स्वास्थ्य सामग्रीका लागि ७२ पालिकामा बजेट, पिसिआर रिपोर्ट २४ घन्टाभित्र उपलब्ध गराउने गरी काम गर्न निर्देशन

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पदभार ग्रहण गर्नुभएको छ । सरकारले हालै प्रदेशमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय थप गरेपछि मुख्यमन्त्रीले मन्त्रालयमा पुगेर जिम्मेवारी सम्हाल्नुभएको हो ।
पदबहालीका क्रममा उहाँले स्वास्थ्य सुरक्षा सामग्रीसहित कोरोना रोकथामका कार्यक्रममा खर्च गर्ने गरी मागका आधारमा प्रदेशका ७२ वटा स्थानीय तहमा रु पाँच लाखका दरले रकम उपलब्ध गराउने निर्णय गर्नुभएको छ ।
कोरोना सङ्क्रमितहरुको उपचारका लागि अक्सिजनसहितको कोभिड–१९ केयर युनिट (आइशोलेसन सेन्टर) सञ्चालनका लागि संरचना तयार, अक्सिजन पाइपलाइन जडान, अक्सिजन सिलिण्डर खरिद, फेस मास्क तथा पल्स अक्सिमिटर व्यवस्थापनमा सो बजेट विनियोजन गरिएको बताइएको छ ।
पदबहालीपछि कर्मचारीहरुलाई निर्देशन दिँदै मुख्यमन्त्री गुरुङले कोरोना भाइरसँग जुध्नका लागि खोप खरिद र भण्डारण गर्दै गाउँगाउँसम्म खोप कार्यक्रम लैजानुपर्ने बताउनुभयो । पिसिआर परीक्षणको नतिजा आउन ढिलाइ भएकाले समेत सङ्क्रमण तीव्ररूपमा फैलिएको बताउँदै उहाँले पिसिआर रिपोर्ट २४ घन्टाभित्र उपलब्ध गराउने गरी काम गर्न निर्देशन दिनुभयो ।
सरकारले स्वास्थ्य मन्त्रालयलाई स्मार्ट बनाउने र स्मार्ट हेल्थको कार्यक्रम अघि बढाउने योजना रहेको बताउँदै मुुख्यमन्त्री गुरुङले जिल्ला अस्पतालहरुको सुदृढीकरण सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्नुभयो ।
कोभिड–१९ रोकथाम र उपचारका लागि निजी अस्पतालहरु र पालिकाहरुसँग समन्वयन गरी प्राविधिक कर्मचारीहरुलाई प्रोत्साहन गर्नुपर्ने बताउँदै उहाँले भन्नुभयो, “यो सङ्कटको बेला हो, युद्धको बेला हो । महामारीलाई परास्त गर्न सबैले सहकार्य गर्नुपर्छ, समन्वय गर्नुपर्छ ।” रासस










