ऐतिहासिक स्थल तनहुँसुरको पर्यटन प्रवर्द्धनका लागि रु २० करोड माग

कृष्ण न्यौपाने/दमौली

तनहुँको व्यास नगरपालिका-११ स्थित ऐतिहासिकस्थल तनहुँसुरको पर्यटन प्रवर्द्धनका लागि रु २० करोड माग गरिएको छ। तनहुँसुर भानु शान्ति निकुञ्ज बृहत् गुरुयोजनाका लागि रु २० करोड ४५ लाख ४० हजार प्रदेश सरकारसँग माग गरिएको हो । उक्त गुरुयोजना कार्यान्वयन मूल समितिले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीलाई भेटी मागसहितको ज्ञापनपत्र बुझाएको थियो ।

नेपालको धरोहरका रुपमा रहेको ऐतिहासिक, पुरातात्विक एवं धार्मिक महत्वको तनहुँसुरमा विभिन्न योजना निर्माणका लागि रकम माग गरिएको अध्यक्ष ध्रुवराज पण्डितले जानकारी दिनुभयो । व्यास नगरपालिका-११ मा आयोजित कार्यक्रममा पण्डितले मुख्यमन्त्री समक्ष उक्त मागपत्र प्रस्तुत गर्नुभएको थियो ।

बृहत् गुरुयोजनाअन्तर्गत तनहुँसुरमा पर्यटकीय पूर्वाधार निर्माण गरिने र त्यसका लागि बजेट अभाव रहेको उहाँले बताउनुभयो । “गुरुयोजना बनाएर तनहुँसुरको विकासमा लागेका छौँ, बजेट छैन”, अध्यक्ष पण्डितले भन्नुभयो, “प्रदेश सरकारमार्फत बजेट विनियोजन गराउन मुख्यमन्त्रीको ध्यानाकर्षण गराएका छौ ।”

समितिले तनहुँसुरमा प्रवेशद्वार, ढुङ्गाको सिँढी, सङ्ग्रहालय, दृश्यावलोकन, भवन निर्माणलगायत पूर्वाधार निर्माण गर्ने प्रस्ताव गरेको छ । तीन वटा प्रवेशद्वार निर्माणका लागि रु ३६ लाख, ढुङ्गाको सिँढी तथा रेलिङसहितको पैदलमार्ग निर्माणका लागि रु ३० लाख, सङ्ग्रहालय निर्माणका लागि रु ५५ लाख, दृश्यावलोकन भवन निर्माणका लागि रु ४० लाख, सामुदायिक घरबास प्रवर्द्धनका लागि रु ७५ लाख, खानेपानीको व्यवस्थाका लागि रु २० लाख बजेट माग गरिएको हो ।

यसैगरी भोरथोकगढी पार्क निर्माणका लागि रु ३५ लाख, वनभोज टहरा निर्माणका लागि रु छ लाख, स्टिलका वेञ्च निर्माणका लागि रु सात लाख, तनहुँसुर खड्गकाली मार्ग कालोपत्रका लागि रु ७५ लाख, कुँडापानी धानगोदाम कनिकेचौतारो पर्यटन मार्ग कालोपत्रका लागि रु ४५ लाख, गद्दीचौतारा तनहुँसुर कालिका केबलकार निर्माणका लागि रु ५० लाख बजेट माग गरिएको छ ।

आगामी आर्थिक वर्षको बजेटमार्फत उक्त योजनाका लागि बजेट विनियोजन गर्न मुख्यमन्त्रीसमक्ष आग्रह गरिएको र सकारात्मक प्रतिक्रिया प्राप्त भएको उहाँले बताउनुभयो । तनहुँसुर सेन वंशीय राजाले राज्य गरेको ठाउँ हो ।

तनहुँ जिल्लाको नाम तनहुँसुरबाट अप्रभंस भएर रहेको भन्ने किम्वदन्ती छ । पाल्पाका राजा मणिमुकुन्द सेनले आफ्ना जेठा छोरा भृङ्गीसेनलाई सन् १६१० मा तनहुँमा राज्य सञ्चालन गर्न पठाएको र उनी पछिका आठ सेनवंशी राजाले दुइ सय ३० वर्ष तनहुँसुरबाट राज्य गरेको इतिहास छ ।

तनहुँसुर दरवारका अवशेष, राजपरिवारले प्रयोग गरेका किल्ला र गढीहरू, धारा, तोप तथा अन्य हातहतियार, बारुदीखाना, राजाले न्याय निसाफ तथा कचहरी सञ्चालन गर्ने गद्दीचौतारा, साउने कुवा, कुँडापानी, बाइससिँढी चौतारी, ढुङ्गेसाँघु, फूलपाती ढुङ्गा, रानीपोखरी, धर्मशाला, रानीबगैचा, भगवतीपानी मन्दिर यहाँका पर्यटकीय सम्पदा हुन् ।

सन् १६७५ तिर पाल्पाका शक्तिशाली राजा मुकुन्दसेनले तनहुँसुरलाई आफ्नो राज्यमा मिलाएका थिए । तनहुँसुरको बारेमा प्रकाशित पुस्तक ‘मोतीको माला’मा उल्लेख भए बमोजिम राजा मुकुन्दसेनको मृत्यु पछि तनहुँ प्रदेशका प्रशासक छोरा भृङ्गीसेनले तनहुँलाई स्वतन्त्र राज्य घोषणा गरेका थिए । भृङ्गीसेनका छोरा हम्बिर सेन र धर्माङ्गद सेनबीच तनहुँ राज्यको उत्तराधिकारी हो हुने भन्ने विषयमा विवाद चलेको बताइन्छ ।

उक्त विवादमा दलभञ्ज्याङका रणभन्जन थापाले सहयोग गरेकाले राजा हम्बिर सेनले भाइ धर्माङ्गद सेनलाई तनहुँको राजगद्दीबाट हटाएका थिए । राजा हम्बिर सेनले भाइ धर्माङ्गद सेनलाई ‘तनहुँसुरको राजा तँ न हो’ भनेकाले तनहुँ र भाइ धर्माङ्गद सेनले ‘ल म जुङ्ग’ भनेकोले लमजुङ नाम बन्न गएको किम्वदन्ती छ ।

तनहुँसुरका अन्तिम राजा हरकुमारदत्त सेन र लमजुङका राजा वीर्रमर्दन शाह मनाङ, मुस्ताङ, पर्वत र पाल्पाको बाटो हुँदै शासनभार त्यागेर तनहुँको विरासत राज्य रामनगरमा पुगेर विश्राम लिएको बताइन्छ । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker