तनहुँको ढोरबाराही मन्दिरमा भक्तजनको घुइँचो

भञ्ज्याङ न्यूज

विजयादशमीको नवौँ दिन नवमीको अवसरमा तनहुँको प्रसिद्ध धार्मिकस्थल ढोरबाराही मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । शुक्लागण्डकी नगरपालिका–९ स्थित प्रसिद्ध ढोरबाराही मन्दिरमा पूजाआजाका लागि आज बिहानैदेखि भक्तजनको भीड लागेको हो ।

मन्दिरमा पूजाआजाका लागि तनहुँका अतिरिक्त छिमेकी जिल्लाबाट पनि भक्तजन आएको स्थानीय मनोज बानियाँले जानकारी दिनुभयो । “मन्दिरमा भक्तजनको लाइन लामो छ, घन्टौँ लाइनमा बसेर भक्तजनले पूजाआजा गरेका छन्,” उहाँले भन्नुभयो । मनोकाङ्क्षा पूरा हुने विश्वासकासाथ ढोरबाराही मन्दिरको दर्शनका लागि भक्तजन आउने गर्दछन् ।

मन्दिरमा तनहुँसँगै कास्की, स्याङ्जा, लमजुङ, पाल्पा, गोरखा, चितवनलगायत जिल्लाबाट भक्तजन आउने गरेका छन् । जङ्गलले चारैतिर घेरिएको पहाडकोबीचमा मनोरम स्थानमा मन्दिर छ । मन्दिरसँगै रहेको पोखरी र पोखरीका माछाले भक्तजनको मन रमाउँछ । ढोरबाराहीस्थित पोखरीमा बेला–बेला लहरी छुट्ने गर्दछ । रहस्यमी लहरीलाई धार्मिक आस्थाको रुपमा लिइन्छ । ढोरबाराही मन्दिरलाई भगवान विष्णुको तेस्रो अवतारका रुपमा लिने गरिन्छ ।

हिमवत्खण्ड पुराणमासमेत चर्चा गरिएको ढोरबाराही मन्दिरमा देवीको चर्तुवाहुमूर्ति समेत पाइन्छ । मन्दिरमा १९०४ सालदेखि चढाइएका घण्टसमेत छन् । ढोरबाराही माता प्रशन्न हुँदा लहरी छुट्ने किँवदन्ती छ । मन्दिरका पुजारी लम्सालका अनुसार पोखरीको मूलबाट पानीको ठूलो भल आउने र एकैछिनमा स्वतः घट्दै जान्छ ।

पोखरीमा हिउँदयाममा केही समय लहरी छुट्दैन । हिउँदको समयमा ढोरवाराही माता माइत जाने भएकाले लहरी नछुट्ने कथन छ । पोखरीको लहरी छुट्ने द्वारमा रजबाम बस्ने गर्दछ । रजबाम विशेष गरि लहरी छुट्ने बेला पोखरी बाहिर निस्कने र उक्त समयमा रजबामको दर्शन गर्दा शौभाग्य प्राप्त हुने विश्वास रहँदै आएको छ ।

मन्दिर जीर्णोद्धारका क्रममा फेला परेका घण्टमध्ये एउटामा नेवारी भाषामा नेपाल संवत ९६७ लेखिएको पाइएको छ । यसैको आधारमा पनि मन्दिरले धार्मिक र ऐतिहासिक महत्व बोकेको प्रमाणित हुन्छ । मन्दिरमा नयाँ वर्षको दिन, वैशाख महीनाभर, बडादशैँ, चैतेदशैँको नवदुर्गा अवधिभर, श्रीपञ्चमी र हिउँदयाममा विशेष पूजा अर्चनाका लागि दर्शनार्थी आउने गर्छन् । एकादशी, औँशी, सोह्रश्राद्ध, तीजको पञ्चमी तथा साउन महिनाभर मन्दिरमा पशुवली दिइँदैन ।

नवमीको दिन आज प्रसिद्ध धार्मिकस्थल व्यास नगरपालिका–१४ स्थित छाब्दीवाराही मन्दिरमा पनि भक्तजनको भीड लागेको छ । मन्दिरमा पूजाआजा गरेर मनले चिताएको पूरा हुने धार्मिक विश्वास रहँदै आएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर थापाले बताउनुभयो ।

यसका अतिरिक्त व्यास नगरपालिका–४ स्थित तनहुँ कालिका, म्याग्दे गाउँपालिका–५ स्थित अकलादेवी मन्दिरमा पनि भक्तजनको घुइँचो लागेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker