तनहुँ बस दुर्घटना अपडेटः घाइते चार जनालाई चितवन पठाइयो

तनहुँ : डुम्रे–बेँसीसहर सडक खण्ड अन्तर्गत तनहुँको भानु नगरपालिका–१ अँधेरीखोला नजिक शुक्रबार साँझ भएको बस दुर्घटनामा परी घाइते भएका चार जनालाई थप उपचारका लागि चितवन पठाइएको छ ।
घाइते २० मध्ये चार जनालाई चितवन पठाइएको र बाँकीको बन्दीपुर गाउँपालिकाको डुम्रे बजारस्थित लक्ष्मी अस्पताल र मोती मेडिकल हलमा उपचार गरिएको थियो ।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक राजु अधिकारीका अनुसार मोती मेडिकलबाट चितवन मेडिकल कलेज पठाइएको हो ।
बस चालकले नियन्त्रण गुमाई सडकको बाँया साइडमा पल्टिदा घाइते भएका १६ जना स्थानीय मेडिकलमा उपचार पश्चात् डिस्चार्ज भएको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिए ।
घाइतेमध्ये रौतहट दुर्गा भगवती गाउँपालिका–५ बस्ने ४३ वर्षीय राम पुकार सुनार, लमजुङको दोर्दी गाउँपालिका–९ बस्ने सात वर्षीय रोजित विक, सोही ठाउँ बस्ने ४५ वर्षीया सुशीला विक र राइनास नगरपालिका–६ बस्ने ४० वर्षीया विमला विकलाई चितवन पठाइएको छ ।
चितवनको नारायणगढबाट लमजुङको सदरमुकाम बेँसीसहर जाँदै गरेको ग१ख ६४९८ नम्बरको बस दुर्घटना हुँदा सवार ४० मध्ये २० जना घाईते भएको प्रहरीले जनाएको छ । दुर्घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










