कोरोना संक्रमण जोखिमका बीच चार महिनापछि खोल्न थालियो विद्यालय

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँका अधिकांश विद्यालय चार महिनापछि खोलिएका छन् । कोरोना कहरका कारण गत वैशाख दोश्रो सातापछि बन्द हुन पुगेका अधिकांश विद्यालयहरु भदौको तेश्रो हप्ता लागेपछि खुल्न थालेका छन् । जिल्लाका १० वटै स्थानीय तहले स्वास्थ्य सुरक्षाका सामाग्रीको प्रयोग तथा मापदण्ड पालना गरी विद्यालय खोल्दै लगिएको छ । यता स्थानीय प्रशासनले कोरोना संक्रमण जोखिम कायमै रहेकाले तत्काल भौतिक रुपमा विद्यार्थी सहभागी गराइ पठनपाठन नगराउन भन्दै आएको छ । स्थानीय पालिकाहरुले स्वास्थ्य मन्त्रालयद्वारा जारी स्मार्ट लकडाउनको मापदण्डलाई पूर्ण पालना गरी विद्यालय खुल्ला गरिएको बताएका छन् ।

करिब चार महिना पछि विद्यालय खुल्ला भएपछि विद्यार्थीहरु पनि निकै खुशी र उत्साहका साथ विद्यालय पुगेका छन् । व्यास नगरपालिका-१ तालघारेकी सिवानी परियार लामो समयपछि झोला बेकेर विद्यालय जान पाएकोमा निकै खुसी छिन् । कोरोना कहरका कारण बन्द भएको विद्यालय करिव ४ महिनापछि खुल्दा उनी झोलामा कितावकापी बोकेर विहान ९ बजे लागत्तै विद्यालय हिडेकी थिइन् ।

करिव आधा घण्टाको पैदल यात्रामा विद्यालय पुगिने भएपछि उनी साथीहरुसंगै रमाउदै विद्यालय आएकी थिइन् । उनीसंगै आएका साथीहरुपनि विद्यालय जान पाएकोमा निकै खुसी देखिन्थे। व्यास-१ भादगाउँस्थित जलदेवि माध्यमिक विद्यालयको कक्षा ९ ‘ए’ मा अध्ययनरत सिवानी विभिन्न समस्यका कारण अनलाइन कक्षामा पनि सहभागि हुन नसकेको बताइन् ।

उनले भनिन्, ‘विद्यालयले अनलाइनमा पढाएपनि मसंग अनलाइन कक्षामा सहभागी हुन मिल्ने मोवाइल छैन । आफन्तको मोवाइल मागेर डाटा प्रयोग गरी मुस्किलले एक हप्ता अनलाइन कक्षमा सहभागी भएको थिए । तर त्यसरी पढेको भन्दा विद्यालयमै पढ्न पाउदा खुसी लागेको छ ।’

अनलाइन कक्षा पनि एकतर्फी भएको र अनलाइनबाट पढ्न र शिक्षकबाट पढाइएका कुरा बुझ्न निकै सकस रहेको अुनभव उनी र उनका साथीहरुले सुनाए । ‘कक्षा कोठामै उपस्थित भएको जसरी अनलाइन कक्षामा नजानेको कुरा सोध्न सजिलो नहुने रहेछ’, उनले भनिन्, ‘चार महिनापछि विद्यालय आएर साथीहरुसंग एउटै कक्षामा बसेर पढ्न पाउदा खुसी लागेको छ । नबुझेका र नजानेका कुरा शिक्षकहरुसंग प्रत्यक्ष सोध्न पनि सजिलो भएको छ ।’
कोरोना भाइरस संक्रमण त्रासका बिच विद्यालय आउन डर लागेको व्यास-४ स्थित डमौली मोडल एकेडेमीको कक्षा १० की छात्रा स्वइच्छा मजकोटीले बताइन् । उनले भनिन्, ‘सधै कोरोना कोरोना भनेर बस्न पनि त भएन, आफ्नो भविष्य पनि हेर्नुपर्‍यो । त्यसैले स्वास्थ्य सुरक्षाका सावधानी अप्नाएर भौतिक रुपमै विद्यालयमा उपस्थित भएका छौं ।’

