दराइ समुदायको चाडपर्व, संस्कार र सँंस्कृति

देव बस्न्यात

विषय प्रवेश

नेपालको उच्च पहाडी क्षेत्रमा नबसी खोंच औलमय समथर मैदान र नदीका छोउछाउमा बस्ने आदिवासी जनजातिहरु मध्ये दराइहरु पनि एक हुन । आफ्नै भाषा भेषभुषा, संस्कार र संस्कृति भएका दराइहरु नेपालकै एक अल्पसंख्यक जाति मध्येका एक हुन् । कुनै बेला सेती नदीको सराङघाटमा नुनतेलको भारी बोकेको एक भरिया सेतीमा आफै जाँगर तर्न हिम्मत गरेछ, तर सेतीमा बाढी आएको मौका हुनाले गह्रुङ्गो भारी बोकेर बटुवाले नदी तर्न सकेन । नदीले उसलाई बगाउँदै बगाउँदै लग्यो । अचानक त्यही बेला एकजना मानिस माछा मार्दै मार्दै साराङघाट आइपुगेछ । उक्त व्यक्तिले सेतीले मान्छे बगाइ रहेको देखेछ । बगिरहेको बटुवालाई दराइले ठूलो प्रयास गरेर नदीबाट उद्धार गरेछ । बढ्दो नदीमा भारी सहितको बटुवालाई सहयोग गर्ने उक्त ब्यक्ति सबैलाई दह्रो लागेछ । दह्रो देखिएको हुनाले यो जातिलाई दरै/दराइ भन्ने गरिएको हो भन्ने जनोक्ति रहेको छ ।

दराइहरुको चाडपर्व

दराइहरुको प्रमुख चाड भनेको माघी पर्व हो । यसपछि यिनीहरु बडादसैं-तिहार, ठूलो एकादशी, बडकीभात, नागपञ्चमी, पन्ध्रपुष, माघेसक्रान्ति, चैतदसैं, विषुसंक्रान्ति तथा नयाँवर्ष वायुपूजा (बाजेबज्यै पूजा), गुरौ, खम्बेदेवी पूजा, सन्सरीपूजा, हरेलो पूजा, भयेंरपूजा, सिमेभूमेपूजा, वनभांक्री पूजा, चण्डी पूजा, असारपन्ध्र, साउने सक्रान्ति र श्रीकृण जन्माष्टमी, तीज, सोहर्राई पाब्नी, फगुवा घाटुनाच जस्ता पर्वहरु धुमधामका साथ मनाउने गर्दछन् । यसैगरि दराइहरु कुलदेवताको पूजा र वनदेवीको पूजा पनि गर्दछन् । यसका अतिरिक्त दर्राईहरुले औसी तथा पूर्णिमाको दिन वारना र बासी नाच्ले गर्ने प्रचलन रहेको छ । दराइहरुले उपल्लो दर्जाका देवतालाई परेवा, भेंडा बाख्राको बलि र तल्लो दर्जाका देवतालाई सुंगुर, कुखुरा र राँगाको बलि दिने परम्परा रहेको पाउँदछौं (श्रोत : दराइलाई पराइ व्यवहार-प्रेमप्रकाश चौधरी-इण्डिजिनियस भ्वाइस)

दराइहरुको प्रारम्भिक सामाजिक संँस्कार

दराइ जातिमा विशेष गरेर जन्म संस्कार, छेवर, विवाह र मृत्यु संस्कार गर्ने परम्परा रहेको पाउँदछौं । हरेक संस्कारमा फूपुको छोरा नभएमा दिदी बहिनीको छोरा भान्जा तथा ज्वाईले पुरोहित्याई गर्ने परम्परा रहेको छ । दराइहरुको घरमा जन्मिएको नाबालकको ७/९/११ दिनमा नामाकरण गरी सुत्केरो चोख्याउने र छोरा भए छ महिनामा र छोरी भए ५ महिनामा घरको पाको मूलिको हातबाट भातखुवाइ (पास्नी) गर्ने चलन रहेको पाउँदछौं । साधारणतया भद्राइ चराको ठुंडले भात खुवाएमा बालकले छिटो बोल्ने जनविश्वास रहिआएको छ । बच्चा जन्मेको ५/७/९ वर्षको उमेरमा बालकका मामाले कपाल काटेर छेवर गर्ने प्रचलन रहेको छ । छोराको छेवर जस्तै छोरीलाई गुन्युचोली दिने गरिन्छ ।

यिनै संस्कारहरु मध्ये विवाह पनि दरै जातिहरुको एउटा महत्वपूर्ण संस्कार मानिन्छ । उमेर पुगेका केटाकेटीको थर र गोत्र मिलाई मागी विवाह गर्ने परम्परा रहेको छ । परम्परागत रुपमा मागी विवाहमा दराइहरुको कन्या माग्न जाँदा सुनको लौरोले टेकेर जान पर्दछ भन्ने मान्यता रहेको छ । प्रायः उमेर पुगेका दराइका छोराछोरीहरु आफ्नै जातका उमेर पुगेका कुमार केटा तथा कुमारी केटी बीच प्रेमविवाह हुने गर्दछ । मन मिले विवाह नगरी केटाकेटीसंगै बस्ने मान्यता दिने प्रचलन रहेको छ । यसलाई आधुनिक भाषामा लिभिङ टुगेदर भन्ने गरिन्छ ।

प्रेम (गन्धर्व) विवाह भएपछि पनि दराइ जातिमा बडाका हातबाट टिको फुकाउनै पर्दछ । टिको फुकाउँदा मागी विवाह सरह विवाह गर्नुपर्ने परम्परा जीवन्त रहेको छ । टिको फुकाउने बेलासम्म जन्मेका छोराछोरीलाई पनि दुलहीको घरबाट आमासंगै बाबाको घरमा भित्र्याउने गरिन्छ । दराइहरुको मागी विवाह होस या भागी विवाह होस केटा पक्षले केटीको बाबा आमालाई बुझाउनु पर्ने दस्तुर अनिवार्य नै बुझाउनु पर्दछ । यस्तो दस्तुरी १२ पाथि चामल, १२ धार्नी मासु, १२ घैंटा जाँड ६० रुपैयाँ नगद माइती पक्षलाई बुझाउनु पर्दथ्यो तर अहिले दराइ समाजले सम्वन्धित पक्षको आर्थिक हैसियतलाई ध्यानमा राखेर न्यूनतम दर परिवर्तन गरेको जस्तो लाग्दछ । विवाहमा बेहुलापटट्ीका महिलाहरुले दुलहीलाई गरगहना एवं कपडा पैह्राउन खोज्दा माइतीपट्टीका संगिनीहरुले दुलहीलाई थिचेर राखेर घरपट्टीका महिलाहरुलाई गरगहना र कपडा लगाउन दिंदैनन् । दुलहापट्टीका महिलाहरुले बेहुलीलाई थुत्दछन् र एउटा जाँतोमाथि दुलहादुलहीलाई संगै राख्ने गर्दछन् ।

सिंदुरहाल्ने बेलामा पनि दुलहादुलहीको निकै घमसान चल्छ । दियो-कलश सहित मढ्यौली लिएर दुलहालाई दुलहीको घरसम्म लैजाने, घरमा डोली भित्र्याउँदा नाङ्लोमा बत्ती लिएका दुलहाका दिदीबहिनीहरुले बेहुला बेहुलीलाई घर प्रवेश गर्ने दैलो छेक्छन् । दरै जातिमा विधवा भाउजुलाई देवरले राख्ने चलन पनि छ । पहिला पहिला स्वास्नी पोइल गएमा जारपोइले साधु पोइलाई रु. ६५/- जारी तिर्ने र बुझ्ने चलन थियो भन्ने किंवदन्ती रहेको छ । (श्रोतः चितवन दर्पण-धर्मराज थापा)

दराइहरुको अन्तिम संस्कार

दराइ आफन्तिका मृत्युको आसोच १३ दिन बार्ने गर्दछन् । मृतकको लाशलाई नदी खोलामा लगेर जलाउने वा जमिनमा गाडेर बिसर्जन गर्दछन् । किरियापुत्रीले हरेक दिन नदीमा गएर पितृको नाउँमा पानी र जाँडको तर्पण दिने परम्परा रहेको छ । घरका सासु बुहारी अविवाहित छोरीहरु, विवाहत छोरीहरु, विवाहित दिदी बहिनीहरु र छरछिमेकीहरुले पितृलाई पिण्डस्वरुप दालभात, तरकारी, माछा, मासु र पितृका मनपसन्द चिजहरुमा सूर्ति चुरोट र सलाई लगायत बस्तुहरु अर्पण गर्दछन् ।

दराइहरुको मुख्यापाब्नी सोहोराइ पाब्नी हो । सोहोराइ पर्व हरेकवर्ष तिहारको बेलामा मनाइन्छ । चालु वर्षमा मरेका पितृहरुको स्मरणमा सोहोराइ पाब्नी मनाउने चलन रहेको छ । यो नेवारहरुको गाइजात्रा जस्तै लागेपनि धेरै नै फरक देखिन्छ । यसैगरी गुरुङहरुको अर्र्घौ र दराइहरुको सोहोराइमा धेरै समानता भएपनि अलिअलि भिन्नता पाइन्छ । अर्र्घौ र सोहोराइ पछि दराइ जातिले बाजे बज्यै पूजा बाहेक वार्षिक तर्पण गर्दैनन् । सोहोराइ पर्वलाई दराइहरुको वार्षिक पितृतारणको कर्म भनिन्छ । सोहोर्राईमा यदि कुनै मृतक तिहारे औंसीकै दिन वा तीन, पाँच, सात, नौ वा एघार दिन अगाडि मृत्यु भएको रहेछ भनेपनि सोहोराइ गर्ने परम्परा रहेको छ ।

तनहुँका दराइ समुदायको परम्परागत संस्कार अनुसार सोहोराइ पाख्नी गर्दै । तस्विर : भञ्ज्याङ

सोहोराइमा टाँटी बनाउने, टाँटीमा चामलको पिठो मुछेर बनाइएको पितृको फूलो बनाएर सजाउने र पुरेत (ज्वाई)ले भने अनुसार पूजाआजा गङ्गा जलतर्पण, पितृलाई अनादिका चामल तथा मकैबाट बनाइएको जाँड र खाना, माछा, मासु, चढाउने गरिन्छ । घरका तर्फ चल्लाहरुको बलि अर्पण पश्चात चेलीबेटीका तर्फबाट ल्याइएका कुखुराहरुको बलि चढाइसकेपछि नाचगानको सुरुआत गरिन्छ । सोहोराइको दिन दराइका युवायुवती, बृद्धबृद्धा र बालबालिकाहरु हृदय ओलेर गीत गाएर, नाच्ने र रम्ने गर्दछन् । नाच गानका साथसाथै पितृको फुलोलाई नदीमा सेलाउन लैजाने परम्परा रहेको छ । पहिला पहिला तीनदिन हुने सोहोराइ आजकल एकदिन हुने र औंसीका दिन फूलपाती लैजाने र दरै समाज भवन (पहिला मुखियाको घर)बाट आगो सुद्धिकरण गरेर आ-आफ्नो घरमा लैजाने परम्परा रहेको छ ।

एकपटक नेपाल सरकारका सिपाहीहरु घर बिदाबाट आफ्नो गणमा फर्कदा दराइहरुले सोहराइ पाब्नीको दस्तुरी मागे रे । दराइहरुले सोहराइमा दस्तुरी मागेका हुँदा नेपाले सिपाहीहरुले दराइहरुको सोहराइ रोक्का गरी पाउँ भनि निवेदन गरे रे । राजाले दराइहरुको सोहराइ पर्व बुझ्न पठाउँदा जाँचकीहरुले दराइका युवा युवतीहरु श्रृंगार रसका गीत गाएर आपसमा नाचिरहेका पाए रे । माया पिरतीका भावनामा बूढाबूढीहरु पनि सोहोराइमा रौसिएर नाचिरहेका देखिएको कुरा जाँचकीहरुले राजामा जाहेर गर्दा दराइहरुको सोहर्राई पर्व कहिल्यै रोक्का नगर्नु भन्ने आदेश भएकाले अहिलेसम्म दराइहरुले स्वतन्त्र ढङ्गले पितृतारण सोहर्राई पर्व भव्यरुपले मनाउँदै आएको पाउँदछौं । (श्रोतः चितवन दर्पण धर्मराज थापा)

दराइजाति र बाँसुरीको सन्निकटता

दराइहरुको शुभकर्ममा बजाइने साँस्कृतिक बाजा बासुरी नै हो । एक दिन भगवान श्रीकृष्ण घुम्दै घुम्दै सेती नदीको सराङघाट तर्दै रहेछन् । बोटेले डुङ्गा राम्रोसंग चलाएर नदी पार गराइ दिएको खुसियालीमा भगवान श्रीकृष्णले आफ्नो बाँसुरी बोटेलाई दिएका थिए । बोटेले उक्त बाँसुरी नदीमा बगाएछ । नदीमा बग्दै आएको बासुरीलाई पानीमा खेल्ने दर्राईले फेला पारेछ । भगवान श्रीकृष्णको बासुरी बोकेर कदमको रुखमा चढेर बजाउँदा सबैले प्रशंसा गरेछन् । जीवनको चैतन्यलाई ब्युँझाउने, जगाउने, हँसाउने, रुवाउने, करुणाकोमूल फुटाउने बासुरी दराइहरुको सांस्कृतिक अभिन्न अङ्ग बन्न पुग्यो । त्यही बासुरीलाई दर्राई भाषामा बाँसी भनिन्छ । ब्यास-४ जुडिपानी निवासी खुनबहादुर दराइसंग बुझ्दा बाँसुरी भन्दा केही सानो तर बाँसुरी जस्तै अलिकता सानो बाजालाई बाँसी भनिन्छ भन्ने थाहा हुन आयो । बाँसुरी बज्दासम्म दाजुभाइ दिदीबहिनी सबैले नसुतीकन गीत गाउनु पर्दछ । अन्ततः त्यही बाँसुरीको धुनले सबैको आत्मालाई ब्युझ्याइ रहने विश्वास रहेको छ । दर्राई जातिहरु बाँसका साथमा मान्द्री मादल, डम्फु खूंजडी घुँगुबाजा ढोलक झ्याली झुर्माहरुको पनि प्रयोग गर्दछन् ।

दराइहरुको खानपान र भाँडा वर्तन

दराइहरु दालभात तरकारी नै प्रियो हो । खास गरेर दराइहरुको सबैभन्दा मनपर्ने खाना मकैबाट बनेको जाँड हो । उनीहरु बिहान काम गर्न जानु भन्दा पहिले, बिहानको खाना खान बेलामा, दिउँसोका खाजा र साँझको मुख्य पेयपदार्थ पनि जाँड नै प्रयोग गर्न रुचाउँछन् । पहिला पहिला दराइहरु माटोबाट बनेका भाँडाहरु प्रयोग गर्दथे तर आजकल आधुनिक भाँडाकुँडा प्रयोग गर्दै आएको पाउँदछौं । तर आजकल स्टील, चरेस र ढलोटका भाडा तथा पे्रसरकुकर र राइसकुकरको प्रयोग गरेको पाउँदछौं ।

दराइहरुको नाचगान

आफ्नै भाषा, आफ्नै रीतिरिवाज र संस्कृतिका धनी दरैहरुको सबै भन्दा प्रिय गीत र नाच चुड्का नै हो । दरैहरु करुवा (चुड्का) लगाउने, दसैंनाच, सोरठी नाच र घाँटु नाच्ने र रोदी बस्ने गर्दछन् । मानिस जन्मदा होस या मानिसलाई घाटमा लैजाँदा पनि दराइहरु बाँसुरी बजाउँदै गीत गाउने गर्दछन् । दराइहरुको करुवा (चुड्का) मा ठिटाहरुले गीत गाउने र खैजडी बजाउने गर्दछन् भने ठिटीहरु बेजोड हाउभाउका साथ पुतली झैं फुरुरु नाच्ने गर्दछन् ।

दराइहरुको भाषा र भेषभुषा

अनुहारले मङ्गोल मूलका देखिने दराइहरुको भाषा भोट बर्मेली अन्तर्गत नभएर भारोपेली भाषा परिवारको एक उपभाषिकाको रुपमा देखिन्छ । साँच्चै भन्ने हो भने दराइहरुले बोल्ने गरेको भाषा नेपालका मिथिलाञ्चल बोलिने मैथली भाषासंग धेरै मिल्दोजुल्दो देखिन्छ ।

दराइहरु आफ्नै बारीमा कपास खेती गर्दथे । त्यही कपासलाई तान चर्खामा हालेर धागो काट्ने गर्दथे । यसरी निकालिएका धागोलाई हर्रोको बोक्रा पकाई निकालेको कालो खोटीमा रङ्गाइएका कपडाहरु बुन्ने गर्दथे । यसरी तयार गरिएको कपडालाई घरबुना कपडा भन्ने गरिन्थ्यो । यसरी तयार गरिएका घरबुना कालो गाउनको चोलो, छिटको गुनिया तथा कालै साडी, पहेंलो पटुकी, पोते र मजेत्रो लगाउने परम्परा रहेको छ । तर आजकलका महिलाहरु साडी चोलो तथा ब्लाउज, कुर्था सुरवाल, सर्ट फर्क, सर्ट-पायन्ट र घर बस्दा ब्लाउज लुंङ्गी लगाउने गरेको पाइन्छ ।

सामन्यतया दराइ महिलाहरु गरगहनाहरुमा सिरफूल, ढुङ्ग्री, मुगी, टिकिया, बुलाकी, मारवाडी, औंठी सिलमुन्द्री, तिलहरी, मालीहार, नौगेडी, जन्तर, चुरा, कान छेडेर दुम्सीका काँडा, गलामा मुगाको माला, टाउकोमा मुजुरको प्वाँख लगायतका चिजहरुको प्रयोग गर्दछन। तर आजकल रानीहार पनि लगाउन थालेकाछन् । पुरुष दराइहरु भने छातीको भागमा कालो आस्कोट, बख्खु, पेटोभोटो, कम्मरमा पटुका र कमर तल कछाड लगाउने गर्दथे । आज भन्दा पहिलेका दराइहरुको स्पेसल लवाइमा लाजको पोको ढाक्ने सेतो धरो लगाउने गर्दथे जस्लाई लंगौटी भन्ने गरिन्छ । तर आजकल आधुनिक दराइहरु सर्ट प्यान्ट, दौरा सुरवाल र कोट लगाउन थालेका छन् ।

अन्त्यमा

वि.सं. २०७८ को जनगणना अनुसार सिमान्तकृत समुहमा राखिएका दराइहरुको कुल जनसंख्या १८ हजार ६९५ रहेको छ । दराइहरुको बसोबास रहेको जिल्लामा तनहुँ, चितवन, नवलपुर, लमजुङ, गोरखा, धादिङ, कपिलबस्तु, कैलाली र कास्कीमा नै पर्दछन् । नेपालमा हालसम्म दरैहरुमा डाक्टर डिग्री हासिल गर्ने दरै दरिनीहरु न्यून नै रहेका छन् । दराइहरुमा पि.एच.डि गर्नेहरुमा रुद्रबहादुर दरै, बिना दरै -व्यास-१ रतौली) रहेका छन् । दरैहरुको सामाजिक जनजीवन अझ पनि परम्परागत ढङ्गले चल्दै आएको छ । बोटेहरुसंग उनीहरुको पुरानो सम्वन्ध रहेको छ । “आजकल बोटे र दराइका छोराछोरी बीच बिहेबारी चल्दैन तापनि वालुवा माथि जाल ओडने र ओच्छ्याउने बोटे दराइहरुको दिनचर्या देख्दा दराइ बोटेका तरुनी तन्देरी बीचको घुलमिल र नाचगानले बाहिर देख्दा जे देखिएता पनि भित्रभित्र यिनीहरुको जीन्दगी साटासाट भएन भन्न सकिंदैन ।” (श्रोतः तनहुँको फूलबारी धर्मराज थापा)

अन्त्यमा दराइहरुको मुख्य पेशा भनेको नदीमा डुङ्गा तार्नु र माछा मार्नु नै हो । तर माछा मारेर जिविकोपार्जन गर्ने व्यवसाय संकटमा पर्दै गएपछि अधिकांश दराइहरु कृषि पेशामा नै संलग्न हुँदै आएका छन् । कृषि पेशाले खान लाउन नपुगेपछि दराइहरु बैदेशिक रोजगारिमा होमिन पुगेका छन् । अहिले उनीहरुको आर्थिक सम्बृद्धि, लोपको संघारमा पुगेको मातृभाषाको संरक्षण र सम्वर्द्धनमा स्थानीय जनसमुह, स्थानीय सरकारदेखि प्रदेश र केन्द्र सरकारसम्मको ध्यान पुग्नु अत्यन्त जरुरी रहेको छ ।

श्रोत सन्दर्भ :
– चितवन दर्पण (धर्मराज थापा)
– तनहुँसुर र सेरोफेरो (देब बस्न्यात)
– दराइलाई पराइ व्यवहार (प्रेमप्रकाश चौधरी-इण्डिजिनियस भ्वाइस)
– दुरा इतिहास र संस्कृति (यम बहादुर दुरा)
– तनहुँ दमौलीका दर्राई जातिको अन्तिम संस्कारमा सोहराइ पाब्नी
(देब बस्न्यात)
– दराइ सन्देश पत्रिका चितवनबाट प्रकाशित
– नेपालको इतिहास र संस्कृति एक झलक (हरि प्रसाद श्रेष्ठ)
– नेपाली समाज र संस्कृति
(कमलराज शर्मा)

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker