तनहुँको बन्दिपुर-१ को भैंसीगोठ बस्तिका घरघरमा खानेपानीको धारा निर्माण
भञ्ज्याङ समाचारदाता/बन्दिपुर

तनहुँको बन्दिपुर गाउँपालिका-१ भैंसीगोठ खानेपानी योजनाको निर्माण पूरा भएसंगै घरघरमा खानेपानीको धारा पुगेको छ। गाउँपालिकाको आर्थिक सहयोग, स्थानीयवासीबाट संकलित रकम र जनश्रमदान गरी खानेपानी आयोजना सम्पन्न गरिएको हो ।
कुवाँको पानी बोकेर उपभोग गर्दै आएका स्थानीयको घरघरमा पानीको धारा पुगेपछि स्थानीयवासी खुसी भएका छन् । कूल १९ लाख ६५ हजार रुपैयाँको लागतमा उक्त खानेपानी योजना सम्पन्न भएको भैंसीगोठ खानेपानी तथा उपभोक्ता समितिका अध्यक्ष सुस्मा कार्की शाहीले बताए ।
उक्त योजनाका लागि बन्दिपुर गाउँपालिकाबाट ११ लाख ५० हजार रुपैयाँ, उपभोक्ताबाट संकलित चार लाख ८५ हजार रुपैयाँ र तीन लाख ३० हजार रुपैयाँ बराबरको जनश्रमदानबाट खानेपानी योजना निर्माण सम्पन्न भएको बताइएको छ ।
खानेपानी योजनाबाट ३४ वटा धारा निर्माण गरी खानेपानी वितरण गरिएपछि त्यसक्षेत्रका ५३ घरपरिवार लाभान्वित भएका छन् । गाउँमा खानेपानीको धारा नहुँदा कुवाको पानी बोकेर ल्याउनुपर्ने बाध्यता हाटेको भन्दै स्थानीय हर्षित भएका छन् ।
बस्तीदेखि कुवा टाढा रहेका कारण पानीका लागि एक जन दैनिक खटाउनुपर्ने बाध्यता यहाँका बासिन्दाको रहेको उपभोक्ता समिति सदस्य लक्ष्मी थापाले बताइन् । उनले भनिन्, ‘वडास्थित खहरे खोल्सीको पानी लिफ्टिङ गरेर बस्तिमा पानी वितरण गरिएको हो । अब हामीलाई खानेपानीको सहज व्यवस्थापन हुने भएको छ ।
खोल्सीको पानी करिब ३०० मिटर उचाइमा लिफ्ट गरी टयाङ्कीमा संकलन गरी वितरणको व्यवस्था मिलाइएको वडाध्यक्ष भानुभक्त पोख्रेलले बताए । कुवाको पानी पिउन बाध्य यहाँका बासिन्दालाई सफा पानी खुवाउनका लागि बजेट उपलब्ध गराइएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले बताए । उनले भने, ‘गाउँपालिकाले खानेपानी, स्वास्थ्य, शिक्षा, व्यावसायिक पशुपालन, तरकारीखेती र विकास निर्माणका कार्यलाई प्राथमिकतामा राखेर काम गर्दै आएको छ ।’










