नयाँ वर्षमा बन्दीपुर आन्तरिक पाहुनाले भरिभराउ

नयाँ वर्ष २०८० मनाउन तनहुँको पर्यटकीय नगरी बन्दीपुर आन्तरिक पाहुनाले भरिएको छ । गण्डकी प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा विकसित भइरहेको बन्दीपुरमा नयाँ वर्ष मनाउन आन्तरिक पाहुनाको भीड लागेको हो ।

नयाँ वर्षलाई स्वागत गर्दै रमाउन बिहीबारदेखि नै बन्दीपुरमा पर्यटकको भीड बढेको बन्दीपुर पर्यटन विकास समितिका सचिव वसन्त पौडेलले जानकारी दिनुभयो । नयाँ वर्षका अवसरमा बन्दीपुरमा सडक खाना महोत्सव आयोजना गरिएकाले पनि यहाँ पर्यटक तानिएका हुन् ।

“हिजो राति सबैले हर्षोल्लासका साथ नयाँ वर्षको स्वागत गरेका छन्, पाहुना भरिभराउ छन्”, पौडेलले भन्नुभयो, “दिउँसैदेखि पर्यटकको चहलपहल बढेको थियो । त्यसमध्ये बास बस्ने पर्यटकको सङ्ख्या अधिक थियो ।”

हेरिटेज होटलका सञ्चालक किसान प्रधानले नयाँ वर्षमा बन्दीपुर पर्यटकले भरिएको जानकारी दिनुभयो । “बन्दीपुरको पर्यटन विस्तारै लयमा फर्किँदैछ, नयाँ वर्षमा आयोजना गरिएको सडक खाना महोत्सवले पर्यटन प्रवद्र्धनमा सहयोग पुगेको छ”, उहाँले भन्नुभयो । आज नयाँ वर्षको दिन सार्वजनिक बिदा भएकाले थप पर्यटकको आगमन बढ्ने विश्वास गरिएको उहाँले बताउनुभयो । “बिदामा घुम्ने संस्कृति विकास भएकाले पनि आज थप पर्यटक बन्दीपुर आउने आशामा छौँ”, उहाँले भन्नुभयो ।

बन्दीपुरका होटल व्यवसायीले आज होटलमा आउने पहिलो पाहुनालाई एउटा कोठा रु एकमा उपलब्ध गराउनेछन् । “सुस्ताएको बन्दीपुरको पर्यटन प्रवद्र्धनका लागि यो प्याकेज ल्याएका हाँै, होटलमै आएर कोठा बुक गर्दा पर्यटकले रु एकमा कोठा पाउँछन्”, प्रधानले भन्नुभयो, “त्यसका लागि होटलमै खाना, ब्रेकफास्ट गर्नुपर्छ ।” कोठाको रु एक भए पनि खानालगायत अन्य सुविधाको भने मूल्यसूचीअनुसारको पैसा लाग्ने प्रधानले बताउनुभयो ।

बन्दीपुरमा क्षेत्रीय होटल सङ्घसँग आबद्ध ६६ वटा होटल छन् । त्यसमध्ये केही होटलले यो प्याकेज ल्याएका छन् । बन्दीपुर हिमालय दरबारका सञ्चालक वैश गुरुङले सङ्घमा आबद्ध सबैमा यो प्याकेज नभए पनि धेरैजसो होटलमा एउटा कोठा रु एकमा उपलब्ध गराउने निर्णय भएको बताउनुभयो ।

तनहुँ उद्योग वाणिज्य सङ्घ बन्दीपुर बजार एकाइ, बन्दीपुर पर्यटन विकास समिति, क्षेत्रीय होटल सङ्घ, रेबान तनहुँको संयुक्त आयोजनामा नयाँ वर्षको अवसर पारेर बिहीबारदेखि तीन दिन सडक खाना महोत्सव सुरु भएको छ । ‘सडकमा खाऔँ, सडकमै रमाऔँ, आन्तरिक तथा बाह्य पर्यटक प्रवद्र्धन गरौँ’ भन्ने मूल नारासहित सडक खाना महोत्सव आयोजना गरिएको जनाइएको छ । सडक खाना महोत्सवका अवसरमा बजारमा रहेका होटल अगाडि नै बसेर पर्यटकले खान पाउनेछन् । साथै तीन दिनसम्म नै विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिनेछ भने विभिन्न जातजातिका संस्कृति प्रदर्शन गरिनेछ ।

नयाँ वर्षमा जिल्लाका युवायुवती पोखरा, चितवन जाने गरेकाले आफ्नै जिल्लाभित्र रमाउने वातावरण सिर्जना गर्न महोत्सव आयोजना गरिएको र यसले पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताउनुभयो ।

बन्दीपुरमा विशेषगरी चीन, फ्रान्स, जर्मनबाट विदेशी पर्यटक आउने गरेका छन् । विदेशी पर्यटक यहाँको हावापानी, रहनसहन, रीतिरिवाज र पुरानो घर देखेर आकर्षित हुने गरेको होमस्टे सञ्चालक राजु बानियाँले बताउनुभयो ।

सदरमुकाम दमौलीबाट १८ किलोमिटर डुम्रे हुँदै आठ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ । जहाँबाट मनोरम हिमशृङ्खला, पहाड, टाकुरा अवलोकन गर्न सकिन्छ । प्राकृतिक सुन्दरता बोकेको बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छ«े, धवलागिरिलगायतका हिमशृङ्खला देखिने भएकाले यहाँ पुग्ने जो कसैको मन लोभिने गर्दछ ।

बन्दीपुरमा होटल सङ्घसँग आबद्ध साना–ठूला गरी ७७ होटल सञ्चालनमा छन् । बन्दीपुरमा ग्रिनपार्क, होटल दरबार हिमालय फेवा, गामघर, वोल्डइन, बन्दीपुर माउन्टेन रिसोर्ट, बन्दीपुर प्यालेस, मगर भिजेललगायत होटल सञ्चालन छ ।

भक्तपुरे शैलीमा निर्माण गरिएको घर, टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्रलगायतका स्थल यहाँ आउने पर्यटकको आकर्षणको केन्द्रबिन्दु बन्ने गरेको छ । बन्दीपुरको पर्यटन प्रवद्र्धनका लागि गाउँपालिकाले पनि पहल गरिरहेको छ । बन्दीपुर आउने पर्यटकको बसाइ लम्ब्याउन विभिन्न पूर्वाधार निर्माण गरिएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker