब्दहरूमा लेखेकीछन ।
रोमन काव्य केटुलस पनि घरबाट टाढा पुगेर मृत पाइएका दाइको लागि लेखिएको शोकगीत थियो । नक्सको दायाँ पृष्ठहरूमा, उनले आफ्ना यादहरू र माइकलका पत्रहरूको टुक्राहरू राखेकीछन। यस कृतिमा उनले अनुवाद र शास्त्रीय सन्दर्भ मार्फत आफ्नो शोकलाई संरचित गरेकीछन । एक अर्थमा अनुवाद गर्ने कार्य नै समय र भाषा पार गरी अर्थ बनाउने संघर्ष हो । अनुवाद त हराएकोलाई पूर्ण रूपमा पुनः प्राप्त गर्ने असम्भवताको प्रतिबिम्ब हो । कार्सनले आफ्नो शास्त्रीय ज्ञानलाई केवल सजावट नभई मानवीय अनुभवलाई गहिराइसँग बुझ्ने एक गहिरो माध्यमको रूपमा कसरी प्रयोग गरेकीछन भन्ने बुझन यो कुति पढन धेरै भाषविदहरुले सुझाएकाछन ।
कार्सन सम्बन्धी आलोचकहरूको विचार
नेवेल पुरस्तकार प्रदानकर्ता स्वीडिस एकेडेमिले उनको वारेमा गरेको घोषणामा समेटिएको उद्धरणले पनि कार्सनको लेखनीको सारलाई प्रस्तुत गर्दछ । नोबेल समितिका अध्यक्ष एन्डर्स ओल्सनका अनुसार यो पुरस्कार कार्सनलाई ‘शास्त्रीय परम्परासँगको चञ्चल र सिर्जनात्मक संवादमार्फत समकालीन साहित्यका लागि नयाँ रूपहरू सिर्जना गरेको साहसिक र मौलिक समग्र कृतिका लागि’ दिइएको थियो । ओल्सन भनिछन ‘उनका लगभग सबै साहित्यिक सुजनाहरू शब्दहरूप्रति एक भाषाशास्त्रीको आशक्ति र नयाँ अर्थका लागि एक कविको चाहनाको मिलनविन्दुमा केन्द्रित छन ।’
प्रसिद्ध लेखिका सुसान सोन्टागले कार्सनको उच्च प्रशंसा गर्दै लेखेकीछन ‘अंग्रेजीमा लेख्ने थोरै लेखकहरूमध्ये उहाँ एक हुनुहुन्छ, जसले जे लेखे पनि म पढ्छु । यदि कुनै पत्रिकामा उहाँको केही रचना छापिएको छ भने, म त्यो तुरुन्तै किनिहाल्छु ।’ सोन्टग जस्तो एक प्रमुख साहित्यिक व्यक्तित्वको उक्त टिप्पणीबाट कार्सनले समकक्षिहरुमा परेको प्रभावलाई रेखाङ्कित गर्दछ । क्यानेडियन प्रधानमन्त्री मार्क कार्नीले सामाजिक सञ्जालमा उनको उपलब्धि बारे लेखेकाछन ‘तीक्ष्ण बुद्धि, कल्पना र पूर्ण रूपमा आफ्नै मौलिक शैलीका साथ क्यानेडियन कवयित्री एनी कार्सनले शास्त्रीय साहित्यलाई पुनर्जीवित गर्नुभएको छ । उहाँले प्राचीन कथाहरूलाई नयाँ पाठक माझ पु¥याउनुभएको छ र साहित्यका बारेमा हाम्रो सोच्ने तरिकालाई बदल्नुभएको छ ।’
राइटर्स ट्रस्ट अफ क्यानडाका कार्यकारी निर्देशक डेभिड लियोनार्डले कार्सनलाई ‘एक असाधारण लेखिका’ भनेर प्रशंसा गर्दै भनेकाछन कि उनका कृतिहरू ‘व्यापक र अत्यन्तै बौद्धिक छन’ र ‘सुन्दर, बौद्धिक, हामीलाई हाम्रो लेखनमा चाहिएको जस्ता सत्य र मानवीय छन । साहित्य अवलोकका मिना ए. गायदले नोबेल पुरस्कारको हालका प्रवृत्तिहरूमा चिन्तन गर्दै लखेकीछन ‘स्वीडिस एकेडेमी त्यस्ता लेखकहरूलाई सम्मान गर्न थालेको छ जसका साहित्यिक कृतिहरू अत्यन्त व्यक्तिगत मानवीय अनुभवहरू र लेखकले हिँड्ने सानो घेरामा आधारित हुन्छन ।’ गायदले लेख्छिन कि कार्सन, एनी एर्नो र हन काङ जस्ता हालका नोबेल विजेताहरूसँगै, ग्रान्ड नैरेटिभभन्दा अधिक अन्तरंग, औपचारिक रूपमा नवीन कार्यलाई मान्यता दिने एक परिवर्तनलाई प्रतिनिधित्व गर्दछन ।
अन्त्यमा, ग्लोबल इन्स्टिच्युट फर इन्टरडिसिप्लिनरी स्टडिजको संस्थापक अध्यक्ष एवं निर्देशक उत्तमबाबु श्रेष्ठ सामाजिक संजालमा लेख्छन कार्सनको नौला प्रयोगहरु उनले कार्यगर्दै आएको विश्वविद्यालय लगायत धेरैकालागि कतिसम्म मन परेको थिएन भने कार्सनलाई स्थायी जागीर दिन योग्य ठानेन प्रिन्स्टन विश्वविद्यालयले । उनले पढाउने विभाग नै बन्द गरिदिए गर्न भने दुबै पछि परेनन । ख्यातिका पछि सबै हुन्छन ।
(लेखक आदिकवि भानुभक्त क्याम्पसका सहप्राध्यापक हुनुहुन्छ)










