कुकुरको बन्ध्याकरण

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँमा कुकुरको बन्ध्याकरण गरिदै । केन्द्रले सामुदायिक तथा घरमा पालिएका कुकुरबाट बढ्दो सडक दुर्घटनाको जोखिम र रेबिज रोगको सम्भावित संक्रमणलाई मध्यनजर गर्दै रेबिज खोप तथा बन्ध्याकरण अभियानलाई तीव्र पारेको छ । व्यास नगरपालिकाको समन्वयमा निःशुल्क पशु स्वास्थ्य शिविर सञ्चालन गरी अनियन्त्रित प्रजनन्ले जटिल बनेको सामुदायिक कुकुरको समस्या समाधानका लागि बन्ध्याकरणलाई प्रभावकारी उपायको रूपमा अघि सारेको छ ।

गण्डकी प्रदेश पोखरा र विभिन्न पालिकाबाट खटिएका १० जना पशु चिकित्सकसहित २६ जनाको टोलीले करिब १५० कुकुरलाई खोप तथा बन्ध्याकरण गर्ने लक्ष्य लिएको छ। नेपालले सन् २०३० भित्र रेबिज रोग पूर्ण रूपमा नियन्त्रण गर्ने अन्तर्राष्ट्रिय लक्ष्य हासिल गर्न अभियान सञ्चालन गर्दै आएको र यस अभियानका लागि तनहुँमा करिब तीन लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । तस्विर : भञ्ज्याङ










