तनहुँ-१ उपनिर्वाचनका दिन अत्यावश्यक बाहेक सबै सवारीसाधान बन्द गरिने

वैशाख १० गते आइतबार तनहुँ क्षेत्र नं. १ मा अत्यावश्यक बाहेक कुनै पनि सवारी साधान सञ्चालनमा रोक लगाइएको छ । प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका दिन पृथ्वीराजमार्ग तथा भित्री सडक खण्डहरुमा कुनै पनि सवारी साधान सञ्चालन गर्न रोक लगाइएको हो ।
प्रमुख जिल्ला अधिकारी छवि रिजालद्वारा शनिबार जारी सूचनामा वैशाख १० गते आइतबार तनहुँ जिल्लाको निर्वाचन क्षेत्र नं. १ मा उपनिर्वाचन हुन गैरहेको हुँदा सो दिन बिहान ५:०० देखि साँझ ६:०० बजेसम्म पृथ्वी राजमार्गको मुग्लिङ पुलदेखि व्यास नगरपालिकाको चापाघाट (मादी नदीको पुलको पश्चिम भाग)सम्म, डुम्रे-बेशिसहर सडक खण्ड, आँबुखैरेनी गोरखा सडक खण्ड, दमौली-दुइपिप्ले सडक खण्ड लगायत सम्पूर्ण स्थानीय सडकहरुमा दमकल, एम्बुलेन्स, खानेपानीका ट्याङ्कर, दुध बोक्ने सवारी साधन, शववाहन, फोहरमैला ओसार्ने सवारी साधन, अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी, अस्पतालको परिचय पत्रसहित चलेको सवारी साधन र सूचना तथा प्रसारण विभागबाट जारी प्रेस पास भएको पत्रकार चढेको सवारी साधन बाहेक सबै प्रकारका सवारी साधनहरु पूर्णरुपमा बन्द गरिने जिल्ला सुरक्षा समितिको निर्णया गरेको उल्लेख गरिएको छ ।

जारी सूचनामा तनहुँ जिल्ला भएर चल्ने रात्री बसहरु मिति २०८०/०१/१० गते विहान ४ः०० बजे अगावै जिल्लापार गरिसक्नु हुन समेत अनुरोध गरिएको छ ।
मुख्य राजमार्गको रुपमा रहेको पृथ्वीराजमार्गको मुग्लिनदेखि चापाघाट खण्डसम्म प्रहरी स्कर्टिङमा सवारी साधन सञ्चालनको व्यवस्था मिलाउने भनिएपनि जिल्ला सुरक्षा समितिले यो कार्यलाई स्थगित गरेको छ ।
यस्तै, निर्वाचनलाई भयरहित, निष्पक्ष र मर्यादित बनाउन सुरक्षा प्रबन्ध मजबुद बनाइएको प्रजिअ रिजालले बताएका छन् । मतदानस्थललाई अति संवेदनशील, संवेदनशील र सामान्य रुपमा वर्गीकरण गरी सुरक्षा प्रबन्ध मिलाइएको छ ।
निर्वाचनका दिन पहिलो घेरामा प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेनाको सुरक्षा रहने व्यवस्था गरिएको छ । उपनिर्वाचनका दिन हावाहुरी र पानी परेको खण्डमा मतपत्र र मतपेटिका सुरक्षाका लागि आवश्यक सबै व्यवस्थापन मिलाइएको प्रजिअ रिजालले बताए ।











