तनहुँको म्याग्देमा २०५ जनाको निःशुल्क आँखा परीक्षण
भञ्ज्याङ समाचारदाता/म्याग्दे

तनहुँको म्याग्दे गाँउपालिकाले सञ्चालन गरेको निःशुल्क आँखा शिविरमा आइतबार २०५ जनाको आँखा परीक्षण गरिएको छ । हिमालय आँखा अस्पताल पोखराको प्राविधिक र सुर्य नेपाल प्रालिको आर्थिक सहयोगमा आँखा शिविर सञ्चालन गरिएको हो ।
शिविरको शुभारम्भ गर्दै गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले पालिका जनताको स्वास्थ्यमा अति नै संवेदनशिल रहेको बताए । ‘जनता नै सर्वोपरि भएको हुँदा जनताको स्वास्थ्य जस्तो विषयमा पालिकाले सदैव भुमिका खेल्दै आएको छ’, उनले भने, ‘पालिकाले एकीकृत घुम्ति शिविर संचालन गरी जनतालाई सेवा दिइसकेको र त्यसक्रममा पाठेघरको मुखको क्यान्सर देखिएको विरामीलाई उपचारको लागि छिट्टै व्यवस्था समेत गर्ने तयारी भएको छ ।
शिविरको पहिलो दिन १२६ जना महिला र ७९ जना पुरुषको आँखा परीक्षण गरिएको छ । परीक्षणको क्रममा ३ जनाको जलविन्दु र १५ जनाको मोतिविन्दु भएको समस्या देखिएको छ । उनिहरुलाई थप उपचारका लागि हिमालय आँखा अस्पताल पोखरा रिफर गरिएको पालिकाका स्वास्थ्य शाखा प्रमुख दिनेश पण्डितले बताए । जलविन्दु र मोतिविन्दु भएको विरामीको निःशुल्क उपचार हुने हिमालय आँखा अस्पतालले जनाएको छ ।
यस्तै, शिविरमा आएका विरामीहरुलाई आँखा सम्वन्धी औषधी समेत वितरण गरिएको छ भने १२५ जना आँखाको विरामीलाई चस्मा वितरण गरिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारीले बताए ।
शिविरमा पहिलो चरणको कोभिड-१९ विरुद्धको खोप ६ जनालाई र दोश्रो चरणको खोप १२० जनालाई लगाईएको छ । शिविरमामा आँखाको समान्य परिक्षण, उमेरका कारण नजिक नदेख्ने समस्या भएकाहरुको उपचार, मोतिविन्दु भएको ज्येष्ठ नागरिक विरामीको पहिचान र रिफर गरिनेछ ।
जीवनको सबैभन्दा महत्वपूर्ण आँखाको उपचार सरसफाईमा ध्यान दिनुपर्ने पालिकाका उपाध्यक्ष वालकृष्ण घिमिरेले बताए। उनले आँखाको ज्योति जीवन भएकाले यसको उपचारमा पालिका गम्भिर रहेको बताए । पालिकाले यसपछि दाँतको निःशुलक उपचार गर्न लागेको समेत उनले बताए । शिविर उद्घाटन समारोहमा पालिकाका वडाध्यक्षहरु, कार्यपालिका सदस्य, हिमालय आँखा अस्पताल, सुर्य नेपाल प्रा.लि, तनहुँ हाईड्रो पावरका प्रमुखहरुले आ-आफ्नो विचार व्यक्त गरेका थिए । गाउँपालिकाले १५ गते मीन मावि थर्पु र १६ गते जामुने स्वास्थ्य चौकी जामुनेमा शिविर सञ्चालन गरिने भएको छ ।