वेलचौतारास्थित जिपी अस्पतालमा इलेक्ट्रोनिक मेडिकल रेकर्ड प्रणाली शुभारम्भ

तनहुँ : तनहुँको शुक्लागण्डकी नगरपालिका–५ वेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा इलेक्ट्रोनिक मेडिकल रेकर्ड प्रणाली शुभारम्भ गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मंगलबार एक कार्यक्रमका बीच उक्त प्रणालीको औपचारिक शुभारम्भ गरेका हुन ।
विश्व स्वास्थ्य संगठनको प्राविधिक सहयोगमा गत जेठ १४ गते अस्पतालमा यो प्रविधिको अभ्यास गरिएको थियो ।
इलेक्ट्रोनिक मेडिकल रेकर्ड प्रणालीको शुभारम्भ गर्दै मन्त्री पौडेलले आसन्न प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा अस्पताललाई तीन सय शय्या क्षमतामा विस्तार गर्न भारत सरकारसँग सम्झौता हुने जानकारी गराए । उनका अनुसार, अस्पतालको डिटेल प्रोजेक्ट रिपोर्ट अनुसार करिब रु. ६ सय करोड लागत स्वीकृत भइसकेको छ र भारतको स्वास्थ्य मन्त्रालयमा प्रक्रिया अघि बढिसकेको छ ।
मन्त्री पौडेलले अस्पताल स्तरोन्नतिको काम अघि बढ्ने भएकाले सो अवधिसम्म हालको जनरल अस्पताललाई व्यवस्थित रूपमा सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याए ।
उक्त कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य जितप्रकाश आले र श्यामराजा महतले जिपी कोइराला अस्पताललाई तनहुँ मात्र नभई राष्ट्रिय गौरवको संस्थाका रुपमा विकास गर्दै लग्नुपर्ने बताए ।
विश्व स्वास्थ्य संगठनका नेपाल प्रमुख डा. राजेश साम्बाजिराब पाण्डवले नेपालका स्वास्थ्य क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको उल्लेख गरे ।
अस्पतालका कार्यकारी निर्देशक डा. रामकुमार श्रेष्ठका अनुसार, इलेक्ट्रोनिक मेडिकल रेकर्ड प्रणाली सुरु भएसँगै टिकटिङ, बिलिङ, औषधि वितरण, परीक्षण रिपोर्ट लगायत सबै विवरण अनलाइन प्रणालीमार्फत सहज रूपमा उपलब्ध हुनेछन् । एक्स–रे र ल्याब रिपोर्ट सिधै चिकित्सकले अनलाइन हेर्न सक्ने भएकाले प्रिन्टको आवश्यकता नपर्ने, कागजी काम घट्ने र स्वास्थ्यकर्मीको समय उपचारमा बढी केन्द्रित हुने उनले बताए ।
उनका अनुसार, यस प्रणालीले कामको भार कम गर्नुका साथै उपचारमा हुने त्रुटी न्यून हुने, नीति निर्माण तथा अनुसन्धानका लागि उपयोगी हुनका साथै विरामीको विगतदेखि वर्तमानसम्मका सबै विवरण सजिलै हेर्न सकिने अपेक्षा गरिएको छ ।
दक्षिण एसियाको उत्कृष्ट श्वासप्रश्वास उपचार केन्द्रका रूपमा स्थापना गर्न सरकारले पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका नाममा केन्द्र स्थापना गरेको हो । केन्द्रलाई शुक्लागण्डकी नगरपालिकाको बेलचौतारामा ७४० रोपनी जग्गा प्राप्त भएको छ ।