विद्यालयले अनलाइन कक्षा चलाएपनि डाटा प्रयोग गरी सधै अनलाइनमा सहभागी हुन मुस्किल हुने उनले बताइन् । ‘अनलाइनभन्दा भौतिक रुपमै कक्षाकोठामा बसेर पढ्न पाउदा खुसी लागेको छ’, उनले भनिन्, ‘एक्लै कोठामा बसेर पढ्नुभन्दा साथीहरुसंग बसेर पढ्दा पढाइमा पनि मन लाग्छ ।’

यस्तै, जलदेवीमा अध्ययनरत कक्षा-३ की ८ वर्षीया करिस्मा लौडरी पनि भौतिक दुरी कायम गरी कक्षा कोठामै बसेर पढिरहेकी छिन् । ‘घरमा भन्दा स्कुलमै पढ्न रमाइलो लाग्छ’ उनले भनिन्, ‘पहिले एउटा बेञ्चमा ४ जना बस्थ्यौं, अहिले २ जना मात्र बस्छौं । मिसले मास्क नखोल र टाढाटाढा बस भन्नुभएको छ ।’

विद्यार्थीलाई अनलाइनमा सहभागी गराउन निकै मुस्किल हुने गरेको जलदेवीकी शिक्षिका रिमा आले रानाले बताइन् । उनले भनिन्, ‘साना विद्यार्थीका अभिभावकले जुम खोलेर विद्यार्थीलाई अगाडि राखिदिने र आफु अन्य काममा व्यस्त हुने हुँदा सिकाइ प्रक्रिय प्रभावकारी हुन सकेको थिएन ।’ अनलाइनबाट पठनपाठन गराउदा जम्म ३५ देखि ४० प्रतिशत विद्यार्थीलाई मात्र सहभागी गराउन सकिएको विद्यालयले जनाएको छ ।

यस्तै, विद्यार्थी संख्या कम भएको र सबै विद्यार्थीमा अनलाइन कक्षाको पहुँचमा नपुग्दा आवश्यक स्वास्थ्य सावधानी अप्नाएर विद्यालय संचालन गरिएको दमौली मोडल एकेडमीका प्रिन्सिपल प्रकाश खड्काले बताए । उनले भने, ‘अनलाइनमा सहभागी भएका विद्यार्थीहरु पढेपनि अन्य विद्यार्थीहरु सिकाइबाट बञ्चित हुनु परेको थियो, त्यसैले नगरपालिकाको निर्देशन अनुसार विद्यालय सञ्चालनमा ल्याएका हौं ।’

तनहुँका स्थानीय पाकिलाहरुले स्मार्ट लकडाउनको अवधारणलाई पालना गरी अहिले प्रत्यक्ष रुपमा विद्यालय खोल्न थालेका छन् । बैकल्पिक माध्यमबाट पठनपाठन गराउने भनिएपनि त्यो प्रभावकारी नहुँदा स्वास्थ्य सुरक्षाका सामाग्रीको प्रयोग तथा कडाइका साथ मापदण्ड पालना गरी भौतिक रुपमै विद्यालय खोली पठनपाठन सुरु गरिएको व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानेले बताए ।

‘विद्यार्थीको सिकाइ प्रक्रियालाई निरन्तरता दिन र अनलाइनमा छुटेका विद्यार्थीहरुलाई पनि समेट्नका लागि एक सय भन्दा कम विद्यार्थी भएको विद्यालयमा नियमित दुइ बजेसम्म कक्षा सञ्चालन गर्न अनुमति दिएको छ’, उनले भने, ‘एउटा कक्षा कोठामा २५ जना भन्दा बढी नरहने गरी विभिन्न समुह वा जोर बिजोर, आलोपालो गरी बढीमा चार घण्टा कक्षा सञ्चालन गर्न निर्देशन दिइएको छ । विद्यालय खुलेदेखि प्रमुख प्रशासकीय अधिकृत र शिक्षा शाखा प्रमुख सहितको टोलीले विद्यालय अनुगमन गरिरहेका छन् ।’

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker